नेपालगन्ज : मन्टेश्वरी एशोसिएशन बाँकेको आयोजनामा बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
‘खेलमा शक्ति : अध्ययनमा ज्ञान’ भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेल मैदानमा मंसिर १३ गतेदेखि शुरु भएको उक्त खेलकुद प्रतियोगिता शनिबार समापन तथा प्रमाण पत्र वितरण समारोहको आयोजना गरिएको हो ।
बाँके जिल्लाका ७ वटा मन्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा फुटवल, रिले, जम्पिङ, व्यालेन्सिङ, दौड, म्युजिकल चियर, कुर्ची दौड इन आउट लगायतका खेलहरु खेलाइएको थियो ।
सात वटा मन्टेश्वरी स्कुलका १ सय ६५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लिटिल होराईजन मन्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्ड्रेन जोन नेपालगन्ज, नोबेल प्रि–मन्टेश्वरी, स्माल ह्याभेन मन्टेश्वरी, दोश्रो पाईला मन्टेश्वरी कोहलपुर र ग्रेस मन्टेश्वरी वैजनाथका विद्यार्थीहरुको सहभागिता थियो ।
मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजित खेलकुद कार्यक्रममा प्रतिस्पर्धात्मक नभइ सहभागितात्मक भएको जानकारी दिँदै शनिबार सम्पन्न कार्यक्रममा सहभागी ७ वटै मन्टेश्वरी स्कुलका बालबालिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेर समापन कार्यक्रमलाई रोचक बनाउनुका साथै अतिथि, अभिभावक र बालबालिकाहरुलाई मनोरञ्जन पनि प्रदान गरेको बताइन् । सचिव थापाले मन्टेश्वरी स्कुलहरुले भोग्नुपर्ने विविध समस्याहरुको समाधानका लागि १२ बुँदे माग र ध्यानाकर्षण पत्र बाँकेका ८ वटै पालिकाहरुमा बुझाएको तीन वर्ष बितिसक्दा पनि कुनै चासो नदिइएको गुनासो गरिन् ।
प्रतियोगितामाा सहभागी बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद् मीना श्रेष्ठले प्रमाण–पत्र तथा पदक वितरण गर्दै विद्यालयका शिक्षिकाहरुले जुन मेहनतका साथ बालबालिकाहरुलाई पठन पाठन गराउँछन्, सोही अनुसार अधिकांश समय घरमा बिताउने उनीहरुलाई आमा बुबा तथा अभिभावकहरुले पनि हेरचाह, होम वर्क र अन्य क्रियाकलापमा सहयोग र उत्प्रेरित गर्नुपर्ने धारणा राखिन् । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले बौद्धिक विकासका लागि स्वास्थ्य र स्वास्थ्यका लागि खेलकुद अनिवार्य हुनुपर्नेमा नेपालगन्जका नीजि क्षेत्रका विद्यालयहरुमा खेल मैदानको कमि भएको बताउँदै मन्टेश्वरीका बालबालिकाका लागि आवश्यक पर्ने खेलको पूर्वाधार र अन्य सहयोगका लागि नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावना पेश गर्नु भयो भने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै एशोसियसनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले स्वर्गीय मारिया मन्टेश्वरीको परिकल्पना र अवधारणा अनुसार विश्वभर लोकप्रिय बन्दै गएको मन्टेश्वरी शिक्षण विधि, पद्दति र सिकाईका साथै बालबालिहरुलाई सुसंस्कृत पनि बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘भोलिका देशका कर्णधार आजका कलिला बालबालिकाको भविष्य निर्माण गर्ने र उनीहरुको उज्वल भविष्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षिकाहरुलाई बधाई दिँदै आमा बुबाले त जन्म दिने, पालनपोषण गर्ने मात्र गर्छन्, तर तपाईहरुले त उनीहरुको उज्वल भविष्य निर्माण गर्ने जस्तो महत्वपूर्ण र स्तुतीयोग्य जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।’
एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईंले मन्टेश्वरीको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने शिक्षिकाहरु मन्टेश्वरी स्कुलका मेरुदण्ड हुन् भन्दै उहाँहरुबाट अझ बढी मेहनत र साधना जरुरी भएको बताए ।
संस्थापक अध्यक्ष लुना बुढाथोकी लगायतले प्रमाण–पत्र तथा पदक वितरण गर्दै मण्टेश्वरी एसोसिएसन, बाँकेले बालबालिकाहरुको हरेक वर्ष स्वास्थ्यका लागि खेलकुद तथा मानसिक, शारीरिक एवम् सर्वाङ्गिण विकासका लागि टेवा पु¥याउने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएकोमा प्रशंसा र सराहना गरेका थिए ।