जुम्ला : जुम्लाको दियालो बहुउद्देश्यीय सहकारी संस्था जुम्लामा बचत गर्ने बचतकर्ता यतिबेला सडकमा आएका छन् । सहकारीले बचत गरेको रकम फिर्ता लिन समस्या देखिएपछि बचतकर्ताहरू सडकमा आएका हुन् ।
दियालो सहकारीमा साउनी महताराको दुई लाख ६२ हजार रूपैयाँ बचत रहेको छ । सो पैसा उनले दाउरा र आलु बेचेर जम्मा गरेको पैसा हो । तर, अहिले रकम बचत गरेको सहकारीमा पटक–पटक धाउँदा समेत उनले आफ्नो बचत फिर्ता पाउन सकेकी छैनन् । उनकाअनुसार सो सहकारीमा उनले बचत गर्न थालेको झण्डै तीन वर्ष हुन लागिसकेको छ ।
त्यस्तै, अर्का मुनबहादुर बुढाले पनि सो सहकारीमा ८ लाख रूपैयाँ बचत गरेका छन् । उनले पनि आफ्नो बचत फिर्ता नपाएको दुखेसो पोखेका छन् । ‘आलु बेचेर आधापेट खायर बचत गरेका हौँ, तर अहिले सहकारीले बचत माग्न आउदा एक हजार मात्रै दिन्छ, बचत फिर्ता नपाउँदा बच्चाहरूलाई पढाउन समस्या परेको छ’, बुढाले भने । आफ्ना बच्चा पढाउन र कोठा भाडा तिर्न रकम अभाव भएको उनको भनाइ छ ।
दर्जनौँ पटक बचत फिर्ताको लागि सहकारीमा धाउँदा पनि बचत फिर्ता नपाएको भन्दै बुढाले सहकारीले बचत फिर्ता गर्न आलटाल गर्न लागेको बताए । अहिले सहकारीका कर्मचारीले रकम फिर्ता नदिने भनेर धम्काउने गरेको समेत उनको गुनासो छ । त्यस्तै, बचतकर्ता नन्द बुढाले पनि सोही सहकारीबाट ८ लाख रूपैयाँ लिनुपर्ने बतााएका छन् ।
उनले भने, ‘त्यहा म असार जादाखेरी दिनन सकिने भन्दै सहकारीले फर्काईदियो, ‘म बजारमा बस्छु, कोठा भाडा तिर्नुपर्छ, मैले स्याउ, ओखर, साग तरकारी बेचेर जम्मा गरेको रकम फिर्ता पाइएन’, उनी भन्छन्, ‘आधा पैसा दिएको भएपनि मैले बालबच्चा पढाउन सक्थेँ ।’
उनले आफूहरूलाई दैनिक एक हजारका दरले रकम लैजान भनेको बताएको तर, आफ्नो गाउँबाट बजार आउजाउ गर्न दैनिक ६ सय रुपैयाँ लाग्ने गरेकाले तीन सय लिनका लागि बजार आउन नसकिने बताए ।
साउनी, मुनबहादुर र नन्दको मात्रै नभएर सो सहकारीबाट बचत फिर्ता नपाएको अन्य धेरै बचतकर्ताहरूले पनि गुनासो गरेका छन् । साग, सिमी, तरकारी, ओखर बेचेर कमाएको रकम सहकारीमा बचत गरेको तर, अहिले सञ्चालकहरू नै सम्पर्कमा नआएको बचतकर्ताहरूको गुनासो छ ।
उक्त सहकारीमा मजदुर, किसान, एकल महिला लगायत हजारौँ बचतकर्ताले बचत गरेका छन् । उनिहरूले बचत फिर्ताको माग गर्दै कहिले र्याली निकाल्छन्, कहिले सिडियो कार्यालय धाउँछन् भने कहिले पत्रकार समक्ष धाउने गरेका छन् । २०६६ साल साउन २६ गते जुम्ला जिल्लाको चन्दननाथनपाको वडा नम्बर एक देखि सात सम्म तातोपानी गाउँपालिकाको वडा नम्बर चार र गुठीचौर गाउँपालिकाको वडा नम्बर पाँच कार्य क्षेत्र तोकेर चन्दननाथ गाउँपालिका ६ मा मुख्य कार्यालय स्थापना गरेर सो सहकारी स्थापना भएको थियो ।
सो सहकारी सञ्चालक समितिका अध्यक्ष टेकबहादुर शाही यतिबेला भारतको कलकत्तामा छन भने व्यवस्थापक दीपक शाह काठमाडौंमा छन् । संस्थाले बचतकर्ताको १९ करोड ५० लाख मध्ये १८ करोड तिर्न बाँकी रहेको व्यवस्थापक दीपक शाहले बताए । उनकाअनुसार संस्थामा एक करोड ५० लाख शेयर लगानी छ भने संस्थाले ऋण लगानी ३४ करोड गरेको छ ।
बितेको डेढ वर्षको अवधिमा संस्थाले तीन करोड ऋण लगानी मात्रै उठाउन सकेको आगामी चैत अन्तिमसम्म सबै बचतकर्ताको बचत फिर्ता गर्ने तयारी रहेको व्यवस्थापक शाहले बताए । ‘हाम्रो अध्यक्ष अहिले कलकत्तामा हुुनुहुन्छ, उहाँ उतैबाट ऋण ल्याउने तयारीमा हुनुहुन्छ’, उनले भने, ‘त्यो रूपैयाँ आएपछि हामी बचतकर्ताको ऋण तिर्ने तयारी छ’, शाहले भने ।
जुम्लाबजार सानो भएको र ऋण लगानी धेरै भएका कारण पनि पैसा उठाउन नसकिएको उनको भनाइ छ । हामीलाई काम गर्ने वातावरण भएको खण्डमा तत्काल बचतकर्ताको समस्या समाधान हुने उनले बताए । उनले दुर्गा प्रसाईका सर्मथकले बचत फिर्ताको माग उठाएर बचतकर्तालाई भड्काएको समेत आरोप लगाएका छन् । ‘हाम्रा अध्यक्षको नेपालगन्ज र चितवनमा रहेको जग्गा बिक्री गरेर भएपनि बचतकर्ताको ऋण तिर्ने प्रक्रिया सुरु गरिसकेका छौं’, उनले भने, ‘आर्थिक संकटका कारण बजार बाट पैसा उठाउन सकिएको छैन, त्यसैले डेढ वर्षदेखि हामीले पैसा फिर्ता गर्न नसकेका हौं ।’
कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीलाई सो सहकारीको समस्याको विषयमा बुझ्न फोन सम्पर्क गर्दा भने सम्पर्क हुन सकेन । सहकारीबाट बचत फिर्ता नपाएको नागरिकको गुनासो आउँदा सम्बन्धित निकायहरू भने मौन बसेको देखिएको छ ।