दोहा, कतार : रविदास समाज सेवा कतारको प्रथम अधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ । सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा विविध सांस्कृतिक कार्यक्रम, अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदानसहित सम्पन्न अधिवेशनको बन्द सत्रबाट समाजका अध्यक्ष लालबाबु राम पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।
कार्यसमितिका पदाधिकारीहरूमा उपाध्यक्ष पदमा विनय महरा, महासचिवमा प्रमोद कुमार महरा, सचिवमा रमानान्द राम, सहसचिवमा दुखी राम, कोषाध्यक्षमा लक्ष्मी राम, सहकोषाध्यक्षमा सोमन महरा चयन भएका छन् । कार्यकारी सदस्यहरूमा महेश कुमार महरा, शत्रुधन महरा, पवित्र महरा, श्रीचन महरा, रामएकवाल महरा रहेका छन् । त्यस्तै समितिको संरक्षकमा रामएकवाल राम, प्रमुख सल्लाहकारमा दीपेन्द्र कुमार महरा, सल्लाहकारहरूमा क्रमशः किर्ते महरा, चन्द्रदिप महरा र रामउदगार राम रहेका छन् ।
अधिवेशनको खुला सत्र लालबाबु रामको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अधिवेशनमा बोल्दै प्रमुख अतिथि भट्टले कतारमा नयाँ सामुदायिक संस्था थपिएको बताउँदै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना ज्ञापन गर्दै एनसीसीसँग सहकार्य गर्नका लागि आह्वानसमेत गरेका थिए ।
अधिवेशनमा राम जनम मण्डल, जितेन्द्र पासवान र सन्तोष विश्वकर्माको समूहले स्वागत गीत प्रस्तुत गरेको थियो । कलाकारहरू मनीष कुमार गोस्वामी, ऋतु श्रेष्ठ, लक्ष्मी कार्की, लक्ष्मी गिरी, पन्जाबी गायक महेन्द्रलेसमेत सांगीतीक प्रस्तुति दिएका थिए । अनिल विश्वकर्माले विभिन्न हास्य कलाकारहरूको आवाज निकाल्दै मनोरञ्जन प्रदान गरेका थिए । अधिवेशनमार्फत पत्रकार, कलाकार सामाजिक व्यक्तित्वसहित प्रमुख अतिथिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक, साहित्यिक, संघ संस्थाहरूका प्रमुख, प्रतिनिधिहरूसहित समाजका अग्रज तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले दलित समुदायबाट उठेर जातीय विभेदलाई चिर्न सन्त बनेर रविदास जस्तो गरिमामय नाम र सम्मान आर्जन गरेको व्यक्तिको ज्ञानलाई कतारमा समेत अनुसरण गरेकोप्रति प्रशंसा गरे । उनीहरूले रविदासको मुक्तकण्ठले प्रशंसा गर्दै तराईका दलित भनिने रामहरूको समाजमा भएको उपस्थितिलाई सकारात्मक रूपमा लिन आग्रह गरेका थिए । समाजका सचिव राम एकवाल रामले सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन सभाध्यक्ष लालबाबुले गरेका थिए ।