रियाद : साउदी अरबस्थित तमु धी नेपाल प्रवास शाखा, क्षेत्रीय समिति रियादले तमु सप्र्ही ल्होसार २०८१ भव्य रूपमा मनाउने भएको छ ।
आगामी जनवरी ३, २०२५ (शुक्रबार) का दिन रियादको एक्सिट – १८ मा हुने कार्यक्रममा साउदी अरबका विभिन्न क्षेत्रबाट तमु तथा गैर–तमु समुदायलाई निमन्त्रणा गरिएको छ ।
बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा ल्होसारको शुभकामना आदान–प्रदान, तमु समुदायका विविध मौलिक रीतिरिवाज र परम्परालाई झल्काउने सांस्कृतिक नृत्य, चुट्का, कौडा, र झाँकी नाच जस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ ।
कार्यक्रमले साउदी अरबमा स्थापित सम्पूर्ण सामाजिक संघ–संस्था, विचारधारात्मक संस्था, प्रदेश, जिल्ला, र जातीय संस्थाका प्रमुख तथा सामाजिक अभियन्ता, दाजुभाइ, दिदीबहिनीहरूलाई एकै थलोमा ल्याउने विश्वास गरिएको छ । तमु धी साउदीका अध्यक्ष खेम तमुको नेतृत्वमा आयोजित यस कार्यक्रमले साउदीमा कार्यरत नेपाली समुदायबीच मित्रता, एकता, र सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।
कार्यक्रमले साउदी अरबमा नेपालीहरूको सांस्कृतिक विविधता झल्काउने महत्व राख्दछ । तमु धी नेपाल प्रवास शाखाको यो प्रयासले नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । तमु सप्र्ही ल्होसार २०८१ को उल्लासमय अवसरमा गरिमामय उपस्थिति जनाइ कार्यक्रम सफल बनाउन सबैलाई आह्वान गरिएको छ ।