कतार : बाँके सेवा समाज कतारले जिल्लाका एक क्यान्सर रोगबाट पीडितलाई नगद सहयोग गरेको छ । मुखको क्यान्सर रोगले ग्रसित बाँकेको खजुरा गाउँपालिका–६ निवासी नगेन्द्र सुनारलाई नेपालमा एक कार्यक्रमका बीच वडाध्यक्षको रोहबरमा समाजका सहकोषाध्यक्ष ओम खत्री र सदस्य टेक सुनारको समुपस्थितमा १ लाख १ सय १० रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
बिरामी सुनारका बारेमा पूर्ण सुनारले लिखित रूपमा समाजमा सहयोगको याचना गरेपछि समाजका अध्यक्ष गोविन्दजंग शाह र महासचिव गुमानसिंह खत्रीको विशेष पहलमा रकम संकलन गरी हस्तान्तरण गरिएको समाजले जनाएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका सुनारको घरमा आमा मात्र रहेको र श्रीमती वैदेशिक रोजगारीका लागि कुवेतमा रहेकी छन । दुई छोरा र एक छोरीका पिता रहेका सुनारले अहिले भरतपुर क्यान्सर अस्पतालमा थप उपचार गराइरहेका छन् । सुनारलाई नेपालगन्ज कृष्णसार टेलिभिजनका सञ्चारकर्मी कृष्ण अधिकारीले समेत व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका छन् ।
घरको आर्थिक अवस्था कमजोर र लाखौं ऋणमा डुबेको हुँदा परिवारले थप सहयोगको अपिल गरेको छ । बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको कुमारी बैंकको खाता नम्बर १५७०३१९०४१३००००१ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी सुनारलाई ९७६९९५६८१९ मा सम्पर्क गर्न सकिनेछ ।