२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

युद्धपछि इजरायलको निर्माण क्षेत्रमा भारतीय कामदार भरिभराउ, नेपाल बेखबर

shivam cement
२०८१ पुष २१ गते ०६:२५
युद्धपछि इजरायलको निर्माण क्षेत्रमा भारतीय कामदार भरिभराउ, नेपाल बेखबर

इजरायल : इजरायलमा युद्ध रोकिएपछि ठूलाठूला आवास निर्माण र पूनर्निर्माणको कामले तीव्रता पाएको छ । इजरायलमा हमासका लडाकुको आक्रमणपूर्व अर्थात् ७ अक्टोबर २०२३ अघि निर्माण क्षेत्रमा प्यालेस्टिनीहरूको दबदबा थियो । हाल प्यालेस्टिनीहरू प्रतिबन्धित छन् ।

अन्तर्राष्ट्रिय संचार संस्था एपीएफका अनुसार तीव्र गतिमा इजरायलमा भइरहेको निर्माण क्षेत्रको काममा अहिले भारतीय कामदारहरूको दबदबा बढेको छ । हजारौं प्यालेस्टिनी निर्माण मजदुरहरूले छाडेको रिक्ततालाई भारतीय कामदारहरूले पूरा गरिरहेका छन् ।

भारत अमेरिका, चीन, जापान र जर्मनीपछि पाँचौं ठूलो अर्थतन्त्रको हैसियतमा छ । तर, उसले आकर्षक कमाइ हुने इजरायलमा उच्च प्राथमिकताका साथ निर्माण मजदुर पठाउने बताएको छ । इजरायलमा भारतीय निर्माण मजदुरले न्यूनतम मासिक तलब १ लाख २३ हजार भारतीय रुपैयाँ पाउने गरेका छन् ।

गाजापट्टीमा इजरायल र लडाकु समूह हमासबीच फाट्टफुट्ट युद्ध जारी छ । उता, लेबनानमा हिजबुल्लाह र इरान समर्थित समूहहरूबाट पनि आक्रमण भइरहेका छन् तर यीमध्ये कुनैले पनि आफूहरूलाई इजरायल आउनबाट रोक्न नसकेका ३५ वर्षीय उतिम निसाद बताउँछन् । उनले भने, ‘यहाँ डराउनुपर्ने कुनै कुरा छैन, साइरन बजेपछि सुरक्षित स्थानमा जान्छौं, साइरन  बन्द भएपछि हामी तुरुन्तै आफ्नो काम सुरु गर्छौं ।’

युद्धपछि भारतबाट करिब १६ हजार कामदार इजरायल पुगेका छन् । इजरायलले थप हजारौं भारतीय ल्याउने योजना बनाएको छ । भारतीयहरू दशकौंदेखि इजरायलमा वृद्धवृद्धाको हेरचाहको काममा छन् । केही हीरा व्यापारीहरू र केही प्रविधिको क्षेत्रमा पनि काम गरिरहेका छन् ।

तर, गाजामा युद्ध बढेपछि इजरायलको निर्माण क्षेत्रमा भारतीयहरू लैजाने अभियान नै चलेको छ । नयाँ दिल्लीस्थित म्यानपावर कम्पनी डायनामिक स्टाफिङ सर्भिसका अध्यक्ष समीर खोसलाले तत्कालै थप १० हजार भारतीय कामदार पठाउने योजना बनाएका छन् । भारतले सबैभन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशबाट निर्माण मजदुर पठाएको छ ।

हमासले आक्रमण गर्नुअघि करिब ८० हजार प्यालेस्टिनीहरू निर्माणमा कार्यरत थिए । इजरायलको केन्द्रीय बैंकका इयाल अर्गोभले हाल करिब ३० हजार विदेशीले रोजगारी पाएकाले अघिल्लो अवस्थामा फर्किन थप कामदार ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाल इजरायललाई स्वतन्त्र मुलुकको मान्यता दिने थोरै मुलुकमध्ये पर्छ । तर, छिमेकी भारत उत्तर प्रदेशका हजारौं निर्माण मजदुर इजरायलको आकर्षक तलबसहितको रोजगारीमा पुग्दा नेपाल भने किनाराको रमिते जस्तो बनेर बसेको कतिपयको टिप्पणी छ ।

इजरायलको केयरगिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा १ हजार १५६ महिला र ९५६ पुरुष छन् । तीमध्ये पहिलो चरणमा १ हजार जना र बाँकी दोस्रो चरणमा लैजाने बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाललाई कामदारको स्रोत मुलुकका रूपमा राख्न इजरायलसँग आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise