२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

स्टार्टअप उद्यम कर्जामा युवाको आकर्षण

ADV
छबि सापकोटा
२०८१ पुष ८ गते ०६:३०
स्टार्टअप उद्यम कर्जामा युवाको आकर्षण

काठमाडौं : स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव पेस भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माग गरेको आवेदनमा स्टार्टअप उद्यम कर्जामा युवा उद्यमीको आकर्षण बढेको छ ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यम कर्जाको दिनका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमै १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । स्टार्टअप उद्यमलाई सरकारले प्राथमिकतामा राखेसँगै कर्जाका लागि आवेदन दिनेको संख्या बढेको हो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निर्देशक ई. उमेशकुमार गुुप्ताले प्राप्त आवेदन सर्ट लिस्टको काम भइरहेको बताए । उनले भने, ‘मापदण्ड पूरा गरेका परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गर्दै छ । अब केही दिनमै मिति र समय तोकी व्यावसायिक योजना प्रस्तुतीकरणका लागि आमन्त्रण गरिने छ । प्रस्तुतीकरणका लागि उपस्थित नभएका परियोजनाहरू स्वतः छनोटमा पर्ने छैनन् ।’

प्रस्तुतीकरण गरेका परियोजनामा बढी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राप्तांकको आधारमा प्राथमिकीकरण गरी कर्जा प्रवाह गर्न बैंकमा सिफारिस हुने उनले बताए । 

उद्यमशील कर्जाअन्तरगत कार्यक्रमबाट ३ प्रतिशत ब्याज दरमा कर्जा प्रवाह गर्नेगरी स्टार्टअप उद्यम कर्जा प्राप्त गर्न सक्ने छन् ।  कर्जा प्रवाहका लागि प्रतिष्ठानले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौतासमेत गरिसकेको छ । 

सर्ट लिस्ट तयार गर्दै प्रतिष्ठान

५ हजारभन्दा बढीको अवेदन परेको भए पनि कागजपत्र नै अपुग हुने आवेदनकर्ता धेरै छन् । मूल्यांकन समितिका एक सदस्यले भने, ‘प्राप्त आवेदनलाई एक–एक गरी अध्ययन भइरहेको छ । तर, धेरै परियोजना स्टार्टअप योग्यतामा नपरेका छन् । सर्ट लिस्टमा धेरै आवेदनकर्ता घट्ने देखिन्छ ।’

मूल्यांकन समितिका सदस्यहरूले कुनै आग्रह/पूर्वाग्रह नराखी सर्ट लिस्ट तयार गरिरहेका उनको भनाइ छ । मूल्यांकन गर्दा कार्यविधिमा परियोजना ७ वर्ष ननाघेको, वस्तु वा सेवाको उत्पादन वा संचालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवं सिर्जनशील भएको र कुल चुक्ता पुँजी २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म हुनुपर्ने छ ।

स्टार्टअप कर्जाका लागि छनोट भएका बढीमा ६०० जनाले कर्जा प्राप्त गर्ने छन् । यो वर्ष छानिएका स्टार्टअप परियोजनाले बढीमा २५ लाख रुपैयाँ कर्जा बिनाधितो ३ प्रतिशत ब्याज दरमा पाउने छन् । प्रतिष्ठानले १६ वटा स्टार्टअप उद्यम छुट्याएर आवेदन माग गरेको हो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ११ देखि ३१ भदौसम्म स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो । ३१ भदौमा भौतिक र अनलाइनका माध्यमबाट ५ हजार १५८ परियोजनाका प्रस्ताव आएका थिए । 

गत आर्थिक वर्षमा १ हजार ६५८ परियोजनामध्ये कर्जाका लागि प्रतिष्ठानले १८३ उद्यमीलाई सिफारिस गरेको थियो । त्यसमध्ये जम्मा १६५ स्टार्टअप उद्यमीले कर्जा लिइरहेका छन् । सरकारले ५ वर्षभित्र १० हजार स्टार्टअपलाई प्रवर्द्धन गर्ने र १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ स्टार्टअप उद्यम परियोजना बनाएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise