२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

संघर्षशील मीना

ADV
अस्मिता बम
२०८१ पुष २० गते ०६:४५
संघर्षशील मीना

काठमाडौं : धुलिखेल चोकमा बतासेका लागि लस्करै रोकिएका १० वटा अटो । बतासेतिरबाटै आएर त्यही लाइनको अन्तिममा उभिन्छ अर्को एउटा अटो । अटोमा चढेका यात्रुले फटाफट आफ्नो भाडा दिन थाल्छन् । भाडा उठाएर अटोको पछाडि राखिएको एउटा बोरा झिक्दै बाटोको छेउमा राख्छिन् एक महिला, जो चालक हुन् सोही अटोकी । 

बतासेका लागि चल्ने १५ वटा अटोमध्येमा महिला चालक ती महिला मात्र हुन्, जसको नाम हो– मीना बम सिंह । सुदूरपश्चिमको बझाङ घर भएकी मीना ३ महिना अघिदेखि उकालो, ओरालो, कहीँ कच्ची त कहीँ पक्की भएको बतासेदेखि धुलिखेल चोकसम्मको बाटोमा अटोे हाँकिरहेकी छन् ।

उनी हप्तामा ६ दिन अटो चलाउँछिन् । २ सन्तानकी आमा उनी शनिबार भने अटोलाई आराम दिन्छिन् । आफूलाई भने शनिबार पनि भ्याई नभ्याई हुने उनी बताउँछिन् । ‘खेती छ, शनिबार छोरा–छोरीले घरधन्दा गर्न सघाउँछन् । मेरो त त्यो दिन खेतबारीको काममै समय बित्छ’, उनले भनिन् । 

मौसमअनुसारको तरकारी खेती गर्न बतासेमै ७ रोपनी जग्गा भाडामा लिएको मीनाले सुनाइन् । सोही तरकारीलाई बजारसम्म पुर्‍याउन सहज होस् भन्ने हेतुले उनले अटो किनेकी हुन् ।

‘तरकारी फलायो, बजारसम्म पुर्‍याउन तरकारीको मूल्यभन्दा बढी भाडा उठ्ने । त्योभन्दा त आफ्नै साधन भए तरकारी लैजान पनि सजिलो हुन्छ भनेर दसैंताका अटो लिएकी थिएँ । अहिले त प्यासेन्जर नि बोक्छु’, मीना मुस्कुराइन् । 

माइती घर बैतडीको पुर्चौडी भएकी मीना ८ जना दिदीभाइमध्येकी तेस्रो सन्तान हुन् । आर्थिक स्थिति त्यति बलियो नभएका कारण उनले कक्षा ३ सम्म मात्र पढेकी थिइन् । २० वर्षकी हुँदा बझाङका हिक्मत सिंहसँग उनको लगनगाँठो बाँधिएको थियो ।

श्रीमान् भारतमा मजदुरी गर्थे । विवाहपछि १५ दिन मात्र घरमा बसेर उनी श्रीमान्सँगै भारतको सिमला लागिन् । उनका श्रीमान्ले ६ वर्षदेखि सोही ठाउँमा एउटा साहुको घरमा काम गर्थे, बिनापारिश्रमिक । उनीहरूलाई खान र बस्न मात्र सुविधा थियो ।

त्यसै समयमा आफू २ जीउकी भएको कुरा उनले सुनाइन् । छोरी ३ महिनाकी भइसकेपछि भने उनलाई त्यहाँ बस्न मन लागेन । करिब १ वर्षको सिमलाको बसाइपछि रित्तो हात उनीहरू नेपाल फर्किन बाध्य भए । 

नेपाल आएर खाली बस्न मन भने दुवै जनालाई थिएन । बझाङ गएर घरधन्दा मात्र गरेर पनि सन्तानलाई हुर्काउन सकिन्छ जस्तो नलागेर उनीहरू काठमाडौं आए । जमिन भाडामै लिएर थानकोटमा तरकारी खेती गरेको पनि मीनालाई अस्ति जस्तै लाग्छ । त्यहाँ ८ महिनाजति तरकारी खेती गरेपछि बतासेमा स्थायी रूपमै बस्दै आइरहेकी उनकी आमाजूले त्यहीँ आएर बस्न सुझाइन् । त्यसपछि उनीहरू बतासे पुगे । 

बतासे पुगेपछि सुन्तला बारी, करेसा बारी र एउटा घर उनीहरूको जिम्मा लगाएर मीनाकी आमाजू अन्तै सरिन् । नयाँ ठाउँ, नयाँ परिवेश मात्र नभएर उनका लागि भाषासमेत नयाँ थियो । डोटेली भाषा बोलेरै हुर्केकी मीनाले १ वर्षको भारतको बसाइमा अलिअलि हिन्दी बोल्न सिकेकी थिइन् । नेपाली सुनिरहेको भए पनि उनलाई प्रस्ट बोल्न आउँदैनथ्यो तर पनि उनले त्यतैको समाजअनुसार आफूलाई ढाल्ने प्रयास गरिन् । 

‘श्रीमान्–श्रीमती मिलेर सिजनमा सुन्तला बेच्थ्यौं, कुखुरा, बाख्रा पालन पनि गर्‍यौं, गाई पालेर दूध पनि बेच्यौं । साधन आउने–जाने बाटोसमेत थिएन त्यो बेला । तरकारी डोकोमै बोकेर गाउँ-गाउँ बेच्न जान्थ्यौं’, मीनाले १० वर्षअघिको संघर्ष सुनाइन् । 

फरक परिवेशबाटै आएका कारण गाउँघरकाले नटेरेका हुन् कि जस्तो पनि लाग्थ्यो उनलाई । भन्छिन्, ‘कताकताबाट आएर बसेका छन् । यिनीहरूले के गर्न सक्लान् ? यताको कामै गर्न सक्दिन यसले भन्थे तर पनि हिम्मत हारिनँ ।’

बतासेको १ वर्षको बसाइपसछि दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएको मीनाले सुनाइन् । अब २ जना सन्तानलाई हुर्काउनका लागि भए पनि थप मिहिनेत गर्नुपर्छ भन्ने सोचले ७ रोपनी जग्गा भाडामा लिएको उनको भनाइ छ । 

सोही जग्गामा श्रीमान्को आडमा तरकारी फलाउँदै, बेच्दै जसोतसो घर व्यवहार धानिरहेकी मीनाले ३ वर्षअघि दुःखको भुमरीमा आफू परेको बताइन् । ‘दुवै जना मिलेर गरिरहेकै थियौं । ठीकै भइरहेको थियो तर श्रीमान् कति बेला डिप्रेसनको सिकार हुनुभएछ, थाहै भएन’, दुःख पोखिन् उनले । सिमलामा ६ वर्षसम्म काम गरेर पारिश्रमिक नपाएको तनावले हिक्मतलाई डिप्रेसनको सिकार बनाएको मीनाको भनाइ छ । 

‘पहिला पनि साहुले दे’को थे’न । म ग’को बेला हात जोडेर पनि माग्यौं, दिएन । यतै आएर बस भन्ने तर पैसा नदिने । छोरी बिरामी छ, उपचार खर्च छैन भन्दा पनि दिएन । त्यै कारणले डिप्रेसनमा जानुभयो । अस्पतालमा जाँच गर्दा केही नदेखिने । अवस्था गम्भीर भा’थ्यो । १ महिना आईसीयूमा राखेको, बचाउन सकिएन । अलिअलि जोडेको कुरा पनि रित्तियो’, उनले गहभरी आँसु बनाइन् ।

यसपछि आफू नै डिप्रेसनमा जाने अवस्थासमेत आएको मीनाको भनाइ छ । तर, एउटी आमा भइरहँदा सन्तानका खातिर आफूलाई व्यस्त राखेर त्यो पीडालाई दबाउन सकिने रहेछ भन्ने कुरा पनि त्यो समयमा उनले बुझिन् ।

सँगैसँगै माइतीघरबाट भाइ आएका कारण आफ्नो चोटमा मह्लम लागेको महसुस पनि उनलाई भएको थियो । ‘कामको भारी पिठ्युँमा, खेती, घर धन्दा, एकछिन हात खाली हुन्थेन । लगत्तै विदेश जान्छु भनेर भाइ आयो अनि मलाई आँट पनि आयो– सक्छु जे गर्न नि भन्ने’, मीनाको मलिन अनुहारमा मुस्कुराहट छायो । 

त्यसको १ वर्षपछि धुलिखेल नगरपालिकाले महिला परिषद्को सहयोगमा दिएको १ महिने आधारभूत ड्राइभिङ तालिम लिएको उनले बताइन् । यसैबीच साना किसान तथा ऋण सहकारी संस्थाबाट २ लाख रुपैयाँ ऋण लिइन् र भाइले विदेश जान भनी राखेको पैसा जोडेर एउटा टेम्पो किनेको उनले सुनाइन् । 

आफूले तालिम लिएको भए पनि तत्कालै नचलाएको र त्यो टेम्पो भाइले चलाएको उनले बताइन् । यसपछि फलाएको तरकारीलाई बजार पुर्‍याउन पनि सहज भएको उनको भनाइ छ । 

भाइले बिस्तारै टेम्पोकै कमाइले सहकारीको ऋण चुक्ता गरेको र विदेशको सपना त्यागेर आफैंसँग बस्दै आएको मीनाले सुनाइन् । भाइले राम्रै गरिरहेको भए पनि सधैं उसकै भर परेर नहुने सोचले ३ महिनाअघि आफ्नै लागि मीनाले अटो किनेकी हुन् ।

पहिला तरकारीवाली, सुन्तलावाली, दूधवाली भनेर चिनिने मीना अहिले ‘अटोवाली’को नामले बतासेमा चिनिइरहेकी छन् । पहिले यसले केही गर्न सक्दिन भन्नेहरूले पनि अहिले उनको हिम्मत र मिहिनेतको तारिफ गर्ने गरेका छन् । 

जुनसुकै परिस्थितिमा पनि कमजोर नबनी काम गरिरहे परिश्रमको फल पाइने उनको विश्वास छ । खेतीसँगै अटो हाँकिरहेकी उनले छोरीलाई कक्षा ६ र छोरालाई कक्षा ५ पढाइरहेकी छन् ।

अहिले पनि आमाजूकै घरमा बसिरहे पनि बतासेमै एउटा घडेरी जोडिसकेको मीनाले बताइन् । आगामी दिनमा थप मिहिनेत गरेर भाडाको जग्गाको साटो आफ्नै जमिन किनेर एउटा कुशल व्यवसायी बन्ने उनको सपना छ ।

ADVADV

सम्बन्धित खबर

Advertise