
रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिकाले लालबकैया नदी नियन्त्रणका लागि महत्वपूर्ण परियोजनाको कार्यान्वयन थालेको छ । पालिका वडा नं. ४ सोवरनामाई क्षेत्रमा नदी नियन्त्रण गर्ने उद्देश्यले निर्माण हुन लागेको स्परको बुधबार एक समारोहकाबीच नगर प्रमुख शम्भु साहले शिलान्यास गरेका हुन् ।
स्पर निर्माणका लागि ३ करोड रुपैयाँको बजेट स्वीकृत भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दा, वडाध्यक्षहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लालबकैया नदीको तटबन्ध वर्षौंदेखि कमजोर हुँदै आएको तथा हरेक वर्ष मनसुनको समयमा नदीले बस्तीहरूमा ठूलो क्षति पुर्याउँदै आएको स्थानीयको गुनासो रहँदै आएको छ । सोवरनामाई र आसपासका बस्तीमा वर्षेनि देखिने बाढी र कटान समस्यालाई रोकथाम गर्न स्पर निर्माणलाई महत्वपूर्ण मानिएको छ ।
स्थानीयका अनुसार नदीमा आउने बाढीले घरजग्गा, खेतीबाली र जनजीवन निरन्तर जोखिममा पर्दै आएका छन् । नयाँ स्पर निर्माण भएपछि नदीको बहावलाई व्यवस्थित रूपमा नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले बाढी नियन्त्रण कार्यलाई गौर नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए । उनले भने,‘यो परियोजना केवल निर्माण कार्य होइन, यहाँका जनतालाई बाढीको त्रासबाट सुरक्षित गर्ने आधारभूत आवश्यकता हो, तोकिएको समयसीमा भित्र गुणस्तरीय ढंगले निर्माण सम्पन्न गरिनेछ ।’
वडा नं. ४ का वडाध्यक्ष संजय गिरीले नगर प्रमुखको पहलका लागि आभार व्यक्त गर्दै यो परियोजनाले स्थानीयको वर्षौंदेखिको पीडा अन्त्य गर्ने विश्वास व्यक्त गरे । स्थानीय बासिन्दाले पनि स्पर निर्माणले घरजग्गा सुरक्षित हुने, कृषि उत्पादन बच्ने र दैनिक जीवन सामान्य बन्ने भन्दै खुशी व्यक्त गरेका छन् ।