२०८१ पुष ६ गते शनिवार / Dec 21 , 2024 , Saturday
२०८१ पुष ६ गते शनिवार

मेरो फोटो पत्रकारिता : संघर्ष र मिहिनेतले दिलाएको सफलता

ADV
मध्यान्ह
२०८१ पुष ६ गते ०६:२५
मेरो फोटो पत्रकारिता : संघर्ष र मिहिनेतले दिलाएको सफलता

–प्रदीपराज वन्त

मेरो फोटो पत्रकारिताको यात्रा एउटा रोमाञ्चक कथाभन्दा फरक छैन । ठूलो मिहिनेत र संघर्षको बलमा आजको दिनमा आइपुगेको हो । अनेक आरोहअवरोह पार गरेर सिक्दै, सिकाउँदै आजको अवस्थामा आइपुगेको तथ्य उल्लेख गर्दा आफैंलाई गौरव महसुस भएको छ ।

देश, विदेश सबैतिर फोटो पत्रकारिताको क्रममा पुगेर धेरै विषयमा जानकारी पाउने मौका पनि यसबीचमा प्राप्त भएको छ । २/२ पटक संयुक्त राष्ट्रसंघको महासभामा फोटो पत्रकारको हैसियतले नै सहभागी हुन पाउने गौरव पनि प्राप्त भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)देखि प्रधानमन्त्री कार्यालयसम्म मिहिनेत, खटाइ अनि रचनात्मक कामका कारण काम गर्ने अवसर प्राप्त भयो । अमेरिका, चीन, भारत, युरोपलगायत एसियाका थुप्रै देशहरूमा फोटो पत्रकारकै हैसियतमा सहभागी हुने अवसर प्राप्त गर्नु पनि नेपालको फोटो पत्रकारको रूपमा अर्को गौरव गर्न लायक विषय बन्न पुगेको छ ।

हजार शब्दको वर्णन गर्ने काम एउटै फोटोले गर्छ भन्ने मान्यत(ालाई आत्मसात् गरेर निरन्तर यही कर्ममा लागिपर्दा खुसी पनि प्राप्त भएको छ । 

मेरो फोटोतर्फको यात्रा कक्षा ८ मा अध्ययन गर्दै गर्दा २०५६ सालदेखि सुरु भएको हो । त्यही बेलादेखि नै रिल क्यामेरा बोकेर हिँड्न थालेको हुँ । मेरो यासिमा कम्पनीको क्यामेरा थियो । स्कुलको वार्षिक कार्यक्रम, विवाह, ब्रतबन्ध हुँदा वा शैक्षिक भ्रमण जाँदा सामूहिक तस्बिर खिच्ने क्रमबाट सुरु भएको हो ।

कलेज जीवनमा मनमोहन कलेजमा प्लस टु पढ्दै गर्दा काठमाडौंको रानीबारीमा सीडी, फोटोकपी, टेलिकम्युनिकेसन पसल संचालन गरेँ । त्यसको नाम दिइयो– ‘वन्त सीडी, डीभीडी, क्यासेट बेच्ने पसल ।’ 

यद्यपि, युरोप जाने रहरले कामलाई निरन्तर दिने अवस्था बनेन । साथीभाइको लहैलहैमा युरोप जान थाइल्यान्ड गएँ । दलालले ५०० डलर असुलेर बिचल्ली बनाएर भाग्यो । पछि १३ जनाको समूहले घर परिवारसँग १ हजार डलर मागेर नेपाल फर्कियौं । 

विदेशको चक्कर कायमै थियो । मलाई इराक भए पनि जानुपर्छ भन्ने थियो । बसपार्कमा लुकीछिपी बस्यौं । पुनः दलालको लहैलहैमा मुम्बई पुर्‍यायो । मुम्बईमा ४५ दिनसम्म बस्दा पनि दलालले इराक लान सकेन । पैसा पनि सकिँदै गयो । मुम्बईमा लुकाईछिपाई राखेको, धेरै युवा अलपत्र परेको देखेपछि नेपाल नै फर्केर केही गर्नुपर्छ भनेर आँट आयो र फर्किएँ । त्यो नै मेरा लागि एउटा राम्रो सिक्ने अवसर बन्यो । 

पछि स्टुडियो व्यवसाय गर्छु र त्यसलाई निरन्तरता दिन्छु भनेर पुनः त्यसमा लागेँ । जनयुद्धमा रहेको माओवादी र ७ राजनीतिक दलबीचको सहकार्यमा २०६२ सालमा जनआन्दोलन सुरु भयो । आन्दोलन चरम उत्कर्षमा पुग्न लागेको थियो । नयाँ बसपार्कको एउटा गेस्ट हाउसमा बसिरहेको थिएँ । त्यसले मलाई फोटोप्रति आकर्षित गर्‍यो । विदेश गएर अनेक दुःख बेहोरेर फर्कें । सामाखुसीमा फुपू दिदीको घर थियो । त्यहीँ स्टुडियो व्यवसाय गर्छु भनेर सोंच बनाएँ । 

नेपाल फोटोग्राफी ट्रेनिङ सेन्टरमा एक हप्ताको कक्षा लिन ४५ सय रुपैयाँ तिर्नुपर्ने थियो । मसँग त्यत्रो पैसा थिएन, भएको पैसा पनि विदेशको चक्करमा नै सकिइसकेको थियो । २ हजार ५०० रुपैयाँ तिरेर ट्रेनिङ सेन्टरमा भर्ना गरेँ । ४ दिन त्यहाँ सिकेपछि पैसा तिर्न नसकेकै कारणले त्यहाँको कक्षा छाड्नुपर्‍यो र व्यवसायमा लाग्छु भनेर सामाखुसीमा नै ‘सिमन डिजिटल फोटो स्टुडियोे’ संचालन गरें । 

सुरुमा फुजी फिल्मको ३७०० मोडलको डिजिटल क्यामेरा किनेर फोटोग्राफी यात्रा सुरु गरें । करिब डेढ वर्षमा राम्रै आम्दानी भयो । यद्यपि, फोटो स्टुडियो भएकाले फिल्म लाइनमा रुचि भएका मानिसहरूसँग भेटघाट बढ्न थाल्यो ।

छवि ओझाले ‘हिफाजत’ भन्ने फिल्म बनाएका थिए । त्यसमा फुल प्याकेजमा काम गर्ने अवसर पाएँ । स्टिल फोटोग्राफरको रूपमा काम गर्दा मलाई धेरै सिक्ने र जान्ने अवसर प्राप्त भयो भने उक्त फिल्मकी हिरोइन रेखा थापाको फोटो खिच्दा मोडलिङ फोटोग्राफीमा बढी रुचि हुँदै गयो । 

फोटोग्राफीमा लाग्दा नाम र दाम दुवै कमाइ हुन्छ भन्ने मेरो खास अर्थको सिकाइ त्यसबेला नै भयो । फोटोग्राफरबाट फोटो पत्रकारको यात्रा भने ‘जनदिशा’ दैनिकमार्फत २०६५ सालदेखि सुरु भएको हो । मेरो फोटो पत्रकारिताको वास्तविक सुरुवात सोही पत्रिकाबाट नै भएको हो । 

मोडलिङ फोटोग्राफी, इभेन्टमा काम गर्न भनेर २०६६ सालमा ‘सिजन मिडिया’ भनेर कम्पनी स्थापना गरें । विभिन्न प्रोडक्टको विज्ञापन, मोडलको मोडलिङ करियरमा अनलाइन पोर्टल इकलेज मोडल, मेरो मोडल डटकम संचालनमा ल्याएँ । मोडलिङमा इच्छा हुने महिला, पुरुष र कलाकारको फोटो खिचेर अपलोड गर्ने तथा अन्य व्यावसायिक रूपमा काम अगाडि बढ्यो । मोडलिङ इभेन्टहरू काम गर्ने इच्छा पनि थप मौलाएर आयो । 

२०६८ सालमा कोमलनाथ बराल राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी अध्यक्ष थिए । मेरो दाइ दिनेश श्रेष्ठ राससमा फोटो पत्रकारका रूपमा कार्यरत थिए । उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अफिसियल फोटो पत्रकारका रूपमा गएपछि राससमा फोटो पत्रकार खालि भयो । 

दिनेशको सट्टामा काम गर्नेगरी राससमा फोटो पत्रकारको रूपमा प्रवेशसँगै फोटो पत्रकारिताको अर्को व्यावसायिक उडान सुरु भयो । पछिल्लो १४ वर्षमा राससमा विभिन्न बिटमा फोटो खिच्ने अवसर प्राप्त भयो । 

राजनीतिक, सांस्कृतिक, खेलकुद, पर्यटन, आर्थिक सबै बिटमा काम गर्ने अवसर पाएँ । फोटो पत्रकारितामा एउटा गुणस्तरीयताको हाइप सिर्जना गर्न सफल भएँ । 

फोटो पत्रिकारितामा दुःख पनि छ । हरेस नखाईकन अठोटका साथ काम गर्न सकिन्छ भन्ने समयले नै सिकायो । राससमा काम गरेर आफूलाई यस क्षेत्रमा स्थापित गर्ने अवसर राससले प्लेटफर्म दियो । 

सँगै, राष्ट्रिय फोटो पत्रकार समूहमा आबद्ध भएसँगै पेसालाई थप निखार्ने मौका मिल्यो । विभिन्न जिल्लामा फोटोग्राफी तालिम दिने, पत्रकारलाई सिक्ने, सिकाउने क्रम चल्यो । राससमार्फत पनि विभिन्न प्रदेशमा आयोजना गरिएका फोटो पत्रकारिता तालिममा प्रशिक्षकको रूपमा सहभागी भएर आफूले जानेको कुरा सिकाउने मौका मिल्यो । कोरोनाकालमा पनि अग्रपंक्तिमा रहेर फोटो पत्रकारिता गर्ने अवसर प्राप्त भयो । 

चीनबाट पहिलो पटक उद्धार गरेर ल्याइएका विद्यार्थीको विमानदेखि बससम्मको फोटो खिच्ने अवसर प्राप्त भयो । मेरा लागि कोरोनाकालको फोटोग्राफी खास अर्थमा राम्रो भयो । 

कोरोनाका त्राहीमामका बीचमा लकडाउन नभनीकन फोटो पत्रकारिताका लागि काम गर्‍यौं, जसले सुरक्षाका साथ होसियारीपूर्वक काम गर्नुपर्छ भन्ने सिकायो । कोरोनाकालमा मेरा लागि दुःखद र सुखद दुवै खालको अनुभूति पनि छ । 

राससमा काम गर्दै गर्दा २०७९ सालको स्थानीय तह र संघीय निर्वाचनमा फोटो पत्रकारको रूपमा काम गर्न निर्वाचन आयोग जाने अवसर पनि प्राप्त भयो । त्यहाँ अफिसियल फोटो पत्रकारको रूपमा आयोगको काम गर्ने अवसर प्राप्त भयो । नेपालको निर्वाचनमा कसरी फोटो पत्रकारिता गर्नुपर्छ भन्ने एउटा मानक स्थापित गरिएको छ । 

निर्वाचन सकिएपछि राससमा काम गर्दै थिएँ । सोही क्रममा नयाँ सरकार बन्ने दौडधुप चलिरहेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने पक्कापक्की भएपछि प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको अफिसियल फोटो पत्रकारको रूपमा काम गर्ने अवसर प्राप्त भयो ।

विभिन्न भीभीआईपी (राष्ट्रिय/अन्तर्राष्ट्रिय)को नेपाल भ्रमण तथा विदेश भ्रमणका क्रममा फोटो पत्रकारिता गरेर अनुभव पनि थियो । सोही कारण पनि त्यसमा अग्रसर भएर काम गर्न सहजता भयो ।

त्यही क्रममा प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्ने दिनदेखि नै उहाँको फोटो खिच्ने असाइनको रूपमा काम गरिरहेको थिएँ । केही समयपश्चात् राससबाट काजमा प्रधानमन्त्री कार्यालयमा काम गर्नेगरी अवसर प्राप्त भयो । त्यसलाई सहजै स्वीकार गरें । उहाँको फोटो खिच्न बालुवाटार र सिंहदरबारमा रहेर भूमिका निर्वाह गरेँ । 

सोही क्रममा संयुक्त राष्ट्रसंघको महासभा, युरोप, दुबई, भारत, चीन भ्रमणमा मैले मेरो सीप र क्षमता देखाउने अवसर पाएँ । विदेशी फोटो पत्रकारसँगको भेटमा केही नयाँ सिक्ने अवसर पनि पाएँ । फोटो पत्रकारिताको क्षमतालाई राम्रोसँग काम गरेर स्मार्ट भएर देखाउन सकिन्छ । प्रधानमन्त्री कार्यालयमा फोटो आर्काइभ गर्न थालियो । त्यो राज्यको सम्पत्तिको रूपमा काम गरिदिनुपर्छ, गुणस्तरीयतालाई ध्यान दिएर काम गर्नुपर्छ भन्ने देखायौं ।

प्रम कार्यालयमा वा विदेश भ्रमणमा फोटो पत्रकारलाई किन लैजाने, किन चाहियो भन्ने थियो । त्यस्ता खालका भ्रमलाई पनि हटाउन सकिएको छ । प्रधानमन्त्री प्रचण्डको भारतमा भ्रमणमा क्रममा थप ऊर्जा प्राप्त भयो । 

फोटो पत्रकारको रूपमा छुट्टै पहिचान र स्थान फोटोका कारण प्राप्त भयो । अवसरसँगै चुनौती पनि थिए । सुरक्षाको दृष्टिकोणले सेक्युरिटी, फोटो राम्रो आउँछ कि आउँदैन भन्ने सदैव हुन्थ्यो । आफूले जानेको सीप देखाउन पाउँदा गर्व पनि महसुस भयो । 

हतार, डर, सुरक्षाका कारण समयमा क्यामेरा बोकेर हिँड्नुपर्ने, कार्यक्रम स्थलमा कार्यक्रम सुरु हुनुभन्दा १ घण्टा पहिले नै पुग्नुपर्ने, भीभीआईपीको हाई अलर्टमा बसेर काम गर्ने राम्रो अवसर प्राप्त भयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि संयुक्त राष्ट्रसंघका महासचिव, युक्रेनका राष्ट्रपति जेलेस्कीलगायत ठूला शक्ति राष्ट्रका प्रमुखहरूको फोटो खिच्ने अवसर पाएँ भने संसारभरका १९३ देशका फोटो पत्रकारले कसरी रिपोर्टिङ गर्छन् भन्ने कुरा पनि सिक्न पाइयो ।

चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत एसियन गेमको उद्घाटन सत्रका पनि राम्रो फोटो खिच्ने मौका पाएँ । प्रममण्डलसँग बेइजिङ, मानसरोवर, कैलाश, ल्हासा, तिब्बत सबै क्षेत्रको फोटो खिच्न पाउने अवसर मेरा लागि सौभाग्यशाली नै थियो । 

त्यसैगरी दुबईमा आयोजना भएको ‘कोप– २८’ फोटोमा कैद गर्ने अवसर प्राप्त भयो भने जलवायु परिवर्तनको असरका बारेमा बुझ्ने सुनौलो अवसर पनि पाएँ । यस्तै, यसै वर्ष पुन संयुक्त राष्ट्रसंघको ७९औं महासभामा फोटो पत्रकारका रूपमा नेपालबाट सहभागी हुने अवसर प्राप्त भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनदेखि अन्य महत्त्वपूर्ण भेटघाटको फोटो खिच्ने मौका यस पटक पनि पाएँ । 

आगामी दिनमा पनि राष्ट्रिय फोटो पत्रकार समूहको दोस्रो कार्यकालका लागि नयाँ कार्यसमितिको नेतृत्व गर्दै व्यावसायिक फोटो पत्रकारितालाई निरन्तर अगाडि बढाउने, व्यावसायिक हक हितका लागि राससलगायतका संघसंस्थालाई थप राम्रो काम गरेर अगाडि बढाउने योजना र सोच छ । फोटो पत्रकारलाई स्रोत र साधनले सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यका साथ सरकार र सरकारी निकायलाई घचघच्याउने काम पनि यसबीचमा भइरहेको छ । 

(वन्त, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष हुन् ।)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise