–सरस्वती मोहोरा
हामी जीवनलाई भौतिक मान्छौ । जीवनको भौतिक अस्तित्वलाई स्वीकार्छौ तर, प्रेमको आदर्शवादी अवधारणामा विश्वास गर्छौ । हामी अनि हाम्रा धारणामा हामी विरोधाभासपूर्ण दुविधाग्रस्त छौं । हामी अनि हाम्रो सोच्ने तरिका विरोधाभासपूर्ण छ । हाम्रो जीवनको भौतिक परिस्थिति र हाम्रो सोच्ने तरिकामा विरोधाभास हुनु भनेको जीवन स्वयम्मा विरोधाभासपूर्ण हुनु हो । अन्ततः जीवनले अर्थपूर्ण निष्कर्ष र उपलब्धि दिन नसक्नु हो ।
प्रेमको आदर्शवादी अवधारणा के हो ? प्रेमलाई काल्पनिक ठान्नु नै आदर्शवादी अवधारणा हो । प्रेम जीवनको अस्तित्वको प्रमुख शर्त र जीवनको अस्तित्वको एउटा रूप हो र यो जीवनमा मात्र सम्भव हुन्छ । मरेको मान्छेले प्रेम गर्दैन । चेतनशील मान्छेले गर्ने प्रेम र पशुले गर्ने प्राकृतिक प्रेमभन्दा अलि उच्च हुनुले यो भावना र विचारसित सम्बद्ध हुन्छ । भावना र विचार वर्ग समाजमा वर्ग सापेक्ष हुने हुँदा मान्छेले गर्ने प्रेम वर्ग सापेक्ष वर्ग आधारमा मात्र सम्भव हुन्छ । वर्ग समाजमा प्रेमको यथार्थवादी वा भौतिकवादी अवधारणा यही हो । यसको विपरीत प्रेमलाई बुझ्नु भनेको काल्पनिक र आदर्शवादी कुरा हो । तथापि भौतिक जीवनमा प्रेमबारेको हाम्रो अवधारणा कस्तो छ भने प्रेममा कुनै अन्तर्विरोध हुँदैन वा नहुने फिल्मी दुनियाँमा जस्तो वा धेरैजसो कलासाहित्यमा हुने जस्तो काल्पनिक ठान्छौं हामी प्रेमलाई ।
फिल्मी दुनियाँको प्रेमबारे भन्न नपर्ला । कला र जीवनको कुरा गर्दा कला र जीवन अलि फरक कुरा हो । कला जीवनको अभिव्यक्ति भएपनि जीवनको निस्तो दुरूस्तै अभिव्यक्ति भने कला होइन । कला कल्पनामा आधारित जीवनको कलात्मक पुनर्निर्माण, पुनर्सरचना वा पुनर्सिर्जना हो । कलामा जीवनको अभिव्यक्ति हुनुले त्यो यथार्थ हुन्छ तर, लेखकको कल्पना भावना, विचार, स्वप्न आदि पनि त्यसमा हुनुले त्यो काल्पनिक पनि हुन्छ । त्यसो र कला विशुद्धरूपले यथार्थ मात्रै हुँदैन र त्यो विशुद्धरूपले कल्पना मात्रै पनि हुँदैन । साँचो कलासाहित्य वा कलाका रूपहरू कल्पना र यथार्थको मिश्रण वा संयोजन हुन्छ । यस रूपमा कला साहित्यमा हुने काल्पनिक वा स्वप्निल प्रेमको अभिव्यक्ति यथार्थ जीवनसित नमिल्न पनि सक्दछ । यथार्थ जीवनमा हुने तीव्र वर्ग टकराव र अन्तरविरोध त्यस्तै स्त्री र पुरुषका बीचमा हुने लैङ्गिक अन्तरविरोध र टकराव, जात व्यवस्था भएको समाजमा जातीय अन्तर्विरोध वा अन्य अन्तर्विरोधहरू ती जुन वर्गीय अन्तर्विरोधकै विविध रूपहरू हुन् र हुन्छन् ।
यथार्थ जीवनमा मसिनो र मिहिन अन्तर्विरोध र टकरावका रूपमा ती आउनसक्छन् । प्रेमको फिल्मी वा कला साहित्यपरक काल्पनिक वा आदर्शवादी अवधारणाले त्यसबेला फेल खान पनि सक्छन् । त्यसो र यथार्थ मानव जीवनमा प्रेमको अवधारणा पनि यथार्थवादी वा भौतिकवादी हुनु आवश्यक छ र हुन्छ । यसका साथै प्रेम मात्र नभएर अन्य विषयमा पनि, हामीले जिउने जीवन र जीवन जिउनका लागि जीवनलाई आवश्यक हुने हाम्रा सोच, दृष्टिकोण एक–अर्काका विपरीत विरोधाभासी नभएर अन्तर्सम्बन्धित र सहयोगी भइदिए जीवन जिउनलाई पनि सहज हुने थियो । अन्ततः यही प्रक्रियाबाट नै जीवन संगतिपूर्ण, अर्थपूर्ण, परिणाममुखी र उपलब्धिमूूलक हुनसक्ने कुरामा पनि आश्वस्त बन्न सकिन्थ्यो । तर, हाम्रो समाजलाई प्रेमलाई बुुझ्ने र स्वीकार्ने विषयमा समस्याहरु छन् । कतिपयले अलौकिकरुपमा प्रेमलाई बुुझ्दा पनि अन्योलताहरु देखिएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies