काठमाडौं : चापागाँउस्थित हिलटाउन स्कुलमा कक्षा ३ को एउटा कोठा, कोठामा विद्यार्थीहरूलाई कक्षाकार्य दिएर कालोपाटीमा सेतो चकले कराते खेलिरहेको चित्र बनाइरहेका फ्रिडी सर र कक्षाकार्य गर्न छाडेर फ्रिडी सरले कोरिररहेको चित्रलाई एकोहोरो नियालिरहेका १ विद्यार्थी । सोचिरहेका छन्, बिनाआँखाको कस्तो मान्छे !
उनको सोचाइ पूरा नहुँदै फ्रिडी सर कालोपाटी नजिकबाट अलिक पर सर्छन् र चकले पार्टीमा हान्छन्, बन्छ आँखाको आकार । ती विद्यार्थी फ्रिडी सरको चित्र कोर्ने तरिकामा आकर्षित हुन्छन् । त्यसपश्चात् हरेक दिन स्कुलबाट घर फर्केर फ्रिडी सरकै स्टाइलमा चित्र बनाउने प्रयास गर्छन् ।
३४ वर्षअघिको त्यही प्रयासका कारण चित्रकारिताको जगत्मा एउटा नाम गुन्जिरहेको छ अचेल– अजय देशार । अजय ललितपुरको चापागाँउका स्थायी बासिन्दा हुन् । फ्रिडी सरबाट प्रभावित भएर चित्र बनाउने प्रयास सधैं गरिरहे पनि आफू चित्रकारिताकै लागि बनेको हुँ भन्ने कुरा धेरै पछि महसुस भएको उनी बताउँछन् ।
सगुनमा पाएको ब्रसले फेरिएको जीवन
नेवारी समुदायमा कक्षा १० पास गरेपछि घरका अन्य सदस्यले अण्डा, मिष्टान्नसहितको सगुन दिने प्रचलन छ । आमा सानैमा गुमाएका अजय पास भएको दिनमा बुबाबाट आफूलाई पनि त्यस्तै सगुन पाइन्छ भन्ने आसमा थिए । तर, त्यस्तो भएन ।
पाटनको मंगलबजारमा पसल चलाइरहेका बुबा साँझ ८ बजेतिर घर फर्किए, पुरानो एउटा चित्र कोर्ने ब्रससहित । दिनभर कमाइ नभएका कारण आफ्ना लागि केही ल्याउन नसकेको भन्दै बाटोमा भेटिएको ब्रस उनले सगुन स्वरूप अजयको हातमा थमाए र भने, ‘तिमीलाई दिन सक्ने मैले यही मात्र छ । आज मेरो व्यापार पनि भएन । पैसा दिऊँ, पैसा पनि छैन । यो ब्रसले तिम्रो भविष्य परिवर्तन हुन सक्छ, सम्हालेर राख ।’
बेलाबेला साधारण तरिकामा चित्र कोरिरहेको भए पनि त्यसबेलासम्म चित्रको भाव र कोर्ने तरिकाबाट अजय अनभिज्ञ थिए । खानेकुरा सगुनमा पाइएला भनेर कुरेका अजयले ब्रस किन ? भनेर बुबालाई प्रश्न पनि गर्न चाहेनन् ।
‘सामान्य तरिकाले चित्र कोर्थें । जानेर होइन, त्यत्तिकै । बुबालाई थाहा पनि थिएन म अलिअलि भए नि चित्र बनाउँछु भनेर तर पनि के सोचेर ब्रस दिनुभयो, बुझ्नै सकिनँ । किन दिनुभयो भनेर सोध्ने आँट पनि आएन । तर, केही अमूल्य चिज पाएको महसुस गरें, केही गर्नै पर्छ अब भन्ने पनि लाग्यो’, उनले विगत सुनाए ।
त्यसको केही समयपछि घुम्दै जाने क्रममा काठमाडौंको भोटाहिटी पुग्दा नेपाल ललितकला क्याम्पस देखेपछि उनका पाइला रोकिए र आँखा ‘यहाँ चित्रकला सिकाइन्छ’ भन्ने वाक्यमा ठोकिए । त्यसश्चात् उनको अन्य विषय पढ्नेतर्फ ध्यान नै गएन । ललितकलामा भर्ना भए अनि सुरु भयो उनको चित्रकारिताको जीवन र बुबाले दिएको ब्रसको काम ।
‘सुराकी’को आरोपमा कुटिएको त्यो पल
ललितकलामा चित्रकारिताकै अध्ययन गरिररहँदा अभ्यासका लागि अजय कहिले नदी किनार दौडिन्थे त कहिले जंगलतिर । उदाउँदो र अस्ताउँदो सूर्यसँग पनि उनको प्रेम थियो । त्यसकै चित्र क्यानभासमा उतार्न उनी धेरै पटक सबेरै उठेका पनि छन् र अबेर रातसम्म घर नफर्केका पनि ।
चित्रकारितामा पोख्त हुन उनले बाँकी राखेको सायदै कुनै प्रयास छ । उनले सुराकीको आरोप पनि खेप्नुपरेको छ । ‘बडिखेल भन्ने एउटा ठाउँ छ । त्यहाँको एउटा सानो चिटिक्क परेको घर देखे ‘सि मैले आफूलाई रोक्न सकिनँ । घरको अघि बसेर कलरहरू निकालेर बनाउन थालें । स्केच सकेर एक पट्टी कलर लाउन थालेको थिएँ, २–४ जना मान्छेहरू आउँछन्, यसो हेर्छन्, घुर्छन्, जान्छन्’, त्यसबेलाको अनुभूति सुनाए उनले, ‘म छक्क पनि परें, किन यस्तो गरिरा’ छ भनेर । भरे त गाउँभरिका केटाहरू लाठी, खुर्पा, हँसिया लिएर मलाई घेर्न थाले । को होस् तँ ? भन्दै धम्की दिन थाले ।’
चित्रकलाको त्यति विकास नभइसकेको त्यस समयमा एक्लै बसेर चित्र बनाइरहँदा सुराकी भन्दै उनी कुटिएका पनि छन् । ‘धम्की आउँदा ललितकलाको कार्ड देखाएर म विद्यार्थी हुँ पनि भनें, पत्याएनन् । यहाँको फोटो बनाएर लगेर बेच्न लागिस् भनेर १ जना आएर ड्यांग दिहाल्यो’, कुटिएको पल सम्झिँदै उनी मुस्कुराए । त्यस दिन उनले आफूले चियासमेत नखाई जोगाएको पैसाले किनेका कलर पनि गुमाउनुपर्यो ।
इतिहास रच्ने विधा ‘चित्रकारिता’
चित्रकारिताकै अध्ययन गर्ने क्रममा सन् २००९ तिर उनी बेलायत पुगे । त्यस बखत उनको विवाह भइसकेको थियो । श्रीमती सँगै थिइन् । त्यहाँ ३ वर्ष विताइसकेपछि उनलाई नेपाल फर्किन मन लाग्यो । नेपालको प्राचीन अस्तित्व जोगाउन भनी श्रीमतीसँगै सन् २०१२ मा उनी स्वदेश फर्किए ।
उनलाई आर्थिक पाटो सबल बनाउने मोह थिएन । उनको एउटै इच्छा थियो, कहीँ कतै नसमेटिएर, नलेखिएर सकिएर जाने कुराहरूलाई चित्रमार्फत सधैं जीवित राख्ने, इतिहासका पानाहरूमा सजाउने । ‘चित्र बनाएर बेचेर खान्छु भन्ने सोच कहिल्यै आएन । चित्र बनाउने भनेको इतिहास रच्न बनाउने हो । चित्रकारको काँधमा इतिहास रच्ने जिम्मेवारी हुन्छ । पैसाको पछि दौडिए अस्तित्व रहँदैन’, उनले थपे, ‘सबै कुरा सधैंभरि रहँदैनन् । २०७२ सालको भूकम्पबाटै पनि धेरै कुरा ध्वस्त भए । ती कुरा त्यही ठाउँमा गएर खोज्ने हो भने अहिले भेटिँदैनन् तर मसँग छन् । टुकुछाप भन्ने गाउँ कति राम्रो थियो, मेरै गाउँका पुराना शैलीमा बनेका घरहरू पनि भत्किए । अबका मान्छेले ती कुरा प्रत्यक्ष देख्न पाउँदैनन् तर तिनको १ प्रतिशत भए पनि मसँग छ । मैले बनाएको चित्रमार्फत पछिपछिसम्म पनि यो ठाउँ यस्तो रहेछ भनेर देख्न सक्छन् ।’
देशको कला, संस्कृति र प्राचीन अस्तित्वलाई जोगाउन लागिपरेका अजय चित्रकारिताबाटै गत ३० कात्तिकदेखि २ मंसिरसम्म भारतको राजस्थानमा भएको १८औं अन्तर्राष्ट्रिय कलापर्वमा ‘अन्तर्राष्ट्रिय कलारत्न सम्मान’द्वारा सम्मानित पनि भए । साथै, देशभरिका नवचित्रकारलाई पनि इतिहास रच्न प्रोत्साहन गरिरहेका छन् ।