बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–११, टाउतोलामा रहेको नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पढाइ गर्न बाध्य छन् । १६ असोज, २०८० मा आएको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरू त्रासमा अध्ययन गर्नुपरेको छ ।
विद्यालयका प्रधानाध्यापक बउकास शाहीका अनुसार ६३ जना विद्यार्थी रहेको यो विद्यालयमा भूकम्पका कारण चर्किएको भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता छ । उनले स्थानीय सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र रोकायाले विद्यालय भवन पुनर्निर्माणका लागि वडा, नगरपालिका र प्रदेश सरकारसँग अनुरोध गरेपनि अहिलेसम्म कुनै पहल नभएको बताए । उनका अनुसार चर्किएको भवनमा पठनपाठन गराउँदा विद्यार्थीहरू जोखिममा परेका छन् ।
कक्षा २ मा अध्ययनरत छात्र उत्सव रोकायाले भने, ‘हामी डराउँदै पढिरहेका छौँ । विद्यालयको भवन कतिबेला भत्किएला भन्ने डरले ध्यान पढाइमा जाँदैन ।’ स्थानीय अभिभावकहरूले पनि विद्यालयको पुनर्निर्माणका लागि पहल गर्न सरकारसँग अपिल गरेका छन् । यस समस्याले विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको स्थानीय राम सार्कीले बताए ।
वडाको बजेटले भवन निर्माण गर्न नसकिने भएकाले असार मसान्तसम्म मर्मत, सम्हार गर्ने भनेर योजना बनाएको जयपृथ्वी नगरपालिका–११का वडाध्यक्ष सर्जन थापाले बताए ।