२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

प्रदेश राजधानी सुर्खेतको बिजोग : न बल्छन् बत्ती, न चल्छन् सीसीटीभी 

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर २६ गते २०:४८
प्रदेश राजधानी सुर्खेतको बिजोग : न बल्छन् बत्ती, न चल्छन् सीसीटीभी 

सुर्खेत : आपराधिक गतिविधि नियन्त्रणसँगै बजार व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामराले आँखा देख्नै छाडेका छन् । बजारका मुख्य ठाउँमा सीसीटीभी क्यामराहरू बिग्रिएर नचल्ने अवस्थामा पुगेका हुन् । वीरेन्द्रनगरका मुख्य चोकमै राखिएका अधिकांश क्यामराहरू नचल्ने गरेको स्थानीयको भनाइ छ । 

वीरेन्द्रनगर बजारमा नगरपालिकाले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने मुख्य सडक र चोकहरूमा २०७५ साउन १ गते ९२ वटा सीसी क्यामरा जडान गरेको थियो । तर जडान भएको हप्ता दिन नबित्दै सीसी क्यामरा बिग्रिएका थिए । सीसीटीभी क्यामेरा बिग्रिएको लामो समय भइसक्दा पनि मर्मत सम्भारमा वीरेन्द्रनगर नगरपालिकाको चासो देखिएको छैन । 

हाल मात्रै नगरपालिकाले बिग्रिएका सीसी क्यामेराहरू मर्मत गर्नतर्फ लागेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रकम सीसी क्यामेरा मर्मतको लागि छुट्टाएको छ । नगरपालिकाका प्रमुख मोहनमाया ढकालले आफूहरूले २० लाख बजेट छुट्टाएको र उक्त रकमले बिग्रेका क्यामेरा मर्मत गरिरहेको जानकारी दिइन् । 

मुख्य नाकामै चल्दैनन्

वीरेन्द्रनगरका मुख्य नाकामा राखिएका सीसीटीभीसी क्यामेराहरू नचल्ने गरेको पाइएको छ । नगरपालिकाले २०७५ सालमा जडान गरेका सीसी क्यामराहरू केही महिनामै बिग्रिएका थिए । तर बिग्रिएको लामो समय भइसक्दा नगरपालिका भने भर्खरै तातेको छ । वीरेन्द्रनगर बजार क्षेत्र भित्रिने बाँगेसिमल, कपासे, धुलिया विट, सुब्बाकुना लगायतका नाकामै सीसी क्यामेरा बिग्रिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एक प्रहरीले मुख्य नाकामै सीसी क्यामेरा बिग्रिनु दुःखद भएको बताए । उनले नगरपालिकालाई धेरै पटक क्यामेरा मर्मत गर्नका लागि पत्र पठाउँदा पनि कुनै सुनुवाइ नभएको बताए । हालै मात्रै नगरपालिकाले मर्मतको लागि चासो देखाएर काम भइरहेको प्रहरीको भनाइ छ । 

बनाएका पनि हप्ता दिनमै बिग्रिन्छन्

वीरेन्द्रनगरमा अहिले बिग्रिएका सीसी क्यामराहरू मर्मत गर्ने र नभएका ठाउँमा नयाँ जडान गर्ने काम भइरहेको छ । तर, मर्मत गरेको क्यामराहरू पनि केही समयमै बिग्रिने गरेका छन् । केही दिन अघि वीरेन्द्रनगरको एयरपोर्ट चोकमा सीसी क्यामरा बिग्रिएको थियो । उक्त क्यामरा प्राविधिक टोलीले मर्मत ग¥यो । तर मर्मत गरेको केही समयमै क्यामरा फेरि बिग्रिएको थियो । यस्तै अन्य धेरै ठाउँका क्यामराहरू मर्मत गरेको केही समयमै बिग्रिएको प्रहरी स्रोत बताउँछ । ‘नगरपालिकाले बिग्रेका क्यामरा बनाउन लगाएको छ । तर एउटा बन्न नपाउँदै अर्को बिग्रिहाल्छ’ प्रहरी स्रोतले भन्यो । ‘यसरी कहिले होला र खै । नगरपालिका पनि बनाउनमा खासै जोड गर्दैन, अहिले पनि एक जना मात्रै काममा खटिएको छ’ सीसी क्यामेरा मर्मतमा नगरपालिकाकै चासो नदेखिएको स्रोतको दाबी छ । 

बत्तीको अवस्था पनि उस्तै 

केही समयअघि विद्युत महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले अधिकांश सडक बत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजार भन्दा बढी सडक बत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडक बत्ती बन्द छन् । अहिले केही मुख्य चोकमा हाईमास्क लाइट छ भने केही ठाउँहरूमा सोलार लाइट छ । नगरपालिकाको तथ्यांक अनुसार २४ वटा हाईमास्क र करिब दुई सयको हाराहारीमा सोलार लाइट छन् । 

सोलार लाइट विशेष गरी भित्री बजार तथा गल्लीहरूमा राखिएको छ । तर ती सोलार बत्तीहरू धेरै ठाउँमा नबल्ने गरेको पाइएको छ । विद्युत प्राधिकरण सुर्खेतका अनुसार वीरेन्द्रनगरको बुद्ध पथ, इत्राम स्कुल, तल्लो बजार, हुलाक कार्यालय अगाडि लगायतका धेरै ठाउँमा सडक लाइट तथा हाइमास बत्ती नबल्ने गरेको हो । सडक बत्तीहरू नबल्दा प्रदेश राजधानी भए पनि वीरेन्द्रनगर रातको समयमा अन्धकारमय हुन्छ । 

घटनाको अनुसन्धान र खोजतलासमा समस्या 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले वीरेन्द्रनगरका सडक बत्ती र पर्याप्त मात्रामा सीसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको बताए । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको उनको भनाइ छ । सडक बत्ती नहुँदा कुनै घटना घटे पनि अनुसन्धान गर्न र खोजतलास गर्न निकै समस्या हुने गरेको प्रहरीले जनाएको छ । उज्यालो नहुँदा गल्लीहरू भएको ठाउँमा चोरी हुनसक्ने सम्भावना बढ्नुको साथै झैँ–झगडा, लुटपाट भएको खण्डमा मान्छेको पहिचान गर्न गाह्रो हुने गरेको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise