काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या र उनीहरूलाई लाग्ने रोग निदानका लागि बेलाबेला स्वास्थ्य सहचारीको प्रसंग उठे पनि कार्यान्वयनमा पहल भएको छैन ।
डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा ५ वर्षको अन्तरालमा गठन भएका २ वटा कार्यदलले फिलिपिन्स र भारतको उदाहरण दिँदै विदेशमा नेपाली कामदारको बढ्दो स्वास्थ्य समस्या समाधानका लागि श्रम गन्तव्यमा श्रम सहचारी जस्तै स्वास्थ्य सहचारी पठाउन सिफारिस गरेको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार नेपाली कामदारको हित प्रवद्र्धनको जिम्मेवारी दिएर विदेशस्थित कूटनीतिक नियोगमा श्रम सहचारी पठाउने गरिएको छ । तर, अतिसंवेदनशील मानिने कामदारको स्वास्थ्य सुरक्षाका लागि कुनै प्रबन्ध गरिएको छैन ।
वैदेशिक रोजगार बोर्डले वीर अस्पतालका चिकित्सकहरू संलग्न गराई साप्ताहिक टेलिमेडिसिन सेवा संचालन गरेको बाहेक अन्य पहल भएको छैन । टेलिमेडिसिन सेवामार्फत चिकित्सकले रोगको लक्षणअनुसार औषधि सिफारिस गर्ने भए पनि बिरामी अवस्थामा रहेका कामदारले कार्यस्थलमा उपयुक्त औषधि पाउन कठिनाइ भएको बताइएको छ ।
स्वास्थ्य र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूले विदेशमा रहेका नेपाली कामदारहरू उपयुक्त समयमा उपचार नपाएर मृत्यु भएको देखिएको भन्दै ५ वर्षअघि नै स्वास्थ्य सहचारीको आवश्यकता परेको श्रम मन्त्रालयलाई प्रतिवेदन दिएका हुन् । श्रम मन्त्रालयले गठन गरेको पछिल्लो कार्यदलले पनि स्वास्थ काउन्सिलर पठाउन सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित कार्यदलले गत ११ मंसिरमा श्रममन्त्री शरत्सिंह भण्डारीलाई बुझाएको प्रतिवेदनमा स्वास्थ्य सहचारी राख्न दोहोर्याएर सुझाव दिइएको छ ।
प्रतिवेदनमा कामदारहरूमा देखिएको स्थानीय सम्पर्क भाषाको कमीका कारण सम्बन्धित देशकै स्वास्थ्य सहचारीको आवश्यकता औंल्याइएको छ । यसअघि कोरिया, मलेसिया र साउदी अरब जस्ता ठूलो संख्यामा नेपाली कामदार रहेका देशमा पहिलो चरणमा स्वास्थ्य सहचारी नियुक्त गरी त्यसपछि अन्यत्र विस्तार गर्न सुझाव दिइएको थियो ।
कार्यदलले कतारमा रहेको फिलिपिन्स र भारतीय दूतावासले छुट्टीको दिन र अन्य दिन पनि केही घण्टा दूतावासको कार्य समय बढाएर काम गरेको उदाहरण दिँदै नेपालका दूतावासहरूले राति ८–९ बजेसम्मलाई कार्य समय बढाउने र छुट्टीको दिन केही घण्टा वा आधा दिन कामदारको स्वास्थ्य समस्या समाधानका लागि काम गर्नु आवश्यक रहेको प्रतिवेदनमा औंल्याएको छ ।
प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेका कामदारहरूमा सुतेको सुत्यै मृत्यु (स्लिपिङ डेथ), क्लिनरको रोजगारीमा गएका महिला कामदारहरूमा पाठेघरसम्बन्धी समस्या, ग्यास प्लान्टमा काम गर्ने कामदारहरूमा नपुंसकता, इनडोरमा काम गर्नेलाई सुगर, निर्माण क्षेत्रमा काम गर्नेलाई हिट स्ट्रेस र स्लिङ डेथको समस्या देखापरेको उल्लेख छ ।
यसका अतिरिक्त खाडी मुलुकमा काम गर्ने कामदारले पानी नपिउने, लामो समय पिसाब रोक्ने, एकै ठाउँमा धेरै जना बस्ने, काम गर्ने र रात बिताउने ठाउँको तापक्रम असन्तुलन हुने जस्ता घटनाले मिर्गौलाले युवा अवस्थामा नै काम गर्न छाड्ने खराबी देखिएको पनि प्रतिवेदनमा औंल्याइएको छ । यी समस्या न्यूनीकरण गर्न स्वास्थ्य सहचारी उपयुुक्त हुने प्रतिवेदनको जिकिर छ ।
हालसम्म औपचारिक माध्यम अर्थात् श्रम स्वीकृति लिएर ७४ लाख नेपाली वैदेशिक रोजगारीमा गएका तथ्यांक छ । वैदेशिक रोजगार बोर्डले बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/०६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार २१३ जनाको मृत्यु भएको जनाएको छ ।