काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टीमा जनयुद्धको समीक्षा हुने भएको छ । यो पार्टीको नेतृत्वमा मोहन वैद्य ‘किरण’ छन् । वैद्य पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु हुन् । यी २ सहितका नेताले २०५२ फागुनदेखि १० वर्षे सशस्त्र युद्ध गरे । तर, २०८१ सालमा उनै प्रचण्डका गुरुको पार्टीमा जनयुद्धको समीक्षा गरिँदै छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी एकताको महाधिवेशनमा छ । महाधिवेशनअन्तर्गत शुक्रबारदेखि सुरु भएको बन्द सत्रमा पार्टीका संयोजक वैद्यले मूल राजनीतिक दस्तावेज पेस गर्दै जनयुद्धको समयमा केही कमीकमजोरी भएको स्वीकार गरे । त्यसको समीक्षा विगतमा पनि गरिएको उनले बताए ।
तर, जनयुद्धको समयमा भएका गलत कार्य र अराजकताको विषयमा बृहत् समीक्षा आवश्यक रहेको भनेर अर्को पक्षमा नेताहरूले फरक प्रस्तावको तयारी गरेका छन् ।
नेताहरूका अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टीमा २ धार छन् । एउटा पूर्वमाओवादी र अर्को पूर्वमसाल पृष्ठभूमिका नेता कार्यकर्ताहरू छन् । यी २ पृष्ठभूमिका नेता, कार्यकर्ताहरू रहेको पार्टीमा जनयुद्धको थप समीक्षा आवश्यक रहेको भनेर नेताहरूले फरक प्रस्तावको तयारी गरेका हुन् । यस्तो तयारी पूर्वमसाल पृष्ठभूमिका नेताहरूले गरेका हुन् ।
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट आएका नेकपा बहुमत र नेकपा मसालबाट फुटेर आएका सन्तबहादुर नेपाली समूहसँग एकता भएपछिको महाधिवेशन भएकाले एकताको महाधिवेशन नाम दिइएको छ ।
नेकपा बहुमतको एक पक्ष धमेन्द्र बाँस्तोलाको नेतृत्वमा विभाजन भएर नेकपा बहुमत पार्टी गठन गरेका छन् । हेमन्तप्रकाश वलीको नेतृत्वमा एउटा टिम क्रान्तिकारी कम्युनिस्ट पार्टीमा छ ।
मोहनविक्रम नेतृत्वको नेकपा मसालबाट विद्रोह गरेकाहरूले पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग एकता गरेका छन् । विभिन्न समयमा मसालबाट विभाजन भएकाहरूले वैद्यसँग एकता गर्दै आएका हुन् । त्यसमा नेताहरूमा परि थापा, रामसिंह श्रीष, रामबहादुर बुढा, सन्तबहादुर नेपालीलगायत छन् ।
नेताहरूका अनुसार जनयुद्धमा भएको कमीकमजोरीबारे समीक्षा गरिनुपर्ने प्रस्तावका पक्षमा कसैको विमति छैन । तर, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू विगतमा समीक्षा भइसकेको तर्क गरिरहेका छन् भने पूर्वमसाल पृष्ठभूमिका नेता, कार्यकर्ताहरू फेरि समीक्षा गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।
मोहन वैद्य ‘किरण’ २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र युद्धका एक प्रमुख नेता हुन् । जनयुद्ध सुरु गर्ने निर्णय गर्दा माओवादीमा १९ सदस्यीय केन्द्रीय समिति थियो, जसको एक प्रमुख नेता हुन वैद्य । शान्ति प्रक्रिया पछाडि पनि २०६९ सालसम्म वैद्य प्रचण्ड, डा. बाबुराम भट्टराईसहितको माओवादीमै थिए ।
२०६९ सालमा तत्कालीन एकीकृत माओवादीबाट अलग भएर वैद्यले नयाँ पार्टी बनाए । त्यसयता साना कम्युनिस्ट पार्टीहरूसँग एकतासमेत गर्दै वैद्य नेतृत्व पार्टी अगाडि बढिरहेको छ । पूर्वमसाल पृष्ठभूमिका नेताहरूको पार्टीसँग एकता गरेपछिको एकता महाधिवेशनमा जनयुद्धको समीक्षा हुन लागेको हो ।