२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

‘चलनचल्तीको भाषालाई छिट्टै सरकारी कामकाजको भाषा बनाउँछौं’

himalayanlife
२०८१ पुष १९ गते २०:४८
Shares
‘चलनचल्तीको भाषालाई छिट्टै सरकारी कामकाजको भाषा बनाउँछौं’

भालुवाङ : दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए । ‘प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या छ, त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको छ । निजामती सेवामा प्रवेश गर्नुहोस्’ उनले भने, ‘प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं । थारु समुदायको प्रतिनिधित्वलाइ राज्यले सम्बोधन गरेको छ । युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिका लागि अघि बढ्न जरुरी छ ।’

मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारु लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउने गरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजको भाषाको रुपमा सम्बोधन गर्छाै’ उनले भने, ‘थारु समुदायको कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धिसँग जोड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकोको छ ।’ थारु समुदायको कला, संस्कृतिको प्रवद्र्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए  ।

थारु कल्याणकारीणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव माघ सांस्कृतिक महोत्सव आयोजना गरेको हो । पुसको २० गतेसम्म महोत्सव चल्नेछ । 

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।

आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्रो अभियान, सामाजिक न्यायसहित समृद्धिमा हाम्रो योगदान भन्ने मुख्य नारासहित माघ महोत्सव आयोजना गरिएको छ ।

थारु कल्याणकारी सभा दाङका सभापति अशोक कुमार चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मतहवा महासंघका चन्द्रप्रकाश चौधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चौधरी लगायतले सम्बोधन गरेका थिए ।

थारु कल्याणकारीणी सभाले विभिन्न माग राख्दै १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउनुपर्ने, थारु समुदायको मतहवा परम्परालाई कानुनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।

ताजा खबर

सम्बन्धित खबर