२०८१ पुष १८ गते बिहिवार / Jan 02 , 2025 , Thursday
२०८१ पुष १८ गते बिहिवार
Ads

कर्णालीका दुःख : आफ्नो उत्पादनले पुग्दैन खान

ADV
कुलेन्द्र शाही
२०८१ पुष १५ गते ०६:३५
कर्णालीका दुःख : आफ्नो उत्पादनले पुग्दैन खान

सुर्खेत : कर्णाली प्रदेशमा ३० दशमलव ५ प्रतिशत परिवार मात्र आफ्नै कृषि उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशका ६९ दशमलव ५ प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभर खाना नपुग्ने अवस्था छ ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीमा ३ लाख २ हजार ६४० कृषक कृषि पेसामा संलग्न छन् तर ती कृषकमध्ये ६९ दशमलव ५ प्रतिशत अर्थात् २ लाख १० हजार ३०६ कृषक परिवारलाई आफ्नै उत्पादनले खान नपुग्ने पाइएको छ । 

कर्णाली प्रदेशका १० जिल्लामा कृषि पेसा गर्ने कृषकको संख्या धेरै रहेको भए पनि यहाँका अधिकांश कृषकमा खाद्य असुरक्षा छ । सुर्खेतमा ६२ हजार ५२६ कृषक रहेकामा ३५ हजार ३७८ कृषक परिवार खाद्य असुरक्षित छन् ।

यस्तै, दैलेखमा ४९ हजार ६४६ कृषकमध्ये ३९ हजार १०९ कृषक खाद्य असुरक्षित छन् । जाजरकोटमा ३३ हजार ४३१ कृषक छन्, जसमा २३ हजार १५९ कृषक परिवार खाद्य असुरक्षित छन् ।

सल्यानमा ४९ हजार २७४ कृषकमध्ये ३३ हजार ३१७ कृषक खाद्य असुरक्षित छन् । रुकुम पश्चिममा ३२ हजार ७७३ कृषकमध्ये २३ हजार ८०६ कृषक खाद्य असुरक्षित छन् ।

त्यस्तै, जुम्लामा २१ हजार ५४८ कृषक छन्, जसमा १४ हजार ३७ कृषकलाई आफ्नै उत्पादनले पुग्दैन । हुम्लामा ९ हजार ७०७ कृषकमध्ये ७ हजार १०० कृषक खाद्य असुरक्षित छन् । मुगुमा १० हजार ९२९ कृषक छन्, जसमा ७ हजार ८२१ कृषक खाद्य असुरक्षित छन् ।

डोल्पामा ८ हजार ३७३ कृषकमध्ये ७ हजार २७७ कृषक खाद्य असुरक्षित छन् । कालीकोटमा २४ हजार ४३२ कृषकमध्ये १९ हजार ३८१ कृषक खाद्य असुरक्षित छन् ।

यसरी, कर्णाली प्रदेशका कृषकहरूलाई खाद्य असुरक्षाको सामना गर्नुपरेको तथ्यांकले प्रदेशमा कृषि उत्पादनमा सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्न थप ध्यान पुर्‍याउनुपर्ने आवश्यकतालाई जनाउँछ । 

प्रतिव्यक्ति १९८ किलोग्राम खाद्यान्न आवश्यक 

कर्णालीको कृषि उत्पादनको प्रतिव्यक्ति प्रतिवर्ष उपलब्धतालाई दृष्टिगत गर्दा खाद्यान्न १९८ दशमलव ३२ किलोग्राम, दलहन १३ दशमलव ११ किलोग्राम, तरकारी ८७ दशमलव २८ किलोग्राम, आलु १२८ दशमलव ८९ किलोग्राम, फलफूल ४९ दशमलव २५ किलोग्राम, मासु १४ दशमलव ८ किलोग्राम, दूध ६९ दशमलव ३२ लिटर र अण्डा १८ गोटा रहेको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले प्रतिव्यक्ति १२ किलोग्राम माछा, १४ किलोग्राम मासु, ९१ लिटर दूध र ४८ गोटा अण्डा वार्षिक न्यूनतम आवश्यकता पर्ने जनाएको छ ।  

किन पुग्दैन आफैंले उत्पादन गरेको खानाले ?

कृषि मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार ६९ दशमलव ५ प्रतिशत कृषक परिवारलाई आफैंले उत्पादन गरेको खान नपुग्ने अवस्था चिन्ताजनक हो । सिँचाइ पूर्वाधार, समयमा मल नपाइनु, अनुदानको न्यायोचित वितरण नहुनुलगायत कारणले वास्तविक कृषकलाई जीवन निर्वाह गर्नसमेत समस्या भइरहेको छ ।

गुणस्तरीय बिउ बीजन, पशु नश्ल, मल र विषादी समयमै र सहज रूपमा उपलब्ध नहुनु, कृषि बजार, शीत भण्डार, गोदाम र संकलन केन्द्रहरू संचालन गर्न आवश्यक विद्युत् क्षमता नहुनुले पनि कृषि पेसामा समस्या देखिन्छ ।

विकसित उपयुक्त प्रविधिहरू कृषक समुदायसम्म प्रभावकारी रूपमा प्रसार हुन नसक्नु, भूमि र श्रमशक्तिको उत्पादकत्व न्यून रहनु, जमिनको तीव्र खण्डीकरण हुनु, बाली वस्तुमा रोग किरा र प्राकृतिक प्रकोपले उत्पादनमा नकारात्मक असर गर्नु, उत्पादित खाद्यवस्तुहरूको समुचित भण्डारण, प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्नु, जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्न गएको प्रभावलाई कम गर्न नसक्नु, प्रांगारिक कृषि उन्मुख अनुसन्धान केन्द्र, प्रयोगशाला र अन्य पूर्वाधारको अभाव हुनुले कृषकले लाभ लिन नसकेका पाइएको हो । 

यस्तै, कृषि पेसालाई सम्मानित बनाउन नसक्दा युवाहरूको वैदेशिक रोजगारीमा जाने क्रम बढ्नु, खेती गरिएका जमिनहरूको खण्डीकरण हुनु, मानव र वन्यजन्तुबीचको द्वन्द्व, भू–क्षयको समस्या, मूल्य शृंखलामा काम गर्न नसक्नु र महिलाहरूले भरमा कृषि कर्महरू गर्ने समस्याले कृषि क्षेत्रबाट कृषकले लाभ लिन नसकेका हुन् ।

बाँझिँदै पहाडका जग्गा  

कर्णालीको उत्पादनशील जग्गासमेत मासिँदै गएको पाइएको छ । पहाडको जग्गा पनि बाँझिन थालेका छन् । रोजगारीको शिलशिलामा नागरिकको शहरकेन्द्रित बसाइसँगै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेपछि गाउँका जमिन पनि बाँझिँदै गएका हुन् ।

प्रदेश सरकार स्थापना भएदेखि कर्णाली सरकारको बजेट पूर्वाधारमा भन्दा सबैभन्दा बढी खर्च कृषि क्षेत्रमा भएको छ तर पनि उत्पादन बढ्नुको साटो निरन्तर घट्दै गएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise