दोहा, कतार : ‘संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ’ भन्ने मूल नारा आत्मसात गर्दै विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले योग साधना कार्यक्रम गर्ने भएको छ । डा. योगी विकासानन्दको समुपस्थितमा आउँदो महिना अर्थात् फेब्रुअरी २१ तारिक दोहास्थित ओसिस बिच क्लबमा कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा विकासानन्दद्वारा ज्ञान योग, योग, ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने दोहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले प्रवासमा रहेका श्रमिकहरूमा बढ्दो तनाव, मानसिक समस्या तथा विभिन्न समस्याबाट मुक्तिका लागि साधना कार्यक्रम महत्त्वपूर्ण भएकाले धेरैभन्दा धेरै सहभागी हुने विश्वास व्यक्त गरिन् । साथै उनले विकासानन्दको आत्म जागरण प्रवचनले आत्म शक्ति बढ्ने पनि उल्लेख गरिन् ।
४३ वर्षदेखि काठमाडौंमा मनोक्रान्ति अभियान चलाइरहेका डा विकासानन्द विगत केही वर्षदेखि पोखरा २३ बराङलाई मुख्य केन्द्र बनाइ क्रियाशील छन् । प्रायोजन, सहयोग र सहभागी मध्यबाट प्राप्त दानबाट खर्च व्यवस्थापन गर्ने र रकम बचत हुन् आएमा फाउन्डेसन लाइ नै सहयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनको सञ्चालन रामजी खत्रीले गरेका थिए । सम्मेलनमा गैर आवासीय नेपाली संघका संस्थापक सदस्य एवम् पूर्वउपाध्यक्ष सागर नेपाल, अग्रज तथा सामाजिक व्यक्तित्व विमल सुवेदी, एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीलगायत आधा दर्जन पत्रकारको उपस्थिति रहेको थियो ।