जसरी सिलिकोन युवतीको जिउमा कीरा लाग्दैन
तर कामवासनाले उत्तेजित भएको नाटक गर्छ
जसरी उसलाई आफ्नो सुगन्ध थाहा हुँदैन
तर ताँदोबाट फुत्किएको धनुषवाणझैं
प्रत्येक निसानामा वास्ना फाल्दछ
क्या लचकदार छ उसको जिउ !
क्या कामुक छ उसको हिंडाइ !
क्या मादक छ उसको बोलाइ !
तर त्यहाँ मानिस छैन
ती मानव इन्द्रिय झैं गरी थाक्न असमर्थ छन्
तर ती स्वयं विचार उत्पन्न गर्दैनन्
ती अर्हाएको काम मात्र गर्छन्
तिमीलाई चाहिएको सबैथोक छ उससंग
उत्कृष्ट प्रोग्रामिङ गरिएको
उसका नाडी र दिमाग चल्छन्
लिथियम ब्याट्रीबाट
सत्ता र धनाढ्यका प्रशस्तिमा रमाउने
र विरुदावली लेखेर तक्मा कमाउने
प्लाष्टिक कविजस्तै
जसको कुनै मौलिक सोच हुँदैन
अरुले अर्हाएको
जुनसुकै शीर्षकमा पनि कविता लेख्न सक्छ
जसको हार्डवेयर सफ्टवेयर बनाउने उद्भट प्रतिभा
सिलिकन भ्यालीका स्वामीहरुले खरीद गरेको
कृत्रिम बौद्धिकको अद्भूत रचनाकार हो
हेर, हिजो त्यसले श्री ३ को जय लेख्यो
त्यसपछि त्यसले लगत्तै श्री ५ को जय लेख्यो
अचेल गणतन्त्रमा ऊ संघीयताका रचनाकारको
वायोपिक बनाइरहेको छ
त्यहाँ मानिस छैन
त्यहाँ कृत्रिम संवेदनाले न्यानो फालिरहेको मात्रै छ
त्यो काम त लाग्छ तर रोगी एकान्त तोड्न मात्र काम लाग्छ
त्यो भयानक निर्लज्जतामा डुबेर आत्महत्या गर्न काम लाग्छ
त्यो अमानव कामुकहरूकी जिरो फिगरकी अप्सरा हो
त्यो प्लाष्टिक कविको पुष्ट कविता हो ।