काठमाडौं : गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेश सरकारबीच सम्झौता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा शुक्रबार एक कार्यक्रमबीच कोइका र गण्डकी सरकारबीच सहयोग सम्झौता भएको हो । सम्झौतापत्रमा गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका निर्देशक मुहेओन कङले हस्ताक्षर गरेका छन् ।
कोइकाले शिक्षालय निर्माण परियोजनाका लागि नौ मिलियन अमेरिकी डलर अर्थात् एक अर्ब २३ करोड रुपैयाँ सहयोग गर्नेछ । साथै, प्राविधिक संस्थान भवन निर्माण, अल्पकालीन तालीम, संस्थानको सञ्चालन योजना, करिअर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजना विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्नेछ ।
सम्झौतामा हस्ताक्षर गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्यूट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाका लागि कोइकाले आर्थिक सहयोग गरेकामा खुशी व्यक्त गर्दै समयभित्र नै परियोजना पूरा हुने बताए ।
मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै परियोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे ।
कोइकाका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।