काठमाडौँ : १७ जेठ शनिबार प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दैछ । पोखराकै स्रष्टा देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्नेछन् ।
गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझासँग ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ घोषणा गरेका श्रेष्ठले पोखरामा हुने यो प्रत्यक्ष गायन यही अभियानको एउटा पाटो रहेको बताए । ‘हामी यो अभियानलाई देशभर लैजाने तयारीमा छौँ । यसकै निरन्तरता हो यो कार्यक्रम’, संगीतकार एवं गायनक श्रेष्ठले भने, ‘हामीले शास्त्रीय गजल गायन अभियानलाई सातै प्रदेशमा गर्दै छौँ, यो गण्डकी प्रदेशस्तरीय हुने छ ।’
गजलकार देवेन्द्र के. सी. ‘देवु’ले आफू कविता, मुक्तक, गीत र गजलमा बढी पोखिन सक्ने भन्दै पछिल्लो समय गजलले आकर्षित गरेको र शास्त्रीय गजल गायनको अभियानमा संलग्न भएको बताए । उनले भने, ‘गजल भन्नु नै गेय विधा रहेछ । लेखिएका गजलहरू गायनमा ल्याउँदाको स्वाद र स्तर फरक हुने रहेछ । म आफू पनि एउटा अभियन्ता भएकाले आफ्नै नगरीमा गजल गायन गर्ने तयारी गरेको हुँ ।’
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा पोखरा र आसपासका स्वनामधन्य स्रष्टा, संगीतकर्मी, पत्रकार, साहित्य÷संगीतप्रेमीको उपस्थिति हुने आयोजकले जनाएको छ ।