काठमाडौं : साउदी अरेबियाको रियादस्थित दूतावासबाट प्रमाणीकरण भइसकेका डिमाण्ड वैदेशिक रोजगार विभागको एटेस्टेशन मोड्युलमा अपलोड नहुँदा समस्या परेको गुनासो वैदेशिक रोजगार व्यवसायीले गरेका छन् ।
राजधानीको चाँदनी म्यानेजमेन्ट सर्भिस प्रालिका नाममा गत जनवरी २७ तारेखमा साउदी अरबको साद मुन ईब्राहिम विन मन्सुरअल मारहौन पाउण्डेसन फर मेन्टिनेन्स एण्ड क्लिनिङ कम्पनीको ३ जना कामदारको डिमाण्ड प्रमाणीकरण भएको थियो ।
वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिकामा विदेशस्थित कूटनीतिक नियोगले डिमाण्ड पेस भएको दश दिनभित्र त्यस्तो डिमाण्ड प्रमाणीकरण गर्ने उल्लेख छ । तर डिमाण्ड प्रमाणीकरण भएको झण्डै एक महिनासम्म विभागको एटेस्टेशन मोड्युलमा अपलोड नभएको उक्त कम्पनीका सञ्चालक श्यामकमल गुरुङले मध्यान्ह राष्ट्रिय दैनिकसँग गुनासो गरे । अझ आश्चर्य त के छ भने सोही दूतावासबाट फेब्रुअरी दोस्रोसातासम्म प्रमाणीकरण भएका मागपत्रहरू आइसकेका छन् । तर चाँदनी म्यानेजमेन्टको भने अझै आएको छैन ।
मागपत्र प्रमाणीकरण भएको एक महिनासम्म प्राप्त नभएपछि साउदीस्थित रोजगारदाता कम्पनीलाई दिने जवाफ आफूसँग नरहेको कम्पनीको भनाइ छ ।
वैदेशिक रोजगार विभागले गत जनवरी १ देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) कार्यान्वयनमा ल्याएको हो । तर खाडीस्थित अधिकाश दूतावास प्राविधिक समस्या देखाएर पन्छिँदै आइरहेका छन् । रियादस्थित नेपाली राजदूतावासले गतहप्ता एक सूचना जारी गर्दै नेपाली राजदूतावासबाट गरिँदै आएको कामदार मात्रपत्र प्रमाणीकरण कार्य ०७६ चैत २ गते तदनुसार १५ मार्चबाट मात्रै अनलाइन प्रणालीबाट गरिने बताउँदै अनलाइन प्रणालीको सामान्य गाइडलाइनपछि उपलब्ध गराइने बताएको छ ।
वैदेशिक रोजगार विभागले भने प्रयोगमा ल्याएको प्रणालीबाट मागपत्र अपलोड गर्न साउदी अरबस्थित नेपाली दूतावासले पटकपटक प्राविधिक समस्या उत्पन्न भएको बताउँदै आएको छ ।
यसअघि गत माघ १७ गते साउदी अरबस्थित रोजगारदाता कम्पनीहरूको विवरण विभागले ह्याण्डिल गरेको सूचना प्रणालीमा प्रविष्ट नभएको कारणले मागपत्र प्रमाणित गर्न समस्या भएको भन्दै साउदीस्थित रोजगारदाता कम्पनीको विवरण वैदेशिक रोजगार विभागको प्रणालीमा अध्यावधिक गर्न म्यानपावर कम्पनीहरूलाई आग्रह गरेको थियो ।
खाडीस्थित नेपाली दूतावासहरूले सहज सेवा नदिएपछि वैदेशिक रोजगार व्यवसायीहरूले प्रमाणीकरण गरिएको डिमाण्ड कुरियरमार्फत नेपाल ल्याई आफैंले डिजिटल हस्ताक्षर गरी प्रमाणित गरेर प्रणालीमा अपलोड गर्ने गरेका छन् । तर व्यवसायीहरू आफैंले डिजिटल हस्ताक्षर गरी अपलोड गरेका मागपत्रमा स्क्यानिङ गर्दा प्रष्टसँग कलर नआएको भन्दै थप समस्या सिर्जना भएको दाबी व्यवसायीहरूले गरेका छन् ।
दूतावासले निरन्तर समस्या देखाए नेपाल आउने डिमाण्ड अन्यत्रै डाइभर्ट हुने चेतावनी वैदेशिक रोजगार व्यवसायीहरूले दिएका छन् । उनीहरूले पटकपटक वैदेशिक रोजगार विभागको ध्यानाकर्षण समेत गराउने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies