काठमाडौँ : नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित 'मातृभाषा साहित्यको २१ओैँ शृड्खला'मा लोकबहादुर बायुङ राईले 'बायुङ भाषाको साहित्य' विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचना र साहित्येतिहास विभाग प्रमुख डा.मधुसूदन गिरीले कार्यक्रमको समुद्घाटन गरेका थिए ।
उनले बायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारेको उक्त कार्यपत्रमाथि चर्चा गर्दै भाषिक र सांस्कृतिक ओैपनिवेशिकताका कारण नेपालका मातृभाषाहरू माथि थिचोमिचो भएको बताए । उनले यसका विरुद्ध अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने बताए ।
स्वागत मनतव्य तथा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मातृभाषा साहित्य शृङ्खलाले समग्र मातृभाषाको विकासमा योगदान पुर्याएको बताईन् ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख राजन मुकारुङले हरेकपटक राज्यको नयाँ संरचना बन्दा जनजातिको इतिहास, सभ्यता,थातथलो र संस्कृतिमाथि अतिक्रमण हुँदै आएको र यस उपनिवेशलाई उजागर गर्दै आफ्नो पहिचानलाई जोगाउनुपर्ने बताए । उनले बायुङ भाषाको साहित्य र वर्तमान अवस्थाबारे लोकबहादुर बायुङ राईले कार्यपत्र प्रस्तुत गरेर आफ्नो र समग्र मातृभाषाका समुदायका लागि महत्त्वपूर्ण काम गरेको बताए ।
कार्यपत्र प्रस्तोता राईले बायुङको भूगोल र जनसङ्ख्या,तथ्याङ्कमा बायुङ भाषा, बायुङ संस्था, पूर्व कार्यको समीक्षा, बायुङ वर्ण, पाठयक्रम, बायुङ राई भाषाका कृति र कृतिकार, बायुङ स्रष्टा र चुनौतीबारे उल्लेख गरेका थिए ।
कार्यक्रममा मुगाल भाषाका कवि सोनाम यङ्की वाम्बुले राईभाषाका कवि सोनाम सज्जन किराती र थारुभाषाका कवि सन्तोषी चौधरीले कविता वाचन गरेका थिए । उक्त कार्यपत्रमाथि प्रताप नाछिरिङ, डा. सोम धिमाल र शोभा सुनुवारले आआफ्नो जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए ।कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।