
बर्दिया : गेरुवा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यविधि विषयक दुई दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा वासगेन्स परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको तालिमले विद्यालयमा स्वच्छ, सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्न ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि, २०८१’ लाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न सहयोग पुग्ने उद्देश्य राखिएको थियो ।
तालिममा कार्यविधिको विकासक्रम, समस्या पहिचान तथा समाधान, विद्यालयस्तरमा समिति गठन र जिम्मेवारी निर्धारण, तीन तारा सूचक, प्रगति ट्र्याकिङ, स्वमूल्यांकन, बजेट योजना निर्माण लगायत विषयमा सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
गेरुवा गाउँपालिकाले तालिमले विद्यालयहरूमा स्वच्छता तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।