रौतहट : रौतहटमा गएराती तीनवटा घरमा लाखौंको धनमाल चोरी भएको छ । जिल्लाको माधवनारायण नगरपालिका -६ माधोपुरमा राती सुरुङ खनेर स्थानीय जगरनाथ राय यादव, राम बाबु राय यादव र नेमिलाल रायको घरमा चोरी भएको हो ।
शनिवार राती करिब पौने १२ बजे सुरुङ खनी नगद, गरगहना, लत्ताकपडा गरी ५ लाख भन्दा बढीको समान चोरी भएको स्थानीयले बताएका छन् । तराई मधेशमा यति बेला लागिरहेको बाक्लो हुस्सुको मौका छोपेर चोरको समूहले घरमा चोरी गरेका हुन् ।
स्थानीय जगरनाथ रायको घरबाट १ लाख नगद, लाखौंको गरगहना र पेटीमा राखिएको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ । त्यसैगरी नमिलाल राय यादवको घरबाट ३० हजार नगद, लत्ताकपडा र लाखौं बराबरको सुन तथा चाँदीको गहना चोरेका छन् ।चोरको समूहले तीनवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरू चोरेर लगेको पीडितहरूले बताएका छन् ।
एकदशक अघि घरमा सुरुङ खनेर बढी चोरी हुने गर्थ्यो । अहिले पुनः पुरानै विधि र शैली अपनाएर अहिले फेरि सुरुङ खनेर चोरी हुन थालेको स्थानीय बताउँछन् । घटनाबारे आवश्यक अनुसन्धान तथा चोरी गर्ने समूहको खोजी भईरहेको रौतहट प्रहरीले जनाएको छ ।