२०८१ पुष २३ गते मङ्गलवार / Jan 07 , 2025 , Tuesday
२०८१ पुष २३ गते मङ्गलवार
Ads

कतारमा मनाइयो तमु ल्होसार

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष २० गते २०:५८
कतारमा मनाइयो तमु ल्होसार

दोहा, कतार : कतारमा रहेका तमुहरूले आफ्नो महान् पर्व ‘तमु सप्र्ही ल्हो–ल्होसार’ गिद्ध (गरुड) वर्षलाई विदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मनाए । करिब हजारको संख्यामा उपस्थित तमु तथा अन्य नेपालीहरूमाझ शुक्रबार आइडियल इन्डियन स्कुलको सभा हलमा ल्होसार मनाइएको हो । गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएका थिए । मध्याह्नबाट सुरु भएको कार्यक्रमको रौनक रातको ८ बजेसम्म चलिरह्यो ।

तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रविण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तमु संस्कार अनुसार क्रेगी र भाङराद्वारा कार्यक्रमका सभाध्यक्ष र प्रमुख अतिथिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट आएका हास्य कलाकार तथा जादुगर शेरबहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङले धमाका मच्चाए । गायिका गुरुङले कतारसम्म आउने वातावरण मिलाइदिएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै दुई चरणमा ‘खो पाते खो’, ‘सालैजो हावा सरर’, ‘कौडा’, ‘को पाते गोर्खाको डाडैमा ङोल्स्यो राम्रानी’, ‘लाँकुरी बोटैमा’लगायताका गीतहरूले भरपुर मनोरञ्जन दिलाइन् । नेपालबाट आमन्त्रित अर्का जादुगर शेर बहादुरले आफ्नो जादुको कला देखाउँदा प्रांगणमा रहेका दर्शक तथा कार्यक्रमका पाहुनागणहरू दंग परेर हेरिरहेका थिए । उनले जादुसँगै पेस गरेका नृत्यले अतिरिक्त मनोरञ्जन प्रदान गरेको थियो ।

तमु सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो । आदिवासी जनजाति महासंघमा आबद्ध मातृ संस्थाहरूसहित पाल्पाली सेवा समाज कतारले चलिआएको रीतिरिवाज तथा संस्कृतिको समेत जगेर्ना गर्ने बताउँदै आयोजक तमु गुरुङ समाज कतार परिवारलाई सामूहिक रूपमा कोसेली प्रदान गरेका थिए । तमु समाजसँग आबद्ध रहेर विभिन्न समयमा विशेष सहयोग गर्ने विशिष्ट व्यक्तित्वहरू क्रान्ति सिंह, विमल सुवेदी, माया केसी, रमेश भट्ट, कमलमणि गुरागाईंलाई भांग्राद्वारा सम्मान गरी मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि गुरुङले तमुहरू एक भएर अगाडि बढ्ने हो भने समुदायभरिकै उत्कृष्ट समुदाय बन्न सक्ने बताए । गुरुङले आफू कतार प्रवेश गरेको समयलाई स्मरण गर्दै कतारमा रहेका दुई तमु संस्थाले अलग–अलग तरिकाले ल्होसार मनाउँदै जाने हो भने समाज भाँडिने र दोहाको समाजले हेर्ने दृष्टिकोण नै फरक हुने विचार व्यक्त गर्दै एकताको विकल्प नरहेको बताए ।

समाजका महासचिव डिजन गुरुङले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष टौमाया गुरुङले विगत तीन महिनादेखि कार्यक्रमको तयारीका साथै प्रचारप्रसार गर्दै आइरहेता पनि विभिन्न बाधा अवरोध गर्दै कार्यक्रम जुधाउनेप्रति रुष्ट देखिइन् । एउटै समुदायले एकै चाड अलग–अलग स्थानमा मनाउँदै गर्दा एउटा चुल्होको भान्सा दुई तिर छुट्टिएको र यसले आफूलाई दुखी बनाएको बताइन् । उनले दुई वटा संस्थाहरू एकै मालामा बाँधिएर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताइन् । उनले ल्होसार कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन् । त्यस्तै हरेक वर्ष छेलो फाल्ने प्रतियोगितामा विजयी हुने तमुलाई म्रु (राजा) छान्ने प्रचलनअनुसार यस वर्षको राजाका रूपमा हर्क गुरुङ (लमजुङ) छानिएका छन् ।

संस्थाको महिला विभागकी संयोजक शिला गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तेज तमुले संस्थागत तथा सप्र्ही ल्होसारका बारेमा प्रष्टाएका थिए । कार्यक्रममा कलाकारहरू रोजिना गुरुङ, पुष्पा गुरुङ, सोनी आले मगर, मौसमी गुरुङ, संगीता गुरुङ, तिलमाया गुरुङ, विशाल गुरुङ, विमल गुरुङ, टिकाराज गुरुङ, सरला तामाङ, रुस्तम तामाङ, गोविन्द गुरुङ, निरु श्रेष्ठलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको प्रांगणलाई तोरण, बेलुन र मालाले झकिझकाउ बनाइएको थियो । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । तामाङ, शेर्पा र अन्य हिमाली समुदायले पनि ल्होसार पर्वलाई फरक स्वरूपमा भव्य रूपमा मनाउँछन् । तर उनीहरूले मनाउने ल्होसारको समय भने फरक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise