डा. उद्धव पुरी
यस वर्षको अन्तिम समयतिर आइपुग्दा मसँग परिचित तीन जना अग्रजहरु आफ्नो कर्मभूमि वा भूलोक छोडेर जानुभयो । त्यसोत धेरै आफन्त र केही साथीभाइ पनि बित्नुभयो । उनीहरुसँगको सम्झना र सबैप्रति समवेदना त छँदैछ । तर माथि उल्लेख गरिएका अग्रजहरुसँगको परिचय र सहकार्यको बेग्लै महत्व र स्मरण छन् जुन अरुभन्दा भिन्न लाग्छ मलाई । मैले उहाँहरुको नाम लिदा उहाँहरुसँगको व्यक्तिगत अरु काहनी, राजनीति र कसैको अरु प्रसंगसँग मेरा कुरा जोडिँदैनन् । उहाँहरु मध्ये दुई जनासँगको मेरो परिचय लुम्बिनी, लुम्बिनी बौद्ध विश्वविद्यालय र गौतम बुद्ध र बुद्धधर्मसँग सम्बन्धित छन् भने अर्का एक जना हिन्दु धर्मका पण्डित बिगतमा मेरोघर परिवारसँग पनि सम्बन्धित छन् ।
गजेन्द्रकुमार लामा जो केही दिन अगाडि उपचारकै क्रममा भारतको नयाँ दिल्लीमा बित्नु भएको खबर सामाजिक सञ्जालमार्फत जानकारी भयो । केही महिना अगाडिसम्मको भेटमा उहाँको शारीरिक अवस्था त्यति कमजोर भएजस्तो लाग्दैन थियो र यो खालको अनुमान गरिएको पनि थिएन । तर जन्मनुको अर्थ मृत्युसँग जोडिएकोले र त्यो मानवजातिको बहसको कुराभन्दा बाहिरको भएकोले त्यहाँ कुनै विकल्प रहेन । मैले सोच्ने लौ यति नै रहेछ भन्नेमात्र हो । मलाई यस्ता विषयमा खासै बिलौना गरेर पनि केही हुँदैन भन्ने लाग्छ । यथार्थता हुँदाहुदै अरु नौटंकी गर्न मन पनि लाग्दैन । कति मानिसहरु मृत्यु अगाडि र पछाडिमा आकाश जमिन फरक हुन्छन् । उनीहरुका गतिविधि मलाई ज्यादै उराठ लाग्छ । जसमा कुनै प्रकृतिक स्वभाव र सद्कर्म र सद्कार्य भन्ने देख्दिन ।
तर समाज त्यसैमा रुमल्लिएको देख्दा र उनीहरु मर्दैनन् कि वा झुट दीर्ध हुँदैन भन्ने किन धेरैले नबुझेका होलान् । गजेन्द्रकुमार लामासँग मेरो भेट सन् १९९८ तिर भएको हो । त्यसबेला उहाँ लुम्बिनी विकास कोषको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस समयमा लुम्बिनमिा पहिलो अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन पनि हुँदै थियो । काठमाडौं र लुम्बिनीमा भएको पटक पटकको भेटले मैले उहाँलाई सकारात्मक सोच भएको निकै सरल र सहज सम्पर्कका व्यक्तिको रुपमा पाए । जसले गर्दा उहाँसँग लुम्बिनी, बौद्ध धर्म र बौद्ध सञ्चार, बौद्ध अध्ययन, अनुसन्धान र इतिहासका सम्बन्धमा कामहरु भइरहे । उहाँले कहिल्यै पनि असहयोग गरेको अनुभव भएन । काँग्रेसका नजिक भएपनि उहाँमा कसैमाथि राजनैतिक पूर्वाग्रह राख्ने आन्तरिक सोच पनि थिएन । उहाँ लुम्बिनीमा राजनीतिक नियुक्ति कै क्रममा पुगेको भएपनि त्यसको पछाडि बौद्धको विशेष योगदान छ । बौद्ध स्तुपाको सामुन्ने अति सम्पन्न परिवारमा जन्मेका बौद्धवासीका आलेमामा उर्फ गजेन्द्रकुमार लामाले धेरै सम्पत्ति बौद्ध र बौद्ध धर्मको विकासमा पनि सक्दै आउनु भएको थियो । उहाँ बौद्धवासीका लागि सधंै अमर रहनुहुन्छ । उहाँका केही राम्रा नराम्रा संगतहरुलाई छोडेर म एउटा प्रसंगमा म अलि बढी व्याख्या गर्न कोशिष गर्छु । उहाँको यस देशका धेरैजसो बिद्धान वर्ग र बौद्धधर्मका गुरुहरुसँग बिनापूर्वाग्रह राम्रो सम्बन्ध थियो । सबैलाई सम्मान दिन जान्नुहुथ्यो । अध्ययन र अनुसन्धान कार्यमा आफै संलग्न हुन नसके पनि त्यसलाई सघाउने र सहयोग समेत गर्ने उहाँको बानी थियो । कतिले उहाँसँग कति फाइदा लिए होलान् तर उहाँ त्यसलाई अन्यथा लिएर कहिल्यै कुरा काट्न चाहनु हुदैन थियो । यो उहाँको उदार र सहज सोचलाई मैले पूर्ण रुपमा व्यबहारमा उतार्न चाहेपनि सम्भव गराउन सकिरहेको छैन । लुम्बनीको कार्यकाल पछि पनि उहाँले कहिल्यै लुम्बिनीलाई आफ्नो कार्य र सोचमा आझेलमा पार्नु भएन ।
केही वर्षको अन्तराल पछि लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना भयो । उहाँलाई विश्वविद्यालयको कार्यकारीमा राखिएको थियो । अर्थात उहाँ विश्वविद्यालयको पहिलो कार्यकारी सदस्य पनि हुनुहन्थ्यो । विश्वविद्यालयको स्थपनाको ती जटिल दिनमा म पनि संलग्न भएकोले उहाँसँग धेरै वर्ष सहकार्य भए । जुन स्मरणमा ताजै रहनेछन् । त्यसबेलाको त्यो परिदृश्य नेताहरुको धुपौरे पदाधिकारीहरुलाई कथा जस्तो पनि लाग्दैन । किनभने उनीहरु इतिहासलाई सक्षी राखेर नभइ इतिहास नै मेटाएर अडाडि बढ्न सकिन्छ भन्ने गलत सोच हाबी छ । विश्वविद्यालयलाई अगाडि बढाउन उहाँले गर्नुभएको निःस्वर्थ सहयोग र सहकार्य महत्वपूर्ण छ । बौद्ध धर्ममा यसलाई सम्यक कर्म मानिन्छ । उहाँले गर्नुभएको थियो । यहाँ उहाँको एउटा अनौठो स्वभाव र बानीको बारेमा उल्लेख नगरी रहन सक्दिन । कसै कसैले त्यसलाई उहाँको कमजारीको रुपमा पनि लिएका छन् र कसै कसैले त्यसबाट आफ्नो स्वर्थसिद्ध पनि गरेका छन् । उहाँ आफूले मान्ने ठानेको गुरु वा विद्धानको मन दुखाउन चाहनु हुँदैन थियो र आफूलाई गलत भन्ने लागे पनि त्यसलाई मानिदिनु हुन्थ्यो र सही गरिदिनु हुन्थ्यो । उहाँले आत्मैदेखि आफूले गलत मनसायले नगरेको कारणले होला त्यसको गलत प्रतिफल यहाँले भोग्नु परेको देखिँदैन । अघिल्ला दिनहरुमा परिस्थितिका कारण संयोगले मात्र भेट हुन्थ्यो । बरु उहाँको बौद्ध दर्शन र इतिहासमा विद्यावारिधि गर्ने कार्य भने धेरै वर्षदेखिको थियो, जुन अधुरै रहयो । बौद्ध धर्मको एउटा मर्म छ कि बुद्ध वा बोधिसत्वमामात्र पूर्णता हुन्छ ।
बेखारत्न शाक्य धेरैले उहाँलाई राजनीतिक कार्यकर्ता वा नेताको रुपमा मात्र चिन्दछन् । पछिल्ला दिनहरुमा उहाँ नेपाली काग्रेससँग जोडिए पनि राजनीतिमा त्यसभन्दा पहिले पनि ललितपुरमा सबैले चिनेकै नाम हो । राजनीति र समाजसेवा सिद्धान्तगत रुपमा फरक पनि हो । तर सच्चा राजनीतिज्ञ भने सही अर्थमा समाजसेवी पनि हो । बेखारत्नलाई धेरैले त्यही रुपमा चिन्दछन् । तर मेरो उहाँसँगको चिनजानमा कुनै राजनैतिक गन्घ छैन । न मैले न उहाँले कहिल्यै पनि त्यस्तो अनुभव गरे जस्तो पनि लाग्दैन । उहाँले गरेका धेरै कुराहरु सच्चा मनदेखिनै आएको लाग्थ्यो र उहाँलाई सधाउन पनि कोसिस गर्थे । पाटनका शाक्यहरु आफूलाई बुद्धको सन्तान मान्दछन् । कपिलवस्तुमा शाक्यहरुको समुयिक बध भएपछि शाक्यहरुको भागाभाग भयो केही भारततर्फ लागे भने केही उपत्यका तिर आइपुगे । उपत्यमामा आएपछि नेवार संस्कृतिमा मिले । उनीहरुले पनि बौद्ध धर्मलाई वा पछिल्ला दिनहरुमा बज्रयानलाई जीवित राख्न योगदान गर्दै आएका छन् । थेरवाद भिक्षुहरु पनि बन्ने गर्दछन् केही शाक्यहरु । लुम्बिनीमा बस्नुहुने अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष समेत रहनु भएका भिक्षु मैत्रीय पनि बेदारत्नकै नाती पर्नुहुँदो रहेछ । करिव ८९ वर्षको उमेरमा निधन हुनुभएका उहाँलाई धेरैले बेखादाई भन्थ्ये । उहाँ सबैका सहयोगी र मिलनसार पनि हुनुहुन्थ्यो ।
पाटनमा उहाँलाई सभापति, मेयर आदिका कारण र बौद्ध धर्म एवं बौद्ध शिक्षाको अग्राणीताका लागि पनि चिन्दछन् । उहाँ नगरपालिका महासंघको पहिले अध्यक्ष पनि हुनु भयो । तर मसँगको चिनजान भने लुम्बिनी र बौद्ध शिक्षाको कारण भएको हो । यहाँनेर एउटा कुरा भन्नैपर्छ नेपालमा बौद्ध शिक्षा वा बौद्ध धर्म संकुचनमा परिराख्नुको एउटा कारण केही बौद्धमार्गी भन्नेहरुले आफूलाई जन्मेकै आधारमा बौद्ध विद्धान र ज्ञाता मान्दछन् र अरुलाई कहिल्यै अगाडि पर्न दिदैनन् । त्यो सोच उपत्यकामा धेरै छ । बेखारत्न बिलकुल त्यो भन्दा भिन्न थिए । उहा लुम्बिनीको विकास र नेपालमा बौद्ध शिक्षा फैलाउन आफ्नो ठाउबाट लागिरहेकै थिए । कसैको स्वर्थ नमिलेर उहाँले ती ठाउमा ठूलै पद नपाए पनि निरास भने हुनुहुन्नथ्यो । बोलाएको ठाउमा पुग्ने र आफ्नो योगदान उपलब्ध गराउन छोड्न हुन्नथ्यो । उहाँसँग आफ दी रेकर्डमा यस्ता कुराहरु धेरै हुन्थ्ये । उहाको जस्तै लुम्बिनी र नेपालमा बौद्ध शिक्षा फैलाउने चिन्तन र बिधिका अनुयायी कति छन् कुन्नी म जान्दिन ।
पण्डित कृष्णहरि सुवेदी मलाई धार्मिक शिक्षा दिएर प्रभावित गर्ने गुरु मध्येका गुरु हुनुहुन्छ ।जसका कारण पनि म यस क्षेत्रमा अलिबढी संलग्न भए । परिचय दिनेहरुले नेपाल सरकारको हालका सञ्चार सचिव मित्र दिपक सुवेदीका पिता पनि भन्दछन् । मेरालागि उहाँसँग बेग्लै परिचय छ । ९३ वर्षको उमेरमाकेही दिन अगाडिमात्र स्वर्गवास हुनुभएको उहाँ काठमाडौबाट चितवन बसाई सर्नुभएका कारण त्यति सहज भेट हुदैन थियो । पछिल्ला दिनहरुमा धेरै समय काठमाडौंमा नै बसे पनि अहिले पछुताउनु बाहेक केही बाकी रहेन । मेरो पिता माताले घरमा सप्ताह र नबाह माहायज्ञ आयोजना गर्दा उहाँनै पण्डितका रुपमा आउनु हुन्थ्यो । तीसैं वर्ष अगाडिको कुरा हुन् मैले मेरै घरमा उहाँको प्रवचन सुन्दा र उहाँको ती दिनहरुको व्यबहार देख्दा ज्ञान, ज्ञानी र अध्ययनको अर्थ बुझ्न पाए अनि सनातन धर्मको ममज्ञताको सामिप्य हुन पाए । पाप र धर्मको डर भन्दा ज्ञान र कर्म ठूलो रहेछ । जुन आफूले अनुसरण र अनुभव गर्ने विषय रहेछ । उहाँको धेरै प्रवचनहरु मसँग क्यासेटमा संग्रह छन् । म बेला बेलामा सुन्ने गर्छु । अहिले हल्ली खल्लीमा रहेका चन्दा उठाउने भाषणकर्ताहरु कथित पण्डित उहाँहरु जस्ताको अगाडि कुनै अर्थ राख्दैनन् । उनीहरु सनातन धर्मलाई अव्यवहारिक र असांस्कृतिक बनाउने धर्म नाश बाहक हुन् । जसले गृह धर्म नाश गराई पर धर्मको पोषण गरिरहेका छन् ।
केही दिनदेखि क्रमशः आफ्नै कालगतिले मृत्युवरण गरेका यी तीन अग्रजहरु नेपाली समाजमा सर्व परिचित हैनन् । किनभने उनीहरु त्यो परिचयका बाहक ने हैनन् । जुनसुकै धर्मले पनि कर्मलाई परिभाषित गरेको छ र सतकर्मलाई वा सम्यक कर्मलाई उत्तम ठानेको छ । यसको लागि ज्ञानको भूमिका रहन्छ । ज्ञान भएका मानिसहरु धार्मिक हुन्छन् । धर्म भनेको सकारात्मक चिन्तन र पुण्य कम हो यस्तो विशेषता सबैसँग हुदैन । उनीहरुमा त्यो थियो । त्यसैले उनीहरुलाई जसले चिन्दछ ऊ सधै नजिक रहन्छ र अनुयाी हुन्छ । अब यो अभाव भएको छ या राष्ट वा समाजलाई प्रगतिशील बनाउने र उन्नत समाज निमार्णको लागि क्षति पनि हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies