काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा १ सय ४ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।
नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये इन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, केनाईनतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि १ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।
दरखास्त दिने उम्मेदवारहरूले Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा Online Application बाट फारम भर्न सकिने छ ।
इन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय र भौतिक पूर्वाधार निर्देशनालयमा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, केनाईनतर्फ नेपाल प्रहरी केनाईन कार्यालय सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा अनलाईन दरखास्त संकलन तथा दर्ता गर्न सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले चैत १८ गतेदेखि २०८२ वैशाख १६ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।