सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका-८, टाडी गाउँमा दलित समुदाय मुसहर जातिको बाक्लो उपस्थिति छ । मुसहर समुदाय शिक्षा क्षेत्रबाट पछाडि पर्दै आएका छन् । तर पछिल्लो समय यी समुदायका अधिकांश बालबालिका विद्यालय जान थालेका छन् ।
बसोबास अत्यधिक भएपनि मुसहर समुदायका बालबालिकाको विद्यालयमा उपस्थिति न्यून हुने गर्थ्यो । मुसहर समुदायका बालबालिकाको विद्यालय भर्नाको अवस्थालई हेर्ने हो भने यहाँका जनता माविमा यस वर्षमात्रै ७१ जना बालबालिका भर्ना भएका छन् ।
यो गाउँको कुल जनसंख्यामध्ये ३५ प्रतिशत मुसहर समुदायको बसोबास रहेको छ । नजिकै विद्यालय भएपनि गरिबीका कारण अभिभावक इँटा उद्योगमा मजदुरी गर्न जाँदा यहाँका मुसहर बालबालिका पढाइबाट वञ्चित हुनु परेको थियो ।
अभिभावकसँग गाउँमै बसेका बालबालिका नियमित रूपमा विद्यालय आउने गरेको भएपनि केही अभिभावक आ-आफ्नो बालबालिकालाई सँगै लिएर महोत्तरी जिल्लाको गौशालास्थित इँटा उद्योगमा मजदुरी गर्न गएकाले उनीहरुको बालबालिकाको विद्यालयमा भर्ना भएपनि नियमित उपस्थिति नरहेको प्रधानाध्यापक राम ईश्वर महतोले बताए ।
गाउँका अधिकांश मुसहर समुदाय आ-आफ्नो बालबालिकालाई सँगै लिएर केही महिनाका लागि जिल्ला बाहिर इँटा उद्योगमा काम गर्न जाने गरेकोमा पछिल्लो समय केही मात्रामा मात्र जाने गरेका छन् ।
आफ्नो बालबालिकालाई पढाउनकै लागि इँटा उद्योगमा नगइ गाउँमै मजदुरी गरिरहेका स्थानीय बुधु माझी भन्छन्, 'बाहिर इँटा उद्योगमा काम गर्न जाँदा बालबालिकाको पढाइ प्रभावित हुने भएकोले म जस्तै अरु थुप्रै जना जाँदैनन् । पहिला हाम्रो समुदायका लगभग सबैजना जान्थ्यौं, तर पछिल्लो समय ४ देखि ६ जनासम्म मात्र जाने गरेका छन्, गाउँमा मजदुरी गर्दा थोरै पैसा भएपनि बालबालिकालाई पढाउन पाउँदा खुशी छु,' माझीले भने ।
ग्लोबल डेभलपमेन्ट ग्रुपको सहयोगमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले शिक्षाबाट वञ्चित बालबालिकाहरुको सशक्तीकरण परियोजनाअन्तर्गत विद्यालय बाहिर रहेका पिछडिएका समुदायका बालबालिकाहरूलाई लगातार १० महिना निःशुल्क कक्षा प्रदान गरी विद्यालयसम्म ल्याउन चेतना र भर्ना अभियान थालेपछि यस्तो सुधार देखिएको हो ।
अभियान प्रभावकारी बनेपछि मुसहर समुदायका अभिभावक र बालबालिकामा शिक्षाप्रति आकर्षण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवले बताए । गाउँभरिका पिछडिएका समुदायका अगुवा र बालबालिकाको पटक-पटक भेला गरी शिक्षाको महत्वबारे आसमान नेपालले जानकारी गराउँदा यस्तो परिवर्तन आएको वडा अध्यक्ष राजकिशोर महतोको भनाइ छ ।
आसमान नेपालका कार्यक्रम संयोजक हरेराम ठाकुरले पिछडिएका समुदायका बालबालिकाहरू विद्यालय जान नचाहने र अभिभावकले पनि ध्यान नदिएकाले यसअघि उनीहरु विद्यालय नगएको बताए । अभिभावकहरूसँग गहन छलफल गरेपछि बालबालिका विद्यालयमा जान थालेका छन् । उनका अनुसार अहिले यस गाउँका मुसहर समुदायका सबै बालबालिका विद्यालयमा भर्ना भइसकेका छन् भने अधिकांशको नियमित उपस्थित पनि रहेको छ ।
नगर प्रमुख कल्पना कुमारी कटुवालले पिछडिएका समुदायका बालबालिकालाई उल्लेख्यरूपमा विद्यालयसम्म ल्याउन प्रयास गर्ने सबैप्रति आभार र धन्यवाद व्यक्त गर्दै शिक्षा प्राप्तिले जातीय भेदभावको अन्त्य गर्ने विश्वास व्यक्त गरिन् । उनले विधालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन गरिएको मिहिनेत जस्तै त्यसलाई विद्यालयमा टिकाइराख्न र निरन्तरताका लागि पनि सरोकारवालाहरुले उत्तिकै मिहिनेत गर्नुपर्नेमा जोड दिइन् ।
सुरुमा उत्साहजनकरूपमा भर्ना हुने, तर पछि बीचमै पढाइ छाड्ने जस्ता प्रवृत्ति पनि विभिन्न ठाउँमा देखिएको अनुभव सुनाउँदै नगर प्रमुख कटुवालले भनिन्, ‘मुख्य चुनौती त्यस्ता बालबालिकालाई विधालयमा टिकाइराख्ने र निरन्तरता दिनु हो, यसतर्फ सबै सरोकारवाला सजग र सचेत रहनुपर्छ ।’