२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड

Nada
२०८१ पुष १७ गते ०६:३०
Shares
उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हासिल गर्दै गएको दाबी गरेका छन् । 
मंगलबार काठमाडौंमा आयोजित प्राधिकरणको २६औं वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक वर्ष २०८०/०८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको बताए ।

ncell

यसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख छ भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको विवरण प्रस्तुत गरेका छन् ।

उनले गत वर्ष पुँजीगततर्फ नेपाल सरकारको सहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको बताए । कार्य संचालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे । प्राधिकरणको गत आर्थिक वर्षको संचालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको उनले बताए ।

प्रगति विवरण प्रस्तुत गर्ने क्रममा महानिर्देशक अधिकारीले सन् २०२३ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४१ लाख ५४ हजार ३९३ रहेको बताए । सन् २०२३ का नोभेम्बरसम्ममा ४४ लाख ४९ हजार १३३ रहेको र गत वर्षको तुलनामा यात्रुको संख्यामा ७ दशमलव ०९ प्रतिशतले वृद्धि भएको उनको भनाइ थियो । 

यसैगरी आन्तरिक उडानतर्फ २०२३ नोभेम्बरसम्ममा कुल ७७ लाख हवाई यात्रुहरूले यात्रा गरेकामा २०२४ नोभेम्बरसम्म यो संख्या ८७ लाख ६० हजार ३०२ रहेको उनले सुनाए । गत वर्षको तुलनामा यात्रु संख्यामा आन्तरिकतर्फ १३ प्रतिशतले वृद्धि भएको उनले बताए । 

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपछि २८ मा झरेको पनि उक्त प्रगति विवरणमा उल्लेख गरिएको छ । 

नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ संचालन अनुमतिप्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको संख्या १९ रहेको जनाइएको छ, जसबाट कुल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा संजालमा जोडिएका विवरणमा उल्लेख छ । 

हेलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकोप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्रबाहेक) करिब ४ हजार ५०० वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकोप्टरको उद्धार, सिलिङ तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान संचालन भएको उनले बताए ।

सम्बन्धित खबर