काठमाडौँ : सन् २०२४ को नोभेम्बर महिनामा १ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा १ लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
यो सङ्ख्या ३ वर्ष यताकै सर्वाधिक हो । २०२३ को यस महिना १ लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ९ हजार ४५८ जना पर्यटक नेपाल आउँदा संयुक्त राज्य अमेरिकाबाट १० हजार ९८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, यस महिना बेलायतबाट ६ हजार ६११ जना पर्यटक नेपाल आएका छन् भने बंगलादेशबाट ५ हजार १४८ जना आएका छन् । यसका साथै अष्ट्रेलियाबाट ४ हजार ८२९ जना, थाइल्याण्डबाट ४ हजार ४६२ जना, श्रीलंकाबाट ४ हजार ३९४ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।