ओबराज शाही/मध्यान्ह
हुम्ला, १७ माघ । हुम्लाको च्याछरा सडकको आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन गलत हुँदा राज्यलाई करोडौँ भार परेको छ । यस विषयलाई आयोजनाका प्रमुखले सामान्य रूपमा लिँदै आएको पाइएको छ भने आयोजनाबाट सरकारलाई करोडौँ रुपैयाँ नोक्सानी भएको छ ।
कर्णाली कोरिडोर अन्तर्गत पर्ने सिमकोट–हिल्सा सडक खण्डको चट्टानी भीरको सडक भएको च्याछरामा यातायातका साधनलाई जोखिम उठाएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको चालकहरु बताउछन् । सडकको ग्रेड नमिलेको र स्तरोन्नति हुन ढिलो हुँदा ट्रयाक मात्र खुल्ला गरिएको सडकमा गाडी गुडाउन परिरहेको चालक प्रेम सुनारले बताए । उनका अनुसार गलत डिजाइनमा निर्माण भएको सडकमा यातायात सञ्चालन गर्न समेत जोखिम रहेको छ ।
गाडी चालक सिङगम भण्डारीले चट्टानी भीर रहेको च्याछरा क्षेत्रमा यातायातका साधन ठूलै जोखिम उठाएर चलाउनु परेको बताए । एक वर्ष अगाडी मात्र निर्माण भएको ग्रेड नमिलेको सो क्षेत्रको सडकमा बोलेरो जिप र ट्याक्ट्रर सञ्चालन हुँदै आएका छन् । तर सावधानी अपनाउन नसके जुनसुकै बेला दुर्घटना हुनसक्ने जोखिम रहेको चालकहरु बताउँछन् ।
चट्टानी भीर क्षेत्रमा निर्माण गरिएको सडकको तल कर्णाली नदी छ । सडकको ग्रेड नमिलेको कारण उकालो सडकमा गाडी गुडाउन थप समस्या रहेको छ भने कुनै स्थानमा सडक साँघुरो भएकोले उस्तै समस्या हुने गरेको छ । चार वर्ष लगाएर हिल्सा सिमकोट सडक आयोजनाले चट्टानी भीरलाई विस्फोट गरेर सडक निर्माण गरी गत वर्षदेखि यातायातका साधन सञ्चालनमा ल्याएको थियो ।
सडक असजिलो भएको कारण उकालोमा जाँदा यात्रुलाई झारेर गाडी गुडाउनु पर्ने चालकलाई बाध्यता छ । ट्याक खुल्ला गरिए पनि सडकको स्तरोन्नति अझै नहुँदा ठूला गाडीलाई समस्या हुने गरेको छ । पहिरो जाने क्षेत्रसमेत भएकोले वर्षामा सडक अवरुद्ध हुने गरेको छ । आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले सडकको ग्रेड नमिलेको स्वीकार गर्दै डिजाइन गर्दा प्राविधिक कमजोरी रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies