काठमाडौं : नेपाली कांग्रेसमा विरासत बोकेका ३ शीर्ष नेताहरूले महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन् । १४औं महाधिवेशनमा एक ढिक्का रहने भनेका उनीहरू १५औं महाधिवेशन आउन १ वर्ष बाँकी रहँदा सोही सन्देश दिन फेरि छलफलमा जुटेका हुन् ।
पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र प्रकाशमान सिंह तथा पूर्वउपसभापति विमलेन्द्र निधिले बुधबार १५औं महाधिवेशन केन्द्रित छलफल गरेका हुन् ।
विरासत बोकेका नेताहरू भनेर चिनिने उनीहरूले बुधबार उपप्रधान तथा शहरी विकासमन्त्री सिंहको निवास चक्सीबारीमा छलफल भएको हो ।
उनीहरूलाई कांग्रेसमा ३ ‘युवराज’ भन्ने गरिन्छ । यी ३ नेताहरूले गत ८ असोजमा पनि छलफल गरेका थिए ।
उनीहरू तीनै जना कांग्रेसका संस्थापक नेताहरूका सन्तान हुन् । शशांक बीपी कोइराला, निधि महेन्द्रनारायण निधि र सिंह गणेशमान सिंहका छोरा हुन् । यीमध्ये विरासतको राजनीतिबाट उदाएका नेता शशांक हुन् ।
१४औं महाधिवेशनअघि एक ढिक्का रहने भन्दै आएका उनीहरू महाधिवेशनको मैदानमा छरिएका थिए । शशांक केन्द्रीय सदस्यमा उठेका थिए भने निधि र सिंह सभापतिमा भिडेका थिए ।
१४औं महाधिवेशनमा ‘आगामी दिनमा समान धारणा बनाएर सबैलाई समेट्दै अघि बढ्ने’ उनीहरूले सहमति गरे पनि उनीहरूको सहमति अन्तिममा भत्किएको थियो ।
१५औं महाधिवेशन आउन १ वर्ष बाँकी रहँदा नेता डा. शेखर र डा. शशांकले देशैभर अभियान सुरु गरिसकेका छन् । केही अघि शेखरले कोशी प्रदेशमा आफ्ना पक्षका नेता, कार्यकर्ताको भेला गरे भने पश्चिम क्षेत्रका नेता, कार्यकर्तालाई पनि भेटेर फर्किए । मंगलबार चितवनमा शशांकले महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताएका थिए ।
कांग्रेसको २०८२ को मंसिरमा १५औं राष्ट्रिय महाधिवेशन हुँदै छ । विधानतः हालका सभापति शेरबहादुर देउवा सभापति हुन नपाउने हुँदा नयाँ सभापतिको खोजी भइरहेको छ । निधि, सिंह र कोइराला तीनै जना पार्टीमा सभापतिका आकांक्षीका साथै देउवा निकटका नेता हुन् ।
१५औं महाधिवेशनमा एक ठाउँमा रहेर अघि बढ्ने विषयमा छलफल गरिरहेका उनीहरूको बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
यसअघि ८ असोजमा शशांक निवास महाराजगंजमा भएको ‘लन्च मिटिङ’मा १५औं महाधिवेशनमा एक भएर जाने, बैठक निरन्तर राख्ने र कार्यकर्ताको मत बुझ्न जिल्ला जाने र केन्द्रमा पनि अन्य नेताहरूसँग कुरा गरिरहने निष्कर्ष निकालिएको थियो ।
बुधबारको ‘लन्च मिटिङ’ पनि त्यसकै निरन्तरता हो । शशांक र सिंहको घरमा छलफल भएकाले अब छलफल गर्ने पालो निधिको घरमा सरेको छ ।
‘पार्टीमा देखिएका समस्या समाधान गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । पार्टीमा विचार मिल्ने नेताहरूलाई पनि जोडेर अघि बढ्ने विषयमा छलफल भएको हो’, सिंहका स्वकीय सचिव यू. पी. लामिछानेले भने ।
१५औं महाधिवेशनको तयारीका लागि प्रारम्भिक चरण क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सुरु भएको छ । केन्द्रीय समितिले १५औं महाधिवेशनको मिति तोकिसकेको छैन ।
२०७८ मंसिरमा १४औं महाधिवेशन भएकाले त्यसको ४ वर्षपछि २०८२ मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने हो ।
१५औं महाधिवेशनको आधारभूत तयारी मात्र सुरु भएका बेला कांग्रेसका नेताहरूलाई भने महाधिवेशन लागिसकेको छ । सिंह निवासमा भएको छलफलमा समसामयिक राजनीति र पार्टीको महाधिवेशन तयारी जस्ता विषयले प्रवेश पाएका छन् ।
निधि, सिंह र कोइराला सभापति शेरबहादुर देउवासँग निकट छन् । २०७८ मंसिरमा आफूसँगै सभापतिमा प्रतिस्पर्धा गरेका निधि र सिंहलाई देउवाले केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य मनोनीत गरे । सिंहलाई त सभापति देउवाले पार्टीकै नेतृत्व गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी गराएका छन् ।
निधि समानुपातिक सांसद हुन् भने सिंह र कोइरालाले प्रतिनिधिसभा सदस्यमा लगातार जित्दै आएका छन् ।
बुधबारको छलफलमा सरकारका कामकारबाही जनमुखी बन(ाउनेबारे पनि उनीहरूबीच कुराकानी भएको छ ।
निधि, सिंह र कोइरालाको मित्रता राम्रो भए पनि उनीहरू सबै १५औं महाधिवेशनमा सभापति पदका आकांक्षी छन् ।
सभापति देउवाले कसैलाई पनि भावी सभापतिमा अघि नसारेकाले देउवाको मन जित्नमा उनीहरू लागिपरेका छन् । सँगसँगै जमघटलाई बाक्लो बनाएर एकताको सन्देश पनि दिन खोजेका छन् ।
छलफलमा अब समान धारणा बनाएर अघि बढ्ने उनीहरूको गरेको सहमतिलाई आउने महाधिवेशनसम्म सकेसम्म सबैलाई समेटेर अघि बढ्ने रूपमा अथ्र्याइएको छ ।
‘हामीले पार्टीको आन्तरिक जीवनबारे लामो कुराकानी ग¥यौं, आगामी दिनमा समान धारणा बनाएर सबैलाई समेट्दै अघि बढ्ने नै हो’, शंशाक निकट एक नेताले भने ।