काठमाडौं : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले बर्तमान प्रतिकुलताका वावजूत आफ्नो पेशागत दायित्व निर्वाह गर्दै आएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गरेका छन् । अध्यक्ष आचार्यले सोमबार एक अपिलमार्फत विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु पुर्याउने महत्वपूर्ण दायित्व बहन गर्दै आएको भन्दै त्यस्ता पत्रकार र सञ्चारमाध्यमको प्रशंसा गरेका हुन् ।
उनले जस्तो सुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्य तथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको भन्दै संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रकि नेपाल पत्रकार महासंघको तर्फबाट हार्दिक आभार पनि प्रकट गरेका छन् ।
अपिलमा नेपालमा कोरोना संक्रमणको आर्को चरणको रुपमा ‘लोकल ट्रान्समिसन’को अवस्था देखिएको सरकारले जनाएको र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको उल्लेख गर्दै यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गंभिर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी रहेको उल्लेख गरिएको छ ।
अपिलमा अगाडि भनिएको छ, ‘ हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो बिषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै संचार माध्यमको काधमा छ । यो महत्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ । यो चुनौति र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीन वटै तहका सरकार, राज्यका सवै निकाय, सबै राजनीतिक दल, नागरिक संघ संस्था, पेशाकर्मी, व्यवसायीलगायत सबैमा महासंघ आह्वान गर्न चाहन्छ ।’
अपिलमा अध्यक्ष आचार्यले जोखिमको समयमा पत्रकार सुरक्षा र संचारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आबश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराउउंदै यो अबस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण , विमा, पत्रकारले प्रयोग गर्ने संचार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आबश्यक सामग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका बिषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको र जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेज मै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चार माध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न सरकारसँग आग्रह गरेका छन् ।
‘सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका बिद्यार्थीका लागि आबश्यक सामग्रीहरुको उत्पादन र प्रसारण गर्ने तर्फ योजना निर्माण गर्न पनि अत्याबश्यक देखिएको ‘ भन्दै अधक्ष्य आचार्यले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
अपिलमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ नेपालका सबै पत्रकारहरुको साझा संस्था हो । यो संस्थाको बिशिष्ट चरित्रलाई हामीले चुनौतिपूर्ण समयमा प्रदर्शित पनि गर्दै आएका छौं । जस्तो जुकै संकट र चुनौतिका बीचमा पनि नेपालको संविधानको प्रस्तावनामै रहेको पूर्ण प्रेस स्वतनत्रताको सम्मान र पालना हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । यो बेला पनि हामीले आफ्नो दायित्व र जिम्मेवारी निभाइरहँदा निगरानी र खबरदारी गर्ने हाम्रो भूमिकालाई पूरा गरिरहेका छौं । महासंघ स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि आबश्यक वातावरण निर्माण गर्न सरकारलगायत समाजका हरेक वर्ग र समुदायसँग अपिल गर्दछ ।‘
अध्यक्ष आचार्यले अपिलमा महासंघले विगतदेखि उठाउदै आएको बिभिन्न मुद्दाहरुप्रतिको लडाईं जारी रहेको , महासंघका सांगठनिक जीवनका केही महत्वपूर्ण दायित्व पनि निर्वाह गर्नु पर्ने, संसोधित बिधानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि पनि अझै धेरै काम गर्न बाँकी रहेको, महासंघको काम, कारवाही र नेतृत्वसँगका गुनासा, आलोचना वा अपेक्षाहरुलाई सधै स्वागत गर्दै आइरहेको, यस्ता सवालहरु निरन्तर रुपमा प्रकट भइरहने तथा उपर्युक्त समयमा निश्चित विधि र प्रक्रियाबाट त्यसलाई सम्बोधन गरिने परम्परा पनि रहेको उल्लेख गर्दै सबै सवालहरुलाई स्मरण र संस्थागत रुपमा संग्रहित गर्दै यो कोरोनाको भयावह अवस्थामा कोरोना संक्रमणको नियन्त्रणका लागि सिंगो सञ्चार क्षेत्र एकताबद्ध भई भूमिका खेल्न र आफ्नो सुरक्षामा विशेष सावधानी अपनाउन सबैमा अपिल गरेका छन् ।
पत्रकारिताको सबैभन्दा ठूलो क्षमताका रुपमा अफवाह नियन्त्रण गर्ने क्षमतालाई पनि लिने गरिएको र यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना सक्रमण भन्दा झनै ठूलो भयावह अबस्था सिर्जना गर्न सक्ने तर्फ इंगित गर्दै अध्यक्ष आचार्यले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवम् तथ्यमा आधारित समाचार सामग्री मात्र प्रवाह गरेर कोरोना बिरुद्धको लडाईंमा योगदान पुर्याउनका अपिल गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies