२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

५ स्रष्टालाई ‘नूर-गंगा प्रतिभा पुरस्कार’ प्रदान

मध्यान्ह
२०८२ जेठ १० गते १७:३४
५ स्रष्टालाई ‘नूर-गंगा प्रतिभा पुरस्कार’ प्रदान

काठमाडौं : नूर-गंगा प्रतिभा पुरस्कार गुठीले २०८० सालका लागि विभिन्न विधामा उल्लेखनीय योगदान दिएका ५ स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरेको छ । 

गुठीका सदस्य-सचिव यज्ञप्रसाद शर्माका अनुसार यस वर्षको स्थापित राष्ट्रिय बाल साहित्य पुरस्कार कास्कीका रामबाबु सुवेदी र काठमाडौँका रामकुमार पाँडेलाई संयुक्त रूपमा प्रदान गरिएको छ । उनीहरूलाई संयुक्त रूपमा ५० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी क्षेत्रीय लोकगायन पुरस्कार रुपन्देहीका डिल्लीनारायण पाण्डेलाई ३० हजार रुपैयाँ र प्रमाणपत्र सहित प्रदान गरिएको छ । 

राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार म्याग्दीका प्रकाश दुतराजलाई नगद २५ हजार रुपैयाँ र नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार रुपन्देहीका सागर पौडेललाई नगद २० हजार रुपैयाँसहित प्रदान गरिएको छ । 

गुठीको २०८१ साल फागुन २२ गते सम्पन्न साधारण सभाबाट गठन गरिएको प्रतिभा छनोट उपसमितिको सिफारिसका आधारमा शुक्रबार सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गुठीका निवर्तमान अध्यक्ष प्रा.डा. चुडामणि बन्धु र गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालले पुरस्कार अर्पण गरेका थिए ।

पाल्पामा जन्मिएर काठमाडौँबाट गोल्ड स्टार जुत्ता उत्पादन गरेका चर्चित उद्योगपति स्व. नूरप्रताप जबरा र उनकी धर्मपत्नी तथा लोक गायीका स्व. गंगा राणाले २०४९ सालमा ३ लाख १ हजारको कोषबाट यो गुठीको स्थापना गरेका थिए । 

दुवैको स्वर्गारोहणपछी उनका छोरा अमिरप्रताप जबरा र बुहारी विदुषी राणाले गुठी सञ्चालन गर्दै आएका छन् । 

ADV

सम्बन्धित खबर