२०८१ मंसिर १६ गते आइतवार / Dec 01 , 2024 , Sunday
२०८१ मंसिर १६ गते आइतवार

कथा : रहर

ADV
२०८१ मंसिर १५ गते ०६:३०
कथा : रहर

–राजनारायण राई

एक भारी घाँस टाट्नोमा राखेर एक पटक मज्जाले खुइया गरें । लगाएकै कमिज पल्टाइवरी पसिना पुछें । एक क्षण थकाइ मार्दै एउटा बिँडी सल्काएँ अनि सरररररर तानेर बेस्मारी धुवाँ फुकिरहें फुकिरहें । 

उता, आँगनमा अन्तरी भने आफ्नै धुनमा कुखुरालाई चारो छर्दै घरिघरि कराउँछिन्, ‘तु आह आह... तु आह आह...’ भन्दै । घरिघरि निकै जोडले  ‘हा... हा...’ पनि भन्दै छन् । हाम्रो अन्तरी उस्तै पो छन् त आफ्नुलाई काखी चेपिहाल्छिन्, अर्काकोलाई परपरतिर धपाइहाल्छिन् । 

आज भने अन्तरी सधैंभन्दा निकै जोडले बेस्मारी कराइन्, त्यो पनि एउटै भालेलाई । मलाई त उदेक लाग्यो, त्यतिबेला मनमा आटेसमटेस भई आयो । तब चुप लागेर बस्नु ठ्याक्कै सकिनँ । मेरो स्वाभाव पनि उस्तै छ, केही मन नपरे प्याच्चै भनिहाल्छु । मन कालो पारेर बाँच्नु जानिएन । हराङहुरुङ फसाङफुसुङ बानी परेकोले होला, चित्त नपरे कराइहाल्छु पनि । 

गाईको गोठबाटै तिखो स्वर परिहाले, ‘औ अन्तरी, त्यो एउटा रातो भाले त छ नि कुखराको नाममा दुमो । हन, त्यो एउटालाई कति साह्रो तु आह... आह... तु आह... आह... कराको हाऊ ? जसकोमा कुखरा नै छैन, उसैको पो हल्ला ज्यादा छ त ! तिमीलाई चाहिँ केको पीर परेको नि ? न समयमा बस्छ, न समयमा नै घर पस्छ त्यो भाले । बरालिने खालको न बैँसा छ, न खास जीवन नै छ । बूढो बेकामे भाले, त्यसको के महत्त्व । कुकर ठिक पारिराख न बरु’ भनेर कराइ पो दिएँ । 

साँच्चै अन्तरीलाई मनमा मेरो शब्द वाणले च्वास्सै परिहालेछ कि क्या हो ! गइन् भालेसाले छोडी हँसिया टिपेर बारीतिर । सधैं त अलिकति केही भनेछु भने रोटी जस्तै पुक्क फुलिएर कम्ती मुख चलाउँदिन थिइन् तर आज भने उनलाई पहिलाझैं आक्रामक देखिएन । उनी रिसाउँदा पनि पीर, नरिसाए पनि पीर । उनमा अचानक आएको परिवर्तनले उदेक लाग्यो मलाई त । नत्र उही हो खैलाबैला, डेक्ची हानाहान, भनाभन, खै केके भइसक्ने थियो नि !

केहीबेरपछि म फकाउने निहुँमा चिप्लो घस्दै उनको छेउ बारीमा पुगिहालें । उनी चुपचाप देख्दा बिच्केलिन् कि भन्दै उनलाई नम्र स्वरले उनको चुपचापपनलाई भ्रष्ट पारेर भने, ‘औ, अन्तरी यसपालिचाहिँ कुखरा खोजेर हामी पनि लहलह पारौं है ल ! यसो कोइ बेला सिरुवा खानु पनि हुने’, यति मात्रै भनिसकेँ, उसले स्वभाव देखाउनु थाली त हाल्यो । 

अन्तरीले भन्दै थिइन्, ‘औ कान्छा, तल्लो घरको शकुन्तलाले कम्ती कुखुरा राखेको छ । तर नि त्यो महाको आरिसे पो छ त ! अस्ति हाम्रो भाले त्यसको कुखुराको हुलमा पसेछ, आबुई ! कस्तो जोडले खेदेको । मलाई पनि रिस उठिहाल्यो, भक्कु कराइ पो दिएँ, त्यहाँदेखिको बोलेको छैन मसँग त्यो ।’ 

फेरि भन्दै थिइन्, ‘परको मइतेलाई हेर त– सुँगुर पालेर पराईले दुईटै छोरोलाई विदेश पठाएको कति भयो ? पैसा कमायो उसले । अब ढुक्क छ । मोटिएछ पनि । उसको स्वास्नीको गलामा हेर त सुनको हार कम्ती ठूलो छ ! पराई हातभरी पहेंलै परेछ । मसँग बात मार्दा त झन् औंठी लगाएकै हात पो बातबातमा हल्लाउँछिन् त पराई । तिमीले चाहिँ खोई मलाई नाकमा सानो ढुंग्री पनि बनाइदिनु सकेनौ हगि ? उहिलेदेखिको आजसम्म ल ल भन्दै अब यति धोखामै मरिने रहेछु म’ भनेर उनले विश्वास मन बनाएर चुप हुन्छिन् ।

मलाई पनि विश्वास लागेर आयो । आखिर स्वास्नी भनेको जस्तै स्वाभवमा होस् दुःखसुखको साथी नै हुँदो रहेछ । साँच्चै त्यसलाई एउटा सानो ढुंग्री बनाइदिनु भनेको त्यतिकै भइराखेको छ । अब यो गाई पालेर सुन कमाउनु पनि नाप्पिस आफ्नै अनुहार लोपार्नु मन लाग्छ मलाई त ।

आफ्नु नभए पनि अरूकै विषयमा उसको गन्थन सुन्दासुन्दै बारी पनि सफा गरिसकेछौं हामी बुढाबुढीले । उतिबेला झमक्क रात हुन लागिसकेको थियो । उनी गइन् भान्साघरतिर बत्तिएर हतारसाथ । म लागें गाईलाई घाँस हाल्नु गोठतिर । 

बेलुकी गोठको काम सकेर हातमुख धोई एक क्षण आराम गरियो, त्यसपछि बेलुकीको खाना खाइवरी ओछ्यानमा ढल्किएँ । छातीभरिको दुःख, दिनभरको थकाइलाई बिँडीको धुवाँसँगै मुस्लो बनाएर मुखबाट फुकी पठाउँछु निरन्तर... । 

उनी भान्साघरको काम ठामठिम पारी ओछ्यानमा पसिन् । मेरो नजिक टाँसिएर उनले भन्दै थिइन्, ‘औ कान्छा, यसपालि दसैंमा मलाई साडी किनिदेऊ ल !’
मैले भनेँ, ‘ल ल, त्यो भैहाल्छ ।’

उनी खुशी भइन् र मलाई च्याप्पै समातेर अँगालेर म्वाइँ खाइन् । फेरि उनी भन्दै थिइन्, ‘मलाई त नि माथिल्लो घरको मइतलीले लगाएको नीलो साडी खुब मनपरेको छ, त्यस्तै किनिदेऊ ल !’

मैले ‘ल ल किनिदिन्छु’ भनिदिएँ । उनले भन्दै थिइन्, ‘पोहोर पनि कस्तो राम्रो कुर्ता लगाएकी थिइन् मैतालीले । तिमीले त मलाई त्यतिबेला पनि किनिदिएनौ नि !’

उनले अझै केके भन्दै थिइन् मलाई । तान्दै थिइन् मेरो पाखुरामा तर म भने साडीको दाम सम्झिँदै नै आँखामा नीलो साडीको दृश्य बटुल्दै दिनभरको कामले लखतरान परेर भुसुक्कै निदाइ पठाएछु । 

ADVADV

सम्बन्धित खबर

Advertise