
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) परिवर्तन गरेर नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले उनीहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हुन सक्ने टिप्पणी गरेका हुन् ।
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआइजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो ।
सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्छे भनेर नयाँ नियुक्ति गरेको होला ।’
यसैबीच, ओलीले मंगलबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग आफ्नो राम्रो कुराकानी भएको बताए । ओलीले भने, ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए ।’