काठमाडौं : प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले ९८ करोड बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । प्रभु ग्रुुप एण्ड कम्पनीज् अन्र्तगतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबीच बुधबार शेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो । कम्पनीले आईपीओ निष्काशन पछि आउने रकमले जलविद्युत् क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको जनाएको छ । यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केबलकार, ईच्छाकामना केवलकार र प्रभु जलविद्युत् विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिबद्धता गरेको छ ।
कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पुँजी रहेको छ भने जारी पुँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र आईपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पुँजी पुग्नेछ । कम्पनीले जारी गर्ने शेयर प्रति कित्ता ५० दरको १ करोड ९६ लाख कित्ता हुनेछ । यो कम्पनी गत २ वर्षदेखि संचालन मुनाफामा रहेको छ ।
प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङका सविन बुढाथोकीले हस्ताक्षर गरेका थिए ।