२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

समकालीन उपन्यासको स्वर तथा ‘९६ गड्डी’ उपन्यासमाथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न 

ADV
मध्यान्ह
२०८१ मंसिर २७ गते १३:०९
समकालीन उपन्यासको स्वर तथा ‘९६ गड्डी’ उपन्यासमाथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न 

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल स्रष्टा समाजसँगको सहकार्यमा ‘समकालीन नेपाली उपन्यासका स्वर तथा प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ माथि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।  

कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले उपन्यासको चर्चा गर्दै नेपाली समाजको सबैभन्दा ठूलो दुस्मन भ्रष्टाचार नै भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्धका उपन्यास अझै धेरै लेखिनुपर्नेमा जोड दिए । प्राज्ञ तिवारीद्वारा रचिएको ‘९६ गड्डी’ उपन्यासले प्रशासनिक क्षेत्रमा कर्मचारी तहमा हुने भ्रष्टाचारलाई मिहिन ढंगले उजागर गरेको चर्चा गर्दै राइले वास्तविक लेखक साहित्यकारहरू अपवाद छोडेर भ्रष्टाचारमा लिप्त रहेको कतै पाइदैन भन्ने जिकिर गरेका थिए । 

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ‘९६ गड्डी’ उपन्यासको अध्ययनले समकालीन नेपाली उपन्यासको स्वर र स्थान कहाँनेर छ भन्ने चित्रण गरेको बताउँदै आफू बाँचेको, सोचेको र भोगेको समय नै समकालीन स्वर रहेको बताएका थिए । सदस्य सचिव सुवेदीले ‘९६ गड्डी’ उपन्यास आलोचनात्मक यथार्थवादको नजिक रहेको बताए ।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पर्दै सिर्जनाहरू समय, परिस्थिति ,मोड र चरणअनुसार फरक पर्ने बताएका थिए । उनले ‘९६ गड्डी’ उपन्यासले वर्तमान समयमा व्याप्त अनियमितता र भ्रष्टाचारको निसाना रहेको कर्मचारीतन्त्रलाई सजग हुन सहयोग पुर्याएको बताए । यसको विवेचना वस्तुपरक हुनुपर्नेमा जोड दिन दिए ।

समीक्षक एवम् पत्रकार राजकुमार बानियाँले उक्त उपन्यासको समीक्षा गर्दै विज्ञान जस्तो कर्मचारी कसरी स्वार्थ र भ्रष्टाचारको दलदलमा फस्छ भन्नेबारे सटीक चित्रण ‘९६ गड्डी’ उपन्यासले गरेको बताउँदै लेखकले सामाजिक दायित्व र क्यानभासलाई फराकिलो पार्नुपर्ने बताए ।

समीक्षक अनिता कोइरालाले ‘९६ गड्डी’ उपन्यासको चर्चा गर्दै कृतिको विषयवस्तु नेपालमा सर्वत्र व्याप्त भ्रष्टाचार रहेको बताउँदै यस उपन्यासले भ्रष्टाचारको सबै रूप देखाएको उल्लेख गरिन् । उनले यो पढ्नै पर्ने उपन्यास भएको बताइन् । 

कार्यक्रममा ‘९६ गड्डी’ उपन्यासका सर्जक प्राज्ञ तिवारीले प्रजातन्त्र, समाजवाद र साम्यवादको बाँसुरी बजाउँदै आएको नेपाली राजनैतिक नेतृत्व र कर्मचारीतन्त्रभित्र बढ्दो भ्रष्टीकरणको कथा - ‘९६ गड्डी’ रहेको बताए । उनले उपन्यासमा २०४६ सालदेखि वर्तमान कालसम्मका बिषयवस्तुहरू समेटिएको चर्चा गर्दै भ्रष्टहरू जतिसुकै शक्तिशाली किन नहोउन्, एक दिन कानुनको फन्दामा अवश्य पर्छन् भन्ने कुरा उपन्यासको मूल सन्देश रहेको प्रष्ट पारे । 

सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ 'रोदन'ले झिनामसिना कमजोरीबाहेक कर्मचारी तहमा रहेका स्रष्टाहरूले खास भ्रष्टाचार गरेको नपाइने बताए । ‘९६ गड्डी’' उपन्यासका सर्जक तिवारीले निर्भीक रूपमा कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचारलाई केलाएको उल्लेख गर्दै रोदनले कर्मचारी वृत्तबारे यस्तै अन्य उपन्यास पनि उपन्यासकारले सिर्जना गर्नुपर्ने बताए । उनले ‘९६ गड्डी’ भ्रष्टाचार केन्द्रित ययार्थ उपन्यास भएकाले सबैभन्दा बढी कर्मचारीलाई अध्ययन गराउनु पर्नेमा जोड दिए । 

नेपाल स्रष्टा समाजकी महासचिव देविका तिमल्सिनाले सहजीकरण गरेको कार्यक्रममा झन्डै १०० जना जति लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise