२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

‘नेपालीपन झल्कने फेशनलाई विश्व बजारमा पुर्‍याउनुपर्छ’

ADV
२०८१ असार ८ गते ०६:४५
‘नेपालीपन झल्कने फेशनलाई विश्व बजारमा पुर्‍याउनुपर्छ’

शारीरिक बनावट जस्तो भएपनि उसले लगाएको पहिरनले मानिसलाई थप आकर्षक बनाइरहेको हुन्छ । यस्तो कार्यमा एउटा कुशल ड्रेस डिजाइनको महत्वपूर्ण भूमिका रहन्छ । पछिल्लो समय नेपालीहरू पनि ड्रेसअपमा निकै सचेत हुन थालेका छन् । अहिले बजारमा फरक–फरक डिजाइनका ड्रेस उपलब्ध हुन थालेको छ । यसले गर्दा क्रिएटिभ डिजाइनरको भविष्य नेपालमा निकै राम्रो छ । राम्रो क्षमता भएका डिजाइनरहरु अन्तर्राष्ट्रिय बजारमा समेत जान सक्ने वातावरण बनिसकेको छ । लामो समयदेखि ‘पटुकी पोषाक’ सञ्चालन गर्दै आइरहेकी सन्जिता बराल आफूलाई ड्रेस डिजाइनरको भिडमा अघिल्लो पंक्तिमा उभ्याउन सक्षम देखिन्छिन् । नेपालमा हुने सुन्दरी प्रतियोगिता र ठूला–ठूला फेशन शोहरुका लागि ड्रेस डिजाइन गर्नेमात्र नभएर उनको डिजाइन नेपालभित्र भन्दा पनि बाहिर धेरै जाने गरेको छ । चुलो चौकोभित्र सीमित कयौं महिलाहरुलाई फेशन डिजाइनसम्बन्धी प्रशिक्षण दिएर आत्मनिर्भर बन्न सहयोग गर्दै आइरहेकी अहिलेकी व्यस्त ड्रेस डिजाइनर सन्जिता बरालसँग मध्यान्ह दैनिकका लागि लक्ष्मण पोखरेलले गरेको कुराकानीको सम्पादित अंश :

यतिबेला केमा व्यस्त हुनुहुन्छ ?

हालै सम्पन्न ‘द पोएट आइडल सिजन २’का निर्णायकमध्यकी केकी अधिकारीका लागि ड्रेस मैले नै तयार पारकी हुँ । केही समय त्यतै व्यस्त भैयो । अहिले ‘मिस नेपाल २०८१’का लागि ड्रेसको काममा जुटिरहेकी छु ।

योभन्दा पहिले कुन–कुन शोहरुमा काम गर्नुभयो ?

मेगा मोडल सिजन ४, मिस वल्र्ड, मिस अर्थ र मिस इन्टरनेशनल, नेकस्ट सुपर मोडल २०१७, सिन्ड्रेला नेपाल २०१७, मिस एण्ड मिसेज नेपाल २०१८, मिस नेपाललगायत दर्जनौं बिग इभेन्टहरुमा काम गरिसकेको छु ।

अहिले ड्रेस डिजाइनको अवस्था कस्तो छ ?

फेशनप्रति युवाहरु सचेत देखिन्छन् । फेशन डिजाइनिङ जहाँ खोले पनि व्यवसाय चलेकै छ । यहाँ ड्रेसको निकै प्रतिस्पर्धा छ । व्यक्तिको इच्छाअनुसारको ड्रेस उपलब्ध हुने भएकाले फरक–फरक डिजाइन आफ्नो इच्छाले बनाइराखेका छन् । जसलाई जे लगाउन मन लाग्यो त्यही फेशनमा चलेको छ ।

फेशनमा परिवर्तन आएको जस्तो लाग्दैन ?

समयको परिवर्तनसँगै मानिसको पहिरनमा फरकपन देखिनु स्वभाविक हो । पहिले जस्तो छैन अहिले जस्तो लगायो त्यो नै फेशन बनिदिन्छ । आज एउटाले एउटा फेशनको कपडा लगायो भने त्यही खालको सबैले बनाउन थाल्नु हुन्छ ।

के ग्राहकहरु ड्रेसप्रति समझदार भएका हुन् ?

हामी कहाँ अहिले फेशनको राम्रो अवस्था छ । सबैले आफूलाई फेशनेवल नै बनाउन चाहिरहेको हुन्छ । दिन प्रतिदिन फेशनेवल हुनु उमेरअनुसारको चाहना र समयको माग पनि होला । कस्तो कार्यक्रममा कस्तो ड्रेस लगाउने भन्ने ज्ञान हुनुका साथै कस्तो कलरको व्यक्तिलाई कस्तो कलर सुहाँउछ भन्ने कुरामा पनि ज्ञान हुनु आवश्यक छ । जसले गर्दा व्यक्तिको व्यक्तित्वमा थप सुन्दरता झल्कियोस् ।

फेशनेवल हुन चाहनुको कारण ?

संसारको जुनसुकै कुनामा नयाँ डिजाइन आयो भने सञ्चारका विभिन्न माध्यमबाट क्षणमै हाम्रोमा आइपुग्छ । अन्तर्राष्ट्रिय पहुँच भएका सामाजिक सञ्जाल नै यसको मुख्य कारण हो । यसले फेशन डिजाइनको क्षेत्रमा काम गर्नेलाई सहज पनि बनाइदिएको छ ।

आर्थिकरुपले यो व्यवसाय कस्तो छ ?

क्रियशनमा निर्भर गर्छ । जति राम्रो क्रियशन बजारमा दिन सक्यो उति नै फाइदा । मेरो पटुकी पोषाकमा मसँगै मेरा अन्य कर्मचारीहरुको व्यस्तता देख्दा यो व्यवसायबाट सन्तुष्ट छु ।

कस्तो खालको डिजाइनको माग बढी आउँछ ?

म सबै किसिमको डिजाइन गर्छु । नेपाली, इन्डियन आदि । ग्राहकको अर्डरअनुसार साडी, गाउन, लेहेँगा आदि सबै गर्छु । इभेन्टहरुका लागि भने अलि फरक डिजाइनको माग हुन्छ ।

पटुकी पोषाकको उत्पादन यहीँ मात्र खपत हुन्छ कि ?

देशमा मात्र नभएर विदेशमा रहनु हुनेहरुले पनि नेपालीपन, ड्रेस डिजाइन धेरै लगाउन खोज्नुहुन्छ र उहाँहरुको रुची अनुसारको ड्रेस डिजाइन गरेर उपलब्ध गराउने कार्यलाई पनि निरन्तरता दिँदै आइरहेका छौं ।

ADVADV

सम्बन्धित खबर

Advertise