२०८२ चैत १४ गते शनिवार / Mar 28 , 2026 , Saturday
२०८२ चैत १४ गते शनिवार
Ads

हुलाक सेवाको पुन: संरचनामा सचिव अर्यालको जोड

himalayanlife
२०८१ पुष २१ गते १५:५५
Shares
हुलाक सेवाको पुन: संरचनामा सचिव अर्यालको जोड

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताएकी छन् ।

उपत्यकाव्यापी अन्तर-सामुदायिक विद्यालय स्तरीय वादविवाद प्रतियोगिताको आज उद्घाटन गर्दै उनले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनः संरचना गरी अझ प्रभावकारी बनाउन आवश्यक भएको बताइन् । सचिव अर्यालले भनिन, “हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।”

हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सान्दर्भिकता छ वा छैन?’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् ।

सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताइन् । 

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले विद्यालयमा आयोजना हुने यस प्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राखिन् । विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताए ।

हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्वका आधारमा सेवालाई परिस्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गरे ।

उनले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्त्व उजागर गर्न उपत्यकाव्यापी अन्तर-सामुदायिक विद्यालयका छात्र छात्राबिच प्रतियोगिता गरिएको बताए । नेपाल फिलाटेलिक संघका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्त्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे ।

चिठी पत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने प्राचीन माध्यम (सेवा) हुलाकको सुरुआत बेलायतबाट सन् १५१६ मा भएको थियो । विश्वमै हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरिएको छ भने विश्वका १९२ देशमा सरकारी सेवाकारुपमा हुलाक सेवा छ ।

नेपालमा विसं १९३५ मा हुलाक सेवा स्थापना भएको थियो । वार्षिक ३० लाख हुलाक वस्तुको कारोबार र रु. ६३ करोड आम्दानी  हुलाक सेवाबाट हुँदै आएको छ । अहिले पनि हुलाक सेवालाई विश्वासिलो र गोपनीयताका हिसाबले ज्येष्ठ र सर्वश्रेष्ठका रूपमा लिने गरिएको छ । हुलाक सेवा विभागले हालसम्म एक हजार चार सय ३७ प्रकारका हुलाक टिकट मुद्रण गरिरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः रु. १५ हजार, रु. १२ हजार पाँच सय, रु. १० हजार र रु. सात हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर