२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

ढलेको छ ‘लोभतन्त्र’

shivam cement
२०८२ भदौ ३१ गते ०६:००
ढलेको छ ‘लोभतन्त्र’

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

राजनीतिकर्मीहरूले भनेको लोकतन्त्र वास्तवमै ‘लोभतन्त्र’ थियो र तीन दशक नाघेपछि त्यो परिपक्व भई ढल्यो पनि । ढलेन मात्रै होइन, जल्यो पनि जलायो पनि । इतिहास मेटिने गरी पुर्खाको अस्मिता लुटेर बिदा भएको छ, धरोहर च्यातेर भागेको छ । आयातीत लोभतन्त्रले देशको अस्मिता लुटेको छ । मृतक आत्माहरूले शान्ति पाउन्, क्षतविक्षत संरचनाहरू बन्लान् पछि तर मन कसरी बन्ला — भत्किएको ? 

देशले रगत माग्दो रहेछ हरेक परिवर्तनमा । बेवकुफहरूले रगतमा होली खेलेका छन्, बिनारगत केही नगर्नेहरूलाई अब सधैंका लागि बिदा गरिनुपर्छ । धेरै ढिलो भइसकेको थियो । शब्दावलीहरूले घोचपेच गर्दा पनि पत्याएनन्, सबै उज्यालो देखे । देशमा अन्धकारको रात्रि सुरु भएको दशकौं भइसकेको थियो । ढाकछोप गरेर सबैलाई झुक्याए, अहिले पर्दाफास भएको छ– सबैतिर । जब जनता जागेर घरको खानतलासी गरे, गन्न नसकिने नोटका बिटा, बोक्न नसकिने सुनका भारी थुपारेर ‘सर्वहारा’को नेतृत्व गर्ने दलाली, नातावादी राजनीतिकर्मी ढुटा भएका छन् अहिले ।

यिनीहरूले देश लुटेर बटुलेको सम्पत्तिले देश फेरि बन्न सक्थ्यो होला तर यी आफैंले डढाएका छन्, प्रमाण नष्ट गरेका छन् । सिंहदरबार नउठ्ने गरी भत्किएको छ, इतिहास गुमनाम पार्ने गरी आएको परिवारतन्त्रले देश श्रीलंका हुन लाग्यो । बा ‘बंगलादेश’ भनिरहँदा उल्टै हप्की–दप्की खाइयो । सेवासुविधा कुनै नदिएर आफ्नो र आफन्तको भुँडी भर्न तल्लीन चुसकको पापको घडा फुटेको छ– अब । ‘सुशासन’ भन्ने कुशासन दिने, नक्कली भेषधारीहरूले देश चुस्नसम्म चुसे– रगत चुसे, पिए । अब जुकाहरूलाई फेरि आउन दिनुहुँदैन । चुनावबाटै फाल्नुपर्ने लोकतन्त्रको मान्यता रहेकाले देशले फेरि एकपल्ट चुनाव माग गरेको छ । तर चुनाव धेरै भयो देशमा, काम भएन ।

चुनावको मिति तोकिनु राम्रो होला तर यति ठुलो आन्दोलनपश्चातको अन्तरिम सरकारको बनोट र संविधानको धाराको प्रयोग देख्दा, ‘यो निर्विवाद छ’ भन्ने अवस्था छैन । पापीहरूले अरू कसीलाई आउन नदिने गरी तयार पारेको संविधानले राम्रो निकास देला भन्ने ठोकुवा गर्न सकिँदैन । नयाँ संविधान आउन ढिलो गर्नुहुँदैन तर जतिसुकै संविधान आए पनि एक दशक नटिक्ने, देश सधैं प्रयोगशालामै राख्ने विगत हेर्दा– अझै पनि यसले स्थायित्व देला जस्तो देखिँदैन । जनताले सधैं खबरदारी कसरी गरिरहने ? खबरदारी गरेर पनि सुन्ने सरकार कहिल्यै आएन देशमा ।

अहिले इतिहासमा महिला प्रधानमन्त्री भएको खुसीयाली राम्रो हो । तर सबै कुरा ‘ऐतिहासिक’ भन्दै, नभएका कुरा प्रयोग गर्दै जाँदा, देश भने ऋणको भारमा, व्यापारघाटाको मारमा परेको छ । सुनको सिरानी हालेर बसेका राजनीतिक कुकर्मीहरूले देश टाट पल्टाएर आफन्त र आफू सप्रिने प्रयास गरे, इतिहासले क्षमा गर्ने छैन । जंगबहादुरभन्दा एक स्टेप अघि बढेकाहरू जंगबहादुर बन्न भने सकेनन् । कोतपर्वजस्तो लाग्ने नरसंहारकारी घटनामा हजारौं नेपालीको रगतमा होली खेलेर सबै कुरा ठिक देख्ने अन्धाहरूको कहिल्यै होस खुलेन ।

जति भन्यो, टेरेनन् । भाइ–भारदारहरूको लठैत जम्मा गरेर दिन बिताए, समय गुजारे । थाहा थियो, यो राम्रो होइन– तैपनि संविधान ढिलो ल्याए, जसले एक दशक पनि पार गर्न सकेन । विदेशीको गुलाम बनेर उखान–टुक्कालाई प्रश्रय दिनेहरूले देशलाई विदेशीको फूलबारी बनाए । चुच्चे नक्साको नाटक गरे, ‘राष्ट्रियता’को भजन गाए । कुरूप प्रणाली, जो संसारबाटै प्याक भइसकेको थियो, गरिब नेपालीहरूलाई झुक्याएर मिठो सपना देखाउँदै यहाँ लादे । विद्वानहरूले पत्याएका थिएनन् । तर तिनकै अगाडि ‘वादशाहको नांगो शरीर पनि ढाकिएको छ शरीर भन्ने’ नारा दिएर, तिनकै दास बन्न खोजे ।

इतिहासमै कमजोर प्रशासन यन्त्र, इतिहासमै महँगो सेवासुविधा, बिचौलियाहरूको रजगज, ठेकेदारहरूको सलामी खाएर हिराको महलमा सुते, यी अब, तिनका दिन गएका छन् । अब खास नेपाली बन्नुपरेको छ, अग्र्यानिक नेपाली बन्नुपरेको छ, स्वदेशको हित गर्नुपरेको छ, आफ्नै उत्पादन गर्नुपरेको छ । आफ्नै श्रम र मिहिनेत गरेर देश उठाउनुपरेको छ । जापान उठ्यो, जर्मनी उठ्यो, हामी पनि उठौंला । स्वघोषित राजनेता र आठपासे भरौटेहरूलाई सधैंका लागि बिदा गर्नु नेपालीहरूको पहिलो कर्तव्य हो । लोकतन्त्रमा जनताको मुख थुनेर आफूले एकलौटी रजाइँ गर्न उद्यत कुकर्मीहरूलाई जनताले पाखा लगाएका छन् । तर के गर्नु संरचना कुनै बाँकी छैनन्, देश शून्य भएको छ । विदेशीको मुख ताक्दा तिनको गुलामी गर्नुपर्छ । अतः आधा पेट खान तयार होऔं तर आफ्नै बुद्धि र विवेक प्रयोग गरौं । देश लुट्न पल्केकाहरूलाई बाइ–बाइ गरौं । अस्तु ।

ADV

सम्बन्धित खबर

Advertise