२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुवासलाई

ADV
मध्यान्ह
२०८१ असार ७ गते १८:५९
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुवासलाई

काठमाडौं : डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

शुक्रबार ४–अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६–अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद २ लाख ७५ हजार प्राप्त गरे ।

समग्रमा १४–अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे । निरजले ५–अन्डर ६७ र भुवनले ३–अन्डर ६९ को स्कोर दर्ज गरे । उनीहरूले जनही १ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले १–अन्डर ७१ सहित समग्रमा १२–अन्डर २ सय ७६ को स्कोरमा चौथो भए । उनले १ लाख २ हजार हात पारे ।

समग्रमा ६–अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौ हुँदै ८८ हजार प्राप्त गरे । उनले शुक्रबार इभन–पार ७२ मा खेल सकाए । २–अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २–अन्डर ७० मा सकाए । उनले ८० हजार नगद पुरस्कार हात पारे ।

समग्रमा इभन–पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए । टंकले ३–अन्डर ६९ र जयरामले ४–ओभर ७६ मा खेल सकाए । उनीहरूले जनही ७१ हजार ५ सय नगद हात पारे ।

समग्रमा १–ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६–ओभर २ सय ९४ सहित रामे मगर दशौं भए । रविले शुक्रबार ३–अन्डर ६९ र रामेले २–ओभर ७४ मा खेल सकाए । रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पारे ।

एमेच्योरतर्फ ८–अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्यले उपाधि जिते । उनले शुक्रबार १–ओभर ७३ को स्कोर निकाले । शुक्रबार १–अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६–अन्डर २ सय ८२ सहित दोस्रो भए । समग्रमा २–अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए । उनले शुक्रबार २–अन्डर ७० खेले ।

अन्तिम दिनको शुरुवात गर्दा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो । दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुवासले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । भुवनले दोस्रो र आठौं होलमा एक–एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । फ्रन्ट नाइनको खेल सकिंदा सुवास र भुवन कुल १३–अन्डरको स्कोरमा बराबरीमा थिए ।

यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए । ११औं होलमा सुवासको टी सट पानीमा खस्यो । यो होलमा सुवासले बोगी खेपे । भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए । तर यो अग्रता सुवासले १२औं होलमा एक स्ट्रोकमा झारे । सुवासले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे । भुवनले भने बर्डी प्रहार गरे । यसपछिका ४ होलमा दुबैले बराबरी खेले ।

एक स्ट्रोकले अगाडि रहेका भुवनका लागि १७औं होल हारको कारण बन्यो । उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे । सुवासले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए ।

अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवासले २ स्ट्रोकले उपाधि जिते । उनले ब्याक नाइन ३–अन्डर ३३ मा र भुवनले १–अन्डर ३५ मा पूरा गरे । सुर्य नेपाल गल्फ टुरमा सुवासको यो समग्रमा छैटौं उपाधि हो ।

निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए ।

पुरस्कार राशिको आधारमा सिजनकै ठूलो प्रतियोगितामा कूल १५ लाख ५० हजार नगद पुरस्कार राशि रहेको थियो । प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागीता रहेको थियो ।

यो सिजनको कूल आठ प्रतियोगितामध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुवास तामाङले एक एक उपाधि जिते ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रा.लि.का म्यानेजिङ डाइरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत प्रो–एम प्रतियोगिता शनिबार हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise