२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

झ्याउरे छन्दलय सम्प्रवर्द्धन गर्नु नेपाली मौलिकता बचाउनु हो : कुलपति राई

ADV
मध्यान्ह
२०८१ मंसिर १८ गते २०:५१
झ्याउरे छन्दलय सम्प्रवर्द्धन गर्नु नेपाली मौलिकता बचाउनु हो : कुलपति राई

काठमाडौं : नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञा–प्रतिष्ठान गथ र काव्य घर नेपाल मिडिया प्रा.लि.को सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श कार्यक्रम सोमबार प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले झ्याउरे छन्द नेपालको मौलिक छन्द रहेको भन्दै जुन मानव सभ्यता शुरु भएदेखि नै झ्याउरे छन्दलय पुस्तान्तरण हुँदै आएको बताए । हाम्रा वेद, ऋचा र मुन्धुम लगायतका कैयौँ ग्रन्थहरू लयबद्ध भएकाले नै सहज रूपमा पुस्तान्तरण हुन सकेको चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचेको मुनामदनले झ्याउरे छन्द स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । झ्याउरे छन्दलयमा लेखिएको ‘मञ्जरी’ गीतिकविताको लोर्कापण गर्दै आफ्नो मन्तव्यका क्रममा उनले नेपाली मौलिक झ्याउरे छन्दलयकी अभियन्ता कवियत्री रेणुका भट्टराईले झ्याउरे छन्द पुनर्जागृत गर्न खेलेको भूमिका स्तुति रहेको बताए । झ्याउरे छन्दको सम्प्रवद्र्र्धन गर्नु भनेको नेपाली मौलिकता बचाउनु रहेको उनले बताए । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले मौलिक नेपाली झ्याउरे छन्दलयको जगेर्ना गर्न प्रज्ञा–प्रतिष्ठान प्रतिबद्ध रहेको बताउँदै आफूले पनि झ्याउरे छन्दलयमा लोकगीत र झ्याउरे गीत गाएको बताए । 

शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा स्रष्टा हरि मञ्जुश्रीले पौराणिक ग्रन्थ यजुर्वेद र सामवेद लगायतमा झ्याउरे छन्दलय रहेको चर्चा गर्दै झ्याउरे विधासँग सम्बन्धित संगिनी, ख्याली, खैँजडी, भजन र मारुनी भाकाको संवर्द्धन गर्ने बारे जोड दिएका थिए । 

प्रा.डा. राजाराम सुवेदीका अनुसार नेपाली इतिहासका कतिपय कुराको खोजी गर्ने हो भने झ्याउरे भाकामा गाएको पाइन्छ । मूलतः गाउँघरका मौखिक गीतहरू पुस्तान्तरण हुँदै आएका छन् र तिनमा पनि झ्याउरे छन्दलय रहेको उनले बताए । यसैगरी जनगायक जीवन शर्माले अब हामीले देशको झ्याउरे लेखौँ र यसलाई विश्वमा लैजाऔँ भन्ने धारणा राखेका थिए । 

शब्द, स्वर र संगीतका माध्यमबाट सफल हुन सकिने कुरामा उनले जोड दिए । यसैगरी संस्कृतविद् प्रा.डा.बीणा पौड्यालले हाम्रो धर्म संस्कृति र परम्परामा पनि झ्याउरे प्रचलनमा रहेका तर झ्याउरे नै हो भनि इतिहासमा समेत प्रष्ट नभएकाले अब यस विषयमा बहस जरुरी रहेको बताइन् । 

त्यस्तै अर्का वक्ता लोकसाहित्यविद्, प्रा.डा.ध्रुव भट्टराईले हामीले लोक साहित्यमा पढ्दै आयौँ र पढाउँदै आयौँ तर कुन लोकसाहित्यको कुन लोकगीत कुन झ्याउरे के हो ? भनेर नछुटिएको अवस्थामा वास्तवमा झ्याउरे जनबोली लोकसाहित्य रहेको बताए । यसको मूल जरो भनेको झ्याउरे नै हो भन्दै अब झ्यााउरेका विषयमा खोजी अनुसन्धान गर्न जरुरी रहेको बताउँदै मुनामदनको झ्याउरे लय लोकप्रिय लय भएकाले नै झ्याउरेको महत्व झनै बढाएको बारे चर्चा गरेका थिए । 

भाषाविद् चूणामणि गौतमलगायतले मौलिक नेपाली झ्याउरे छन्दलयका बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

काव्य घर नेपाल मिडिया प्रालिका अध्यक्ष,झ्याउरे छन्दलय अभियन्ता तथा कवियत्री रेणुका भट्टराई मञ्जरीले स्वागत मन्तव्यसँगै कार्यक्रमको औचित्यबारे प्रकाश पारेकी थिइन् । उनले नेपाली  झ्याउरे शब्दलाई हेपेर लेखेको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राखेकी थिइन । भट्टराईले नेपालीको मौलिक लय झ्याउरे विधाको प्रभाव र छाप धर्म,संस्कृति,संस्कार र परम्परामा पनि रहेको उल्लेख गर्दै झ्याउरे लय र समग्र झ्याउरेको विषयमा खोजी गर्नुपर्ने हामीबीच प्रश्न खडा भएको बताइन् । नेपालीको पहिचन भनेकै झ्याउरे हो । यसलाई विश्वमा लिएर जान र प्रवर्द्धनका लागि आवाज उठाउन प्रतिष्ठानसँग सहकार्य गरिएको प्रष्ट पारेकी थिइन् ।  यसैबीच भट्टराईको शब्द,संगीत र स्वरमा मञ्जरी झ्याउरे गीतिकविताको अडियो समेत सार्वजनिक भएको थियो । 

कवियत्री भैरवी भूगोलको उद्घोषण रहेको उक्त कार्यक्रममा इन्दिरा ढकाल, पवित्रा दाहालको झ्याउरे कविता शान्ति पौडेलले, ढुण्डीराज पोखेल,नरहरि प्रेमी र डाक्टर जनपाली लगायतले ‘झ्याउरे छन्दलयका कविता वाचन गर्नु भएको थियोे । अन्तिममा दस मिनेट प्रश्नोत्तरको तथा विमर्श कार्यक्रम राखिएको थियो । यस विमर्शमा वरिष्ठ पत्रकार तथा गीतकार गोपाल थपलिया लगायतका प्रश्नको उत्तर वक्ताहरूले दिएका थिए । इतिहासमा नै यस किसिमको कार्यक्रम हुनु भनेको आफैँमा ऐतिहासिकता झल्किएको सहभागी रहेका स्रष्टा द्रष्टा व्यक्तित्वहरूको भनाइ रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise