
मलेसिया : मलेसियाको सेलाङ्गोर राज्यस्थित सेमेन्ही क्षेत्रमा अनलाइन ठगी सञ्जाल सञ्चालन गरेको आशंकामा अध्यागमन विभागले छापा मार्दा १०९ विदेशी नागरिकसहित ११७ जना पक्राउ परेका छन् ।
अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया साबानका अनुसार गत नोभेम्बर ३ मा सेमेन्हीका छवटा आवासीय घरमा उक्त कारबाही गरिएको हो । ती घरहरू अनलाइन ठगीका गतिविधि सञ्चालन गर्ने आधारस्थलका रूपमा प्रयोग भइरहेको आशंका गरिएको थियो ।
सार्वजनिक उजुरी प्राप्त भएपछि अध्यागमन विभागको पुत्राजया शाखाका अधिकारीहरूले दुई सातासम्म गोप्य निगरानी तथा सूचनामूलक अनुसन्धान गरी छापा मारेका थिए ।
पक्राउ पर्नेमा ९८ जना विदेशी पुरुष र ११ जना विदेशी महिला छन् । त्यस्तै, सात जना मलेसियाली पुरुष र एक जना मलेसियाली महिला पनि पक्राउ परेका छन् ।
पक्राउ परेका विदेशी नागरिकहरू चीन, जापान, दक्षिण कोरिया, कम्बोडिया र भियतनामका रहेको महानिर्देशक जकारियाले बताएका छन् ।
मलेसियाको सञ्चार तथा मल्टिमिडिया आयोग (एमसिएमसी)सँगको संयुक्त सहकार्यमा गरिएको उक्त कारबाहीमा अध्यागमन विभागका ७७ जना अधिकारी र एमसीएमसीका १० जना कर्मचारी सहभागी थिए । उनीहरूले बिहान ११ः५० बजे एकैपटक सम्बन्धित घरहरूमा प्रवेश गरी छापा मारेका थिए ।
यसअघि सेलाङ्गोरकै सेरी केम्बाङस्थित महँगो आवासीय क्षेत्रमा पनि यस्तै प्रकृतिको ठगी सञ्जालसँग सम्बन्धित हुन सक्ने आशंकामा कारबाही गरिएको थियो ।
छापा मार्ने समयमा ती घरभित्र रहेका व्यक्तिहरूले विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी ठगीका सम्भावित पीडितहरूसँग सम्पर्क गरिरहेको पाइएको अधिकारीहरूले बताएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार ती घरहरूबाट मुख्यतः नक्कली लगानी योजना, झुटा रोजगारी प्रस्ताव तथा अनलाइन व्यापार (ई–कमर्स) का नाममा ठगी गर्ने गतिविधि सञ्चालन भइरहेको आशंका गरिएको छ ।
कारबाहीका क्रममा एमसीएमसीका प्राविधिक टोलीले कम्प्युटर तथा मोबाइल फोनसहित ७० भन्दा बढी विद्युतीय उपकरणको निरीक्षण गरेको थियो ।
अध्यागमन अधिकारीहरूले घटनास्थलबाट ११५ थान ल्यापटप, ७९ थान मोबाइल फोन र ३ हजार ९५० रिंगिट नगद बरामद गरेका छन् ।
पक्राउ परेका सबै विदेशी नागरिकलाई थप अनुसन्धानका लागि सेमेन्ही अध्यागमन हिरासत केन्द्रमा राखिएको छ । उनीहरूमाथि सन् १९५९/६३ को अध्यागमन ऐन, सन् १९६६ को राहदानी ऐन, सन् १९६३ को अध्यागमन नियमावली तथा मानव बेचबिखन र आप्रवासी तस्करीविरुद्धको सन् २००७ को कानुनअन्तर्गत अनुसन्धान भइरहेको विभागले जनाएको छ ।