दोहा, कतार : संघीय लिम्बूवान सामाजिक मञ्च (सलिसाम) कतारले आदिवासी नेपालीका चाडपर्वहरू एकसाथ मनाएको छ । शुक्रबार दोहाको मुफसल अलखोरस्थित पर्पल आइसलेन्डमा मञ्चको आयोजनामा चासोक तङनाम, साकेला उँधौली, स्यादर पिदर, तमु ल्होसार तथा अंग्रेजी नयाँ वर्ष २०२५को शुभकामना आदान–प्रदानसहित बृहत् वनभोज कार्यक्रम आयोजना गरिएको थियो ।
सलिसाम कतारका अध्यक्ष डम्बर लिबाङ ‘मिसेक’को सभाध्यक्षता तथा संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारका अध्यक्ष कुमार सीँ योङहाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि योङहाङले पहिचान र राष्ट्रिय मुक्तिको आन्दोलनमा राष्ट्रिय एकता र सशक्तीकरण अपरिहार्य रहेको र जसको सम्भावित भूमिका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको राजनीतिक आधारबाट मात्र सम्भव हुने भएकाले मञ्च त्यसतर्फ गम्भीर भइ लागिपरेको बताए । उनले नेपाली राजनीतिमा पछिल्लो समय देखिएका कथित मोर्चाको भ्रम बेमौसमी झरिमा देखिएको क्षणिक भल जस्तो मात्र भएकाले त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।
औपचारिक, सांस्कृतिक र खेलकुद गरी ३ चरणमा सम्पन्न कार्यक्रममा सलिसामका उपाध्यक्ष सञ्जय आङदेम्बेले स्वागत मन्तव्य र सचिव रुद्र सीँ तुम्बाहाङफेले सहजीकरण गरेका थिए । सांस्कृतिक विभागका उपसंयोजक छत्र कुरुम्वाङले सहजीकरण गरेको सांस्कृतिक र खेलकुद कार्यक्रमको समापन गर्दै सभाध्यक्ष लिबाङले कार्यक्रमलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न विशेष भूमिका निर्वाह गर्ने विभागीय जिम्मेवारीमा रहेका सदस्य तथा सहभागीहरूप्रति कृतज्ञता व्यक्त गरे ।
उनले सलिसाम कतार एउटा वैचारिक संगठनको प्रवास समिति भएता पनि कतारमा सारा नेपाली श्रमिकहरूको साझा संगठनका रूपमा स्थिापित भएको दाबी गरे । सलिसाम कतारले जात, वर्ग, वर्ण, क्षेत्र, लिंगजस्ता विभेद नगरी जानकारीमा आएका नेपाली श्रमिक र स्वदेशमा हुने सबै खाले समस्याहरूका सारथी बन्दै पूर्व लिम्बूवानदेखि पश्चिम खसानसम्मका नेपालीहरूको मञ्च सलिसाम कतार भएको धारणा राखेका थिए ।
कार्यक्रममा थुप्रै कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए भने खेलतर्फ तिरन्दाजी प्रतियोगितामा लोक सावा रोशन, पतःलुङ (छेलो) हान्ने प्रतियोगितामा ज्ञानेन्द्र येक्तेन र कुर्सी नृत्य प्रतियोगितामा प्रमीला वाइबा विजयी हुँदै आकर्षक ट्रफी उचालेका थिए । कार्यक्रममा मञ्चमा आबद्ध विभिन्न तहका अग्रज, सामाजिक व्यक्तित्वसहित आस्थावानहरूको उपस्थिति रहेको थियो ।