काठमाडौं : नेपाली कांग्रेसको कोशी प्रदेशमा गुटगत लडाइँ चर्किएको छ । केही समयदेखि मत्थर देखिएको कांग्रेसको संस्थापन समूह कोशी प्रदेशमा संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला समूहलाई रोक्न सक्रिय भएको छ । कोइराला समूहले मंगलवार विराटनगरमा प्रदेश सम्मेलन गर्दै छ ।
शेखर समूहले बोलाएको भेला रोक्न संस्थापन पक्षले भरमग्दुर प्रयास गरेको उक्त समूहका एक नेताको दाबी छ । कोइराला समूहले भेला बोलाएपछि केन्द्रले भेला नगर्न सोमबार ‘सर्कुलर’ नै जारी गरेको छ । सकुर्लरमा कोशी प्रदेशका सबै जिल्लाहरूमा २२ मंसिरअघि पार्टीको औपचारिक कार्यक्रम नभएको भनिएको छ ।
कोइराला समूहले भेलाका लागि पालिकाका सभापतिहरूलाई निमन्त्रणा गरेको छ । संस्थापन समूहले २२ मंसिरमा कोशीमा प्रदेश सम्मेलन आयोजना गर्दै छ ।
‘२२ मंसिरपूर्व कोशी प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने÷नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले त्यसअघि प्रदेशस्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी गराइन्छ’, मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।
कांग्रेसको वैधानिक प्रावधानअनुरूप सबै तहमा वर्षमा एक पटक सम्मेलन गर्नुपर्छ । कोशी प्रदेशको सम्मेलन घोषणा गरिए पनि हुन सकेको थिएन ।
प्रदेशको सम्मेलन अगावै गर्न लागिएको प्रशिक्षण कार्यक्रमले कांग्रेसभित्र चरम विवाद उत्पन्न भएको छ । संस्थापन समूह र इतर समूहले केही दिनको फरकमा २ फरक भेला आयोजना गर्दा कांग्रेसभित्रका गुटगत प्रतिस्पर्धा चरम उत्कर्षमा पुगेको छ ।
मोरङका १७ वटा पालिकाको आयोजनामा कोइराला समूहले प्रदेशभरिका सबै पालिकाका सभापति र महानगर सभापतिहरूको भेला बोलाएको हो ।
मोरङका १७ वटै पालिकाका आयोजक भनिए पनि विराटनगर महानगरका सभापति दीपक चापागाईंलाई कार्यक्रमको संयोजक तोकिएको छ । उपसंयोजक भने बेलबारी नगरपालिकाका सभापति छत्र लिम्बू छन् ।
१४औं महाधिवेशनपछि कांग्रेसभित्र विवाद भए पनि समान्नातर संगठनको अभ्यास भएको थिएन । तर, अहिले कोइराला समूहले समानान्तर अभ्यास गर्न खोजेको देखिएको छ । इतर समूहले सम्मेलनको मिति सार्वजनिक गरेर कोशी प्रदेशमा गुटगत भेला गर्न लागेपछि संस्थापन पक्ष भने त्यसलाई रोक्ने प्रयासमा लागेको हो । त्यही प्रयासअनुसार नै केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर २२ मंसिरअघि कुनै कार्यक्रम नभएको बताएको छ ।
संस्थापन पक्षको भेला आधिकारिक नभएको संस्थापन पक्षका एक नेताले बताए । ‘कोइराला पक्षको भेलालाई रोक्ने भन्दा पनि पार्टीले नै तय गरेको कार्यक्रम समयमै हुनुपर्ने जोड हो’, ती नेताले भने ।
कोइराला समूहले यसअघि पनि कोशीमा भेला गर्ने प्रयास गरेको हो । पार्टीको निर्णयविपरीत कोशीमा नयाँ सरकार बनाउन पनि यो समूहले गुटको अभ्यास गरेको थियो । गत वर्ष असोजमा पार्टीले माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन निर्देशन दिए पनि कोइराला समूहले विद्रोह गरी एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थिए । यद्यपि, कोइरालाले उक्त विद्रोहलाई लामो समय लैजान भने सकेनन् ।
कोशी प्रदेशमा विद्रोहको प्रयास कोइरालाले पटकपटक गरेका छन् । अहिले पनि त्यही अभ्यासको निरन्तरताका रूपमा हेरिएको छ । पछिल्ला दिनमा कोइराला समूहभित्र पनि विवाद देखिएको छ । कोइराला र महामन्त्री गगन थापाको सम्बन्ध चिसिएको छ । थापा अहिले सभापति शेरबहादुर देउवा समूहमा पुगेका छन् ।
केन्द्रको निर्देशनविपरीत कोइराला समूहले भेला गरे महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको भूमिका के हुने ? अहिले चासोको विषय बनेको छ ।
कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापा पार्टीले प्रदेश सम्मेलन गर्ने निर्णय गरिसक्दा गुटका नाममा अर्को भेला गर्नु पार्टी नीतिविपरीत भएको बताउँछन् ।
प्रदेश सम्मेलन विराटनगरमा उद्घाटन गरेर बेलबारीमा समापन हुने कार्यक्रम छ । प्रदेशका १३७ वटा पालिकाका सभापति र ६ वटा महानगरका सभापतिहरू सम्मेलनमा सहभागी हुने छन् ।
कोइराला समूहले बोलाएको भेलालाई लिएर कांग्रेसका दुवै समूहबीच आरोप–प्रत्यारोप पनि चलेको छ । संस्थापन समूहले सम्मेलन असफल बनाउन सभापतिहरूको प्रशिक्षण आयोजना गरिएको भन्दै शेखर समूहको आलोचना गरेका छन् । शेखर समूहले सम्मेलन सफल बनाउन नै प्रशिक्षण पनि राखिएको भन्दै भेलाको बचाउ गरेको छ ।
प्रदेश अधिवेशनको तयारीमा रहेको संस्थापन पक्षका नेताहरूले शेखर समूहले पार्टीको कार्यक्रम असफल पार्न उस्तै समय पारेर समानान्तर भेला गर्न लागेको बताएका छन् ।
प्रदेश सभापति थापाले सम्मेलनमा पालिका सभापतिहरूको प्रशिक्षणका विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । उनले भने, ‘हामी अहिले प्रदेश अधिवेशनको तयारीमा छौं । प्रशिक्षणका बारेमा थाहा छैन ।’
कार्यक्रम संयोजक तथा विराटनगर महानगर समितिका सभापति दीपक चपागाईंले १३७ वटा पालिकामध्ये ११३ वटा पालिकाका सभापतिहरू कार्यक्रममा आउने पक्का भएको बताए ।
‘संघीयता आयो तर कांग्रेसका पालिका सभापतिहरूको क्षेत्र अधिकारका बारेमा अझै स्पष्ट भएको छैन । स्पष्टताका लागि प्रशिक्षण कार्यक्रम राखिएको हो’, उनले भने ।
संस्थापन पक्षले गर्ने कार्यक्रममा नेताहरू एनपी साउद, डीना उपाध्याय, डा. मीनेन्द्र रिजाल, गुरुराज घिमिरेसहितका नेताहरू उपस्थित हुने छन् ।