२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पुटिन-किमको बढ्दो निकटता, बाँकी विश्वलाई चिन्ता ?

ADV
मध्यान्ह
२०८१ असार ६ गते ११:४९
पुटिन-किमको बढ्दो निकटता, बाँकी विश्वलाई चिन्ता ?

काठमाडौँ : उत्तर कोरियाली नेता किम जोङ्ग उनले रुस भ्रमणको समयमा पुटिनलाई आफ्नो देशमा आउने निम्तो दिएका थिए । पुटिनले पनि किम जोङ्गको निम्तो सहर्ष स्वीकार गरेका थिए । तर कहिले भ्रमणमा निस्किन्छन् भन्ने अन्योलकै बीच उनी बुधवार उत्तर कोरिया पुगे । 

पुटिन २४ वर्षपछि प्योङ्याङ गएका हुन् । सन् २००० मा उनले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्दा किम जङ इल सत्तामा थिए ।

भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । सम्झौतामा एक अर्कामाथि हमला भएमा दुवै देशले एक अर्कालाई सहयोग उपलब्ध गराउने सहमति गरिएको छ ।  

रुसी सरकारी समाचार एजेन्सीले पुटिनलाई उद्धृत गर्दै यो सम्झौतालाई ‘ऐतिहासिक दस्ताबेज’ भनेको छ । ‘आज हस्ताक्षर गरिएको विस्तृत साझेदारी सम्झौतामा अन्य कुराहरूका साथै आक्रमण वा युद्धको अवस्थामा एक अर्कालाई पारस्परिक सहयोग समावेश छ ।’ समाचारमा पुटिनको भनाई उद्धृत गरिएको छ । 

यी दुई नेताको भेट ‘बाँकी विश्वका लागि नराम्रो खबर हो ।’ भनेर अमेरिकी गुप्तचर एजेन्सी सीआईएका पूर्व विश्लेषक सु मी टेरीले बीबीसीलाई भनेका छन् । 

सैन्य सहयोग सम्झौतामाथि दक्षिण कोरियाले रुसलाई ‘लक्ष्मण रेखा’ पार नगर्न चेतावनी दिएको थियो । सम्झौतामा हस्ताक्षरपछि उत्तर कोरियाली नेता किमले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचाहट’ जवाफ दिने बताएका थिए ।

उत्तर कोरिया र रुसबिचको सम्बन्ध अब सहयोगको नयाँ तहमा उक्लिएको र यसले ‘बहुध्रुवीय विश्व’ निर्माणको प्रक्रियालाई गति दिने किमको भनाइ छ ।

यस्ता छन् सम्झौताका मुख्य कुराहरू:

१. अमेरिका र उसका सहयोगी राष्ट्रहरूले उत्तर कोरियामाथि लगाएको अन्तहीन नाकाबन्दीलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदमा पुनरावलोकन गर्नुपर्नेछ ।

२. आक्रमणको अवस्थामा आपसी सहयोगका लागि दुई देशबिच विस्तृत साझेदारी सम्झौता भएको छ । 

३. रुसी भूमिमा आक्रमण गर्न युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र, एफ–१६ लडाकु विमान र अन्य अत्याधुनिक हतियार र उपकरण उपलब्ध गराउनेबारे अमेरिका र नाटो देशले दिएका बयानलाई पनि ध्यानमा राखिएको छ ।

४. सम्झौता अन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोगको विकासलाई अस्वीकार गरेको छैन ।

रुस र उत्तर कोरियाको साँचो मित्रता पनि होला । यो मित्रता सावधानीपूर्ण र व्यावसायिक उद्देश्यका लागि पनि हुन सक्छ । दुई देश एक अर्काको  निकट आउनुको अर्को कारण व्यापारिक र विकल्पबिहीनता पनि हुन सक्छ । विश्वले रुसलाई अलग्याएको छ । यस्तोमा आफू जस्तै अर्को देश दक्षिण कोरियाको महत्त्व उसको लागि बढेको हो । यतिबेला रुसलाई पनि साथीको आवश्यकता छ भन्ने कुरा उत्तर कोरियाले पनि बुझेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise