काठमाडौँ : कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अनियमितता गरेको आरोपमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो ।
उनीहरूविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा लामिछानेसहित छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कुमार रम्तेललगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन ।
रविलाई सहकारी ठगीमा ५ करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा बिगो कायम गरिएको छ । रविलाई भन्दा छविलाई बढी बिगो तोकिएको छ । उनलाई ५ करोड ७८ लाख ९६ हजार ४८० रुपैयाँ बिगो कायम गरिएको छ ।